|

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा झाडापखाला तथा जन्डिसका बिरामी बढेका छन्। साविक सल्यान गा.वि.स.को वडा नम्बर १ र ३ का करिब ४० जना भन्दा बढीमा उक्त रोग देखिएको वडा अध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए।

वडा अध्यक्ष बास्तोलाका अनुसार एकै परिवारका चार जनासम्म बिरामी परेका छन्। झाडापखाला मात्र नभइ बिरामीलाई आउँ समेत रहेको अनुमान गरिएको र ल्याब परीक्षणबाट एकीन हुने अध्यक्ष बास्तोलाले बताए।

'साविक वडा नम्बर १ को चौतारा नेवार बस्तीका करिब २५ जनामा झाडापखाला र साविक वडा नम्बर ३ का करिब २० जनामा जन्डिस देखिएको छ।' अध्यक्ष बास्तोलाले भने, 'हिजोमात्रै स्वास्थ्यकर्मीसहितको टोली गएर त्यस क्षेत्रको वास्तविकता बुझ्दा बिरामीको संख्या बढीरहेको पाइयो।'

एक सातादेखि बिरामीको संख्या अप्रत्यासित रुपमा बढ्दै गएपछि जिल्लाबाट चिकित्सकसहितको टोली शुक्रबार नेचासल्यान पुगेको छ। सरुवा रोग तीव्र गतिमा फैलिएकाले जिल्ला अस्पताल फाप्लुबाट चिकित्सकसहितको टोली सल्यान पुगेको जिल्ला स्वास्थ्य कार्यलय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजबंशीले जानकारी दिए।

जिल्ला अस्पताल फाप्लुका डाक्टर र गाउँपालिकाका सबै स्वास्थ्यकर्मी त्यस क्षेत्रमा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ। उक्त टोलमा प्रयोग हुँदै आएको पानीको मुहान दुषित भएकाले नै बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ।

त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने तीनवटा खानेपानीको मुहानमध्ये एउटा मुहानमा फोहोर रहेको पाइएको वडा अध्यक्ष बास्तोलाले बताए। तीनवटै मुहानको पानी परीक्षणको तयारी भइरहेकाले खानेपानी या अन्य कुनै कारणले यो रोग फैलिएकोबारे अहिले नै भन्न नसकिने अध्यक्ष बास्तोलाले बताए।

'दैनिक रुपमा तीनदेखि चार जनामा जन्डिस देखा परेको छ।' प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डाक्टर अविशेक सुमनले भने, 'हालसम्म बिरामीको संख्या बढेर ४० नाघिसकेको छ।' डा. सुमनका अनुसार अहिले बिरामीहरूलाई घरमै राखेर उपचार गरिएको र ल्याब परीक्षणको लागि प्राथमिक केन्द्रमा बोलाइएको छ।

बिरामी सबैको अवस्था सामान्य रहेकाले तत्काल नियन्त्रण बाहिर नरहेतापनि कोरोना भाइरसको जोखिम रहेको बेला केही समस्या भएको चिकित्सकको भनाई छ। मौसम परिवर्तनको बेला विभिन्न किसिमका रोग लाग्ने भएकाले सचेत रहन चिकित्सकले सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.