बारा : लकडाउनको मौका छोपी सिकार गर्न जंगल पसेका एक सिकारी प्रहरी गस्तीबाट जोगिएर भाग्न सफल भएका छन्।
काठ चोरी तस्करी सुरु भएपछि त्यसविरुद्ध डिभिजन वन कार्यालयले विशेष अभियान चलाएको बेलामा जंगली जनावरको सिकार गर्न कोल्हवी सव डिभिजन कार्यालयअन्तर्गत तामागढी साझेदारी वन क्षेत्र पसेका सिकारी र वन रक्षकबीच घम्साघम्सी परेको छ। वन गस्ती टोलीका एक जना सामान्य चोट लागेको छ।
वन गस्तीबाट सिकारी उम्किए पनि भरुवा बन्दुक बरामद भएको डिभिजन वन कार्यालय प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए। जंगली जनावरको सिकार गर्न प्रयोग गरिएको बन्दुक बरामद भएको हो। फरार भएका सिकारीको प्रहरीको सहयोगमा खोजी भइरहेको उनले जानकारी दिए।
देशव्यापी रुपमा लकडाउन जारी रहेको मौका छोपेर सिकार खेल्ने क्रम बढेको छ। गस्ती टोलीले बैशाख ३ मा पनि जीतपुर—सिमरा उपमहानगरपालिका वडा नं. १७ रामनगरका ८ जनालाई पक्राउ गरेको थियो।
जंगली जनावरको मासु र हाड, छालाको लागि जंगली जनावरको चोरी सिकारी गर्न जंगल पसेका उनीहरू विभिन्न साइजका जाल र घरेलु हतियारसहित पक्राउ परेका थिए।
जाल थापेर जंगली जनावर बँदेल, हरिण, लगुना, मृग, खरायो जस्ता साना वन्यजन्तुको सिकार गर्दै आएका उनीहरु मध्यरातमा वन रक्षकको जालमा परेका थिए।
काठ बरामद
वन गस्ती टोलीले विभिन्न क्षेत्रबाट साल र बाँझी प्रजातिका गरी ३४ क्यु फिट काठसमेत बरामद गरिएको छ।
कोल्हवीको काँटा घरनजिक अवैध रुपमा चिरान गर्दै गरेको अवस्थामा छापा मारेर २६ क्युफिट बराबरको ७ वटा सालको गोलिया बरामद गरेको हो। त्यसैगरी वन क्षेत्रमा काटेर लैजाने अवस्थामा बाँझीको ८ क्यूफिट काठ बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ।
काठ तस्करलाई प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको प्रमुख अहमदले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।