कुरा नसुनी धारेहात लगाउँदै हिँडेको गुनासो

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डले उद्योगमन्त्री लेखराज भट्टले आफूसँगको ४० वर्ष लामो सम्बन्ध बिर्सिएको बताएका छन्। उनले आफ्नै निवास खुमलटारमा सुदूरपश्‍चिम प्रदेशका पार्टीका नेताहरूसँग छलफलको क्रममा यस्तो बताएका हुन्। 

‘सुदूरपश्चिमको पार्टीको जिम्मेवारी सहित हामीले लेखराजलाई मन्त्री बनाएको थियौँ। पार्टी एकता भए पनि पार्टीमा अहिलेसम्म पूर्व पार्टीकै भागवण्डाअनुसार पदीय बाँडफाँड भइरहेको छ। हामीले विश्‍वास गरेर लेखराजजीलाई मन्त्रीको जिम्मेवारीमा पठायौँ। तर, उहाँले हामीलाई घात गर्नुभयो’, छलफलको क्रममा अध्यक्ष दाहालको भनाईलाई उदृत गर्दै सुदूरपश्चिम प्रदेश कमिटीका सह-इन्चार्ज खगराज भट्टले थाहाखबरसँग भने। 

‘हामी भित्रको चित्त नबुझेको कुरा उहाँले हामीसँग आएर छलफल गर्नुपर्थ्यो। तर, उहाँलाई मैले पटक पटक छलफलमा बोलाएँ तर, आउनुभएन। उहाँ आफूखुसी खुलमखुला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिनुभयो’, अध्यक्ष दाहालले भने, ‘हामीबीचको नमिलेको कुरा एकपटक पनि उहाँले मसँग र अन्य हाम्रा साथीहरुसँग राख्‍न चाहनु भएन।’

‘उहाँमा वैचारिक विचलन देखियो। एकपटक उहाँले हामीसँग आफ्नो समस्या राख्नुभएको भए हामी त्यसको समाधान गर्नमा लाग्थ्यौँ। हामीले अहिलेसम्म उहाँले भनेको नमानेको केही थिएन’ अध्यक्ष दाहालले दुखेसो पोख्दै भने, ‘तर, उहाँले एकपटक पनि मसँग छलफल गर्नुपर्छ भन्‍ने सोच्‍नुभएन।’

तत्काल हट्न भनेका छैनौँ 

दाहालले विश्‍वास गरेकै मानिसबाट आफूलाई धोका भएको पटक पटक गुनासो गरे। ‘पार्टी एकतापछि पनि हाम्रो समूहबाट उहाँलाई हामीले मन्त्रीको जिम्मेवारी सुम्पिएर पठाएका हौँ। तर, उहाँले तत्कालै बिर्सिनुभयो,’ दाहालको भनाई उदृत गर्दै भट्टले भने, ‘विश्‍वासिलो मान्छेबाट धोका पाइयो। अहिले उहाँ हाम्रै पछि धारे हात लगाएर हिँड्नुभएको छ।’ 

दाहालले उनलाई मन्त्रीबाट हट्न नभनेको पनि उल्लेख गरे। 'उहाँको बिषयमा छलफल भएको भएपनि तत्काल उहाँलाई हामीले हट्न भनेका होइनौँ’ खगराजले थाहाखबरसँग भने, ‘उहाँले चित्त नबुझेको कुरा हामीसँग राख्नुभएको हुन्थ्यो। तर, उहाँ अहिले हाम्रै विरुद्ध लाग्‍नुभएको छ। त्यसमा हामी असन्तुष्ट भएका हौँ।’

भट्टले विश्‍वासिलो पात्रले धोका दिएको भन्दै अध्यक्ष दाहालले गम्भीर चिन्ता जनाएको भट्टले बताए। 'अध्यक्ष दाहाल पनि उहाँको विश्‍वासिलो पात्रले धोका दिएको भन्दै गम्भीर हुनुभएको छ', उनले भने, 'तर, हामीले उहाँको विकल्प खोजिहाल्ने, तत्काल राजीनामा दिइहाल्नुस् भन्‍ने कुरा गरेका छैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.