समाज

निर्मलाको न्यायका लागि देशैभर विरोध प्रदर्शन

भदौ ३१, २०७५

    काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै आइतबार देशैभर विरोध प्रदर्शन भएका छन्। हत्या भएको ५२ दिन बितिसक्दा पनि सरकारले वास्तविक हत्यारा पत्ता लगाउन तदारुकता नदेखाएको भन्दै सरकारलाई दबाव दिन देशैभरका विभिन्न सामाजिक संस्था तथा नागरिक समाजको अगुवाइमा देशैभर विरोध प्रदर्शन भएका हुन्।

    आइतबार निर्मलाको हत्यारालाई पत्ता लगाउन माग गर्दै बैतडीमा प्रदर्शन गरिएको छ। नेपाल महिला संघको अगुवाईमा भएको प्रदर्शनमा नागरिक समाजको समेत समर्थन रहेको थियो। सदरमुकामस्थित गोठलापानी बजारमा विरोध प्रदर्शनपछि जिल्ला प्रसासन अगाडिसमेत विरोध प्रदर्शन गरिएको थियो। बलात्कारपछि हत्या गरिएकी बालिकाको ५२ दिनसम्म पनि वास्तविक हत्यारा पत्ता लगाउन सरकारले तदारुकता बढाउनुपर्ने माग गर्दै प्रर्दशन गरिएको नेपाल महिला संघकी केन्द्रीय सदस्य कान्ता चन्दले बताइन्।

    त्यस्तै निर्मला न्यायको माग्दै प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि प्रर्दशन गरिएको छ। स्वतन्त्र नागरिक समाज कैलालीको आह्वानमा न्याय माग्दै स्थानीयले प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड सहित धनगढी चौराहबाट ‍र्‍याली निकालेका थिए।

    त्यसैगरी निर्मलाको न्यायका लागि बाँकेको नेपालगञ्जमा सिठी जुलुस निकालिएको छ। नागरिक समाजको अगुवाईमा सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय बाँकेको प्रवेशद्वारमा सिठी बजाएर विरोध प्रदर्शन गरेका हुन्। 

    निर्मलाका निम्ति न्याय माग गर्दै बाँकेमा क्रियाशील मानवअधिकारकर्मी, कानुन व्यावसायी, व्यापारी, विद्यार्थी, नागरिक समाजका अगुवालगायत सर्वसाधारणले प्रदर्शनमा ऐक्यबद्धता जनाएको गैरसरकारी संस्था महासंघ बाँकेका सचिव नमस्कार शाहले जानकारी दिए। प्रदर्शनका क्रममा पाँच मिनेट सिठी बजाएर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएको उनले बताए। उनले निर्मलाले न्याय नपाउँदासम्म थप आन्दोलन चर्काउने सहमति भएको बताए।

    त्यस्तै निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउनका लागि सरकारलाई दबाव दिन पर्वतमा पनि विरोध प्रदर्शन गरिएको छ। सदरमुकाम कुश्मा बजारमा रहेका स्थानीयले कसैको आयोजनाबिना नै स्वतस्फूर्त रूपमा जुलुश निकालेका हुन्।

    जुलुशमा सहभागी भएकाहरूले निर्मलाका हत्यारा समात्न नसक्नु सरकारको कमजोरी रहेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामासमेत माग गरेका थिए। प्रदर्शनमा जिल्लामा रहेका मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यार्थी संगठन तथा सर्वसाधारणहरूको सहभागिता थियो।

    सरकारले हत्यारा पत्ता लगाउन चासो नदिएका कारण प्रमुख जिल्ला अधिकारीमार्फत् गृह मन्त्रालयमा दबाव सिर्जना गर्नको लागि नाराबाजीसहित प्रशासन कार्यालयमा जुलुश प्रदर्शन गरिएको प्रदर्शनकारीहरूले बताएका छन्। विरोधकर्ताहरूले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत् सरकारलाई ज्ञापनपत्र पनि पठाएका छन्।

    त्यस्तै निर्मालको न्यायका लागि धनकुटामा पनि महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरूको समन्वय र 'डल्बु डल्बु जे' धनकुटा सम्पर्क व्यक्तिको  संयोजनमा  धनकुटाको मदन चौकबाट सुरु भएको विरोध र्‍यालीमा हत्यारालाई फाँसी दे, महिला हिंसा गर्नेलाई कारवाही गरलगायतका नारा लगाउँदै बजार परिक्रमा पछि पुनः मदन चोक पुगेको थियो।

    मदन चौकमा पुगेर भएको विरोध सभामा पूर्वसांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई  संरक्षण गर्न लागिरहेको आरोप लगाइन्। निर्मलाको हत्यारा पक्राउ नपरुन्जेल विभिन्न प्रकारका आन्दोलन जारी रहने महिला मानव अधिकार रक्षक सन्जालकी अध्यक्ष हिमा चेम्जोङ्गले बताइन्।

    जिल्ला समाचारदाताको सहयोगमा

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]