प्रचण्ड भन्छन् : सात दिनसम्ममा निकासको दिशामा पुग्दैछौँ

|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद यही सोमबारसम्म अन्त्य हुने बताए। 

ओलीले डेडलाइन तोके लगत्तै शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो गतिरोधको अन्त्य गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगे। 

शुक्रबारको छलफलमा पार्टीभित्रको समस्या समाधानका विकल्पका बिषयमा ओली दाहालबीच छलफल भयो। पटक पटकको वार्ता असफल भएपछि अध्यक्ष दाहालले शुक्रबार प्रधानमन्त्री ओलीसँग कार्यदल बनाएर समस्या समाधान गर्ने प्रस्ताव अघि सारे। दाहालको प्रस्तावमा ओली सकारात्मक थिए, शनिबारको महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल नै गठन भयो। 

पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरूमा भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य रहेको कार्यदलले काम पनि थालिसकेको छ। 

अध्यक्षद्वयले कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयबाट अनुमोदन गराउन आइतबार खुमलटारमै पुगेर दबाब दिए। सोमबार सचिवालय बैठक राखेर कार्यदल अनुमोदन भएको छ। 

कार्यदल अहिले पार्टीभित्रको विवाद समाधानका लागि मध्यमार्गी बाटो खोजिरहेको छ। पार्टीभित्रको शक्ति संघर्षका क्रममा तीनै पक्षका नेताहरुको सहभागितामा गठित कार्यदलले उपाध्यक्ष वामदेव गौतमले गरेको प्रस्ताव आसपासमै छलफल भइरहेको स्रोतले बतायो। 

उपाध्यक्ष गौतमले पार्टीभित्रको तिक्तता चिर्नका लागि ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी दिनेसहितको ६ बुँदे प्रस्ताव अघि सारेका थिए। 

यद्यपी, गौतमको प्रस्तावले ओली पक्षलाई फाइदा पुगको भन्दै उनकै निकटस्थरुले प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर, उनी कुनै गुटमा नलाग्ने भन्दै आफ्नो अडानबाट पछि हटेनन्।

ओलीको राजीनामाबाट ‘ब्याक’

ओलीबाट सरकार र पार्टी दुवै प्रभावकारी ढंगबाट सञ्चालन भएको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाल, खनाल, उपाध्यक्ष गौतम, प्रवक्ता श्रेष्ठलगायतका नेताहरुको स्थायी कमिटीको बैठकमै ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। 

ओली दुवै पदबाट टसमस नहुने तर, पार्टी विभाजनसम्म जानसक्ने अवस्था देखिएपछि अध्यक्ष दाहाल नेपाल समूह यतिबेला राजीनामा मागबाट ब्याक भएको छ। 

पार्टीभित्रको विवाद समाधानका लागि तत्काल ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन अध्यक्ष दाहालले बुधबार एक टेलिभिजनसँगको अन्तर्वाताका क्रममा भने। 
‘पार्टीभित्रको विवाद समाधानका लागि कार्यदलले काम गरिरहेको छ। पार्टीको अबको ध्यान महाधिवेशनमा केन्द्रीत हुन्छ। त्यहाँबाट हामी सहमतिमा अघि बढ्छौँ’ उनले भनेका छन्, ‘अहिलेको लडाइँ पदको लागि होइन। पदको लागि यस्तो लडाइँ हुन्थ्यो भने पार्टी एकता नै हुने थिएन।’

‘कार्यदलले अहिले सुझाव संकलन गरिरहेको छ। कार्यदलको सुझाव आएपछि स्थायी कमिटीको बैठकमा छलफल हुन्छ। सकारात्मक ढंगले सरकारको काम र पार्टीको काम अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ’, दाहालले भने, ‘कार्यदलले प्रस्ताव ल्याएपछि सचिवालय, स्थायी कमिटीमा छलफल हुन्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बन्छ, बन्नुपर्छ।’

केन्द्रीय कमिटी असम्भव

अध्यक्ष दाहालले कोरोना महामारी फैलिँदो क्रममा रहेकाले तत्काल केन्द्रीय कमिटीको बैठक राख्न नसकिने प्रष्ट्याएका छन्। 

‘कोरोना महामारी फैलिरहेको छ। त्यही बेलामा केन्द्रीय कमिटीको बैठक राख्नै सकिँदैन’, उनले भने, ‘मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, संवैधानिक निकायहरूमा नियुक्तिलगायत विषयमा सचिवालयमा छलफल हुन्छ। त्यहीअनुसार अघि बढ्छ।’ 

दाहालले पार्टीको विवादले साता १० दिनमा निकास पाउने पनि उल्लेख गरे। ‘प्रधानमन्त्री ओलीले ५ दिनमै पार्टीभित्रको समस्या समाधान हुने बताउनु भएको थियो। त्यो कसरी भन्नुभयो थाहा भएन। तर, उहाँले भन्नुभए झैँ केही केही समाधानको प्रयास थालनी भएको छ’, उनले भनेका छन्, ‘पार्टीभित्र साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्छ।’

असार १० गतेबाट पटक पटक स्थगित हुदै आएको बैठक कार्यदलको प्रतिवेदनपछि बस्ने उनले बताए। ‘अब स्थायी कमिटीको बैठकले निरन्तरता पाउँछ। त्यहाँ कोरोना भाइरस, सरकार र पार्टी नेतृत्वको बिषयमा समिक्षा, अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लगायतको महत्वपूर्ण बिषयमा छलफल हुनैपर्ने एजेण्डा छन्, छलफल हुन्छ’, उनले भनेका छन्। 

पार्टीमा ओलीले हस्तक्षेप नगर्ने   

पार्टीभित्रको विवादको क्रममा ओलीले दुवै पद नछाड्ने अडानपछि अध्यक्ष दाहाललाई पार्टीभित्रको अधिकार पूर्ण रुपमा पाउने बिषयमा सहमति बन्न लागेको छ। कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पार्टीको काममा दाहाललाई हस्तक्षेप नगर्ने बिषयमा सहमती बन्न लागेको हो। 

पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशन नै उपयुक्त भएकाले केन्द्रीय कमिटीले तोकअनुसार नै हुनुपर्नेमा समेत जोड दिइएको छ। 

‘अध्यक्ष दाहालले एकता महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुनुहुन्छ। त्यसमा ओलीले पनि साथ दिनुहुन्छ। तर, यो कार्यकाल ओलीले नै सरकार सञ्चालन गर्नुहुन्छ’। कार्यदलले तयार गरिरहेको प्रतिवेदनलाई उद्धृत गर्दै एक नेताले भने। 

‘पार्टीको काम अध्यक्ष दाहालबाट सञ्चालन हुन्छ। तर, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर हुन्छ। ओलीबाट पार्टी एकलौटी सञ्चालन हुने खोजेकाले अध्यक्ष दाहालसँगको सहमती बिना कुनै निर्णय नहुने कुरामा पनि जोड दिइएको छ,’ ती नेताले भने, ‘पार्टी एकता अझै बाँकी छ। त्यसलाई तत्काल टुंगोमा पुर्याएर महाधिवेशनबाट जाने तयारी भइरहेको छ।’ 

राजनीतिक नियुक्ति पार्टीलगायतका बिषयमा पार्टीभित्रको निर्णयअनुसार ओलीले एक्लै गर्न नपाउने पनि ती नेताले बताए। 

छलफलमै छ

पार्टीभित्रको विवाद समाधान गर्नका लागि अध्यक्षद्वयले निर्माण गरेको कार्यदल छलफलमै रहेको कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन्। 

‘अहिले कार्यदल पार्टीभित्रको विवाद समाधान गर्नका लागि विभिन्न विकल्पहरूमा छलफल गरिरहेको छ। त्यसैले अहिल्यै सबै कुरा गर्नुभन्दा पनि कार्यदलको प्रतिवेदन पेश भइसकेपछि सबै कुरा खुलस्त हुन्छ,’ उनले भने, ‘सचिवालयले पनि कार्यदलको समय नतोकेकाले सक्दो छिटो प्रतिवेदन बुझाउने तयारीमा छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.