समाज

चक्रपथ निर्माणको ढिलाइले मोनोरेल कुदाउन सकिएन : नगरप्रमुख शाक्य

पुस १५, २०७७

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकिएको बताएका छन्। आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। 

    शिलान्यासपछि उनले भने,‘त्योमध्ये एक हो, मोनोरेल। चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ। चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ। धरहरा बनाउने भनेका थियौँ। धरहरा निर्माण सम्पन्नको चरणमा छ। दरबार हाइस्कुल सम्पन्न भयो। रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो। काष्ठमाण्डप निर्माण सम्पन्नको चरणमा छ।’

    शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि अहिले स्वर्णयुग भएको पनि बताएका छन्। ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने,‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यसअघि भएको थिएन। हामी गौरवका साथ भन्न सक्छौँ। हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन।’ 

    सम्पदा संरक्षणकै लागि उनले हरेक जात्रापर्वलाई जीवन्‍त राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको उनको भनाइ छ। उनले भने,‘गुठियारहरूलाई सम्मान गर्ने काठमाडौं महानगरले नीति नै बनाएको छ। महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरूलाई सम्मान गर्दै आएको छ। कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ।’

    सेतो मच्छेन्द्रनाथलगायतका जात्रालगायतका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको उनले स्मरण गराए। ‘कतै बाटो निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने लगायतका काम छुटेको छ भने जानकारी दिनुहोला। हामी हाम्रै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्न तयार छौँ। म अहिले काम गर्ने ठाउँमा छु। चुनावी प्रतिवद्धता अनुसार काम गरेर देखाउन सक्छु। त्यसका लागि तयार छु।’ उनले भने।

    शाक्यले आफ्नो कार्यालकालभित्र ३२ वटै वडा भवन बनाउने प्रतिबद्धता व्यक्त गरे। हरिभवनलाई बागदरबार देखेपछि समस्या भएको पनि उनले बताए।  

    ‘हामीले केन्द्रीय भवन बनाउने भनेको हरिभवन हो। अहिले त्यो भवनलाई बागदरवार भनेर मुद्‍दा हाल्ने काम भएको छ। बागदरबार बेचिसक्यो एक जनाले, किनेर प्लटिङ गरेर बेचिसक्यो अर्को जनाले। बागदरबार बेच्ने सुशील शंशेर जवरा अहिले जिउँदै हुनुहुन्छ। बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि अहिले जिउँदै हुनुहुन्छ।  तर, मुद्‍दाचाँहि बागदरबार भत्काउने मेयरलाई कारबाही गर्नुपर्छ भनेर हालिएको छ’ उनले भने।​

    निर्वाचनका लागि तयार हुनुस्  

    शाक्यले सरकारले वैशाखमा निर्वाचन मिति घोषण गरिसकेको भन्दै सबै राजनीतिक दल अहिले वैशाखमा हुने निर्वाचनको तयारीमा जुटेको बताए। ‘म तपाईंहरूलाई पनि अनुरोध गर्न चाहन्छु। जसले राष्ट्रनिर्माणका लागि काम गर्छ, राष्ट्रवादी काम गर्छ उसैलाई मदतान गर्नुहोस्’ उनले भने।

    शिलान्यास कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रतिबद्धताअनुसार नै काम अघि बढाएको बताइन्। एक रोपनी ४ आना क्षेत्रफमा निर्माण हुने सो वडा भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैयाँ रहेको र कार्यादेश रकम भ्याटसमेत ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँ रहेको छ। लिफ्टसहितको अपांगमैत्री भवन साढे तीन तलाको रहने छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]