नेकपाको विवाद जहाँको तहीँ

|

काठमाडौं : देशभर कोरोना संक्रमण फेरि बढेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादको आगो तत्काललाई रोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संघर्षले पार्टी दुर्घटना नजिक पुगेको थियो।

पार्टीभित्रको विवाद मिलाउन गत मंगलबार भएको वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच चर्काचर्की परेको थियो। त्यसपछि दुई नेताबीच वार्ता नै हुन सकेको छैन। 

लगानी बोर्डको सीईओमा विवादित व्यक्तिको नियुक्तिसँगै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल ओलीविरुद्ध खनिएका थिए। त्यही विवादपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटवार्ता अनिश्चित बनेको हो। 

पार्टीभित्रको विवाद समाधान गर्नका लागि तल्ला तहका नेताहरुले निरन्तर दबाव दिइरहेका छन्। तर अध्यक्ष दाहालको खुमलटारस्थित निवासमा कोरोनाको प्रवेशसँगै उनी आइसोलसनमा बसेपछि ओलीसँग भौतिक रुपमा भेट रोकिएको छ। 

पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली सचिवालयबाट छलफल गरेर अघि बढ्न चाहन्छन्। तर, अध्यक्ष दाहाल असार १० गतेबाट जारी रहेको स्थायी कमिटीको बैठकलाई अगाडि बढाउने पक्षमा छन्।

कोरोनाको प्रभाव

पार्टीभित्रका विवाद चलिरहेको बेला कोरोनाका कारण ओली–दाहाल भेटवार्ता र गुटगत छलफल पनि रोकिएको छ। अध्यक्ष प्रचण्डले अत्यावश्यक बाहेकका भेटवार्ता नगर्ने गरेको प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी दिए। 

आन्तरिक किचलो समाधानमा भूमिका खेलिरहेकामध्ये एक महासचिव बिष्णु पौडेलका अंगरक्षकमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन्। 

६१ सांसदको अस्थिर दबाब

आइतबार शीर्ष नेताको आन्तरिक विवादको कारणले पार्टी एकता जोखिममा परेको भन्दै नेकपाका ६१ सांसदले नेतृत्वसामु हस्ताक्षर अभियान चलाएर बुझाए। ६१ सांसदले पार्टी एकता जोगाएर विधिमा अघि बढ्न, विधि र पद्धतिमा चलेर गुटबन्दी त्याग्नुपर्ने निष्कर्ष निकालेका थिए। 

त्यसो त ६१ सांसदले कुनै गुटको भेलामा सहभागी हुने बताएका थिए। तर, ती ६१ सांसदमध्ये केही पुनः गुट भेलामा सहभागी भएका छन्। विगतमा टुटफुट र विभाजन भोग्दै पार्टी भएकाले नेताहरुले अहिलेको अवस्थामा जनताको अपेक्षा पूरा गर्नका लागि सहमतिमा अघि बढ्नुपर्नेमा जोड दिएका थिए। 

वामदेवको प्रस्ताव अलपत्र 

पार्टीभित्रको शक्ति संघर्ष चलिरहेको बेलामा असार १३ गते उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव ल्याए। अध्यक्ष दाहालनिकट मानिएका उपाध्यक्ष गौतमको प्रस्तावले प्रधानमन्त्री ओलीलाई राहत पुग्यो। त्यही दिन प्रधानमन्त्री ओलीले गौतमलाई भेटे।

विवाद समाधानका लागि मध्यमार्गी विकल्प भन्दै उनले प्रधानमन्त्री ओलीले ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने र अध्यक्ष दाहालले महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने प्रस्ताव गरेका थिए। तर, उनलाई उनीनिकट नेताहरुले त्यसबाट हट्न आग्रह गरे। वामदेवले त्यो आग्रहलाई अस्वीकार गरिदिए। 

स्थायी कमिटीको बैठकमा ओलीले नै नेकपा एमाले पार्टी दर्ता गर्न लगाएको प्रमाण पेश गर्ने बताएका थिए। तर गौतमले एकाएक ओलीतिर गएपछि दाहाल पक्ष केही कमजोर भएको छ। त्यसो त अध्यक्ष दाहालले पनि उपाध्यक्ष निवासमै पुगेर भेटवार्ता गरेका थिए।

तर, उपाध्यक्ष गौतमले केही दिनअघि आफ्ना प्रेस सहयोगी विश्‍वमणि सुवेदीमार्फत आफू कुनै गुटमा नरहेको प्रष्ट्याएका छन्। विवादको मध्यमार्गी बाटोका लागि उपाध्यक्ष गौतमले ल्याएको प्रस्ताव ओली–दाहाल टकरावका कारण अलपत्र परेको छ। 

कोरोनाले रोकियो

पार्टीभित्रको विवादको क्रममा वार्ता चलिरहेको बेलामा कोरोना संक्रमणको जोखिम बढेको कारणले भेटवार्ता हुन नसकेको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। ‘अहिले कोरोनाको कारणले भेटवार्ता हुन सकिरहेको छैन। म आफैं पनि अहिले घरमै बसिरहेको छु’, उनले भने। 

कोरोनाको कारणले पार्टीभित्रको विवादमाथि छलफल रोकिए पनि सहमतिमा अघि बढ्नुपर्ने उनले बताए। ‘पार्टीभित्रको विवादको विषयमा कोरोनाको जोखिम कम भएपछि छलफल हुन्छ। अब सहमतिमा नै अघि बढ्छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.