स्याङ्जा : स्याङ्जामा युवाहरूले पञ्चेबाजा बजाएर सडकमा नै धान रोपेका छन् ।
सडक निर्माण कार्यको २७ वर्ष पुग्दा पनि सडकको स्तरोन्नती हुन नसकेको भन्दै पर्वत र स्याङजा २ जिल्ला जोड्ने वालिङ हुवास सडक खण्डमा सडकमा नै धान रोपिएको हो। २०५९ साल ताका निर्माण गरिएको १७ किलोमिटर लामो सडक हिउँदमा धुलाम्य र वर्षात्मा हिलाम्य भएपछि यहाँका आमा समूह र युवा क्लबले सडकमा धान दिवस मनाएका हुन्।
उनीहरुले परम्परागत ढङ्गले खेतमा नै रोपाइ गरे जस्तै पञ्चेबाजा बजाउने, वाली गाउने र दही चिउरा खाने कार्यक्रम समेत गरेका थिए। पटक पटक हार गुहार गर्दा पनि स्थानिय, प्रदेश र संघीय सरकारको आखाँ पुग्न नसकेको गुनासो यहाँका स्थानीयले गर्दै आएका छन्।
हिउँदमा धुलो र वर्षातमा हिलो घर भित्र नै पुग्ने गरको स्थानीय युवा राजु गैह्रै बताउँछन्। गैह्रे भन्छन् ,‘निर्वाचनमा यही सडक चुनावी नारा बन्छ नेता स्थानीय देखि संघीय सरकारमा पुगे हामीले केही पाएनौ। पायौँ त धुलो र हिलो।’
पर्वतको दक्षिणी भेगका सर्वसाधारण बुटवल, पोखरा जानका लागि सोही सडक भएर आवतजावत गर्छन् भने वालिङ हुवास सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा चल्ने सवारी साधनले सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।