कोरोना संकट नटरे सुझाव कार्यान्वनमा चुनौती

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सँघारमै आएर रोकिएको छ। उत्कर्षमा पुगेको विवाद प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल निर्माण गरेर समस्या समाधान गर्न जुटेपछि केही मथ्थर भएको छ। 

शुक्रबार निर्माण गरेको कार्यदल एक साता छलफलपछि विवादलाई मध्यमार्गी बाटो भएर ओली-दाहाललाई सुझाव दिएको छन्। विवाद समाधान गरेर ०७६ मंसिर ४ को सहमति अनुसार पार्टीलाई अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

ओलीले प्रतिनिधि सभाको यो कार्यकाल रहेसम्म सरकारको सञ्चालन गर्ने र अध्यक्ष दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने सहमति भएको थियो। तर, ओलीले सरकार प्रभावकारी ढंगबाट सञ्चालन गर्न नसकेको आवाज उठिरहेको बेलामा पार्टीभित्र पनि एकलौटी चल्न थालेको भन्दै अध्यक्ष दाहाल असन्तुष्ट भए।

त्यही विवादले पार्टी फुटको सँघारसम्म धकेलियो। तर, विवाद समाधान गर्न निर्माण बनाएको कार्यदलले महाधिवेशनलाई केन्द्रमा राखेर गत मङसिरको सहमति अनुसार अघि बढ्न सुझाव दिएका छन्।

त्यसो त कोरोना भाइरस कोभिड १९ को विकराल अवस्थामा देश गइरहेको छ। संघीय राजधानी काठमाडौँ कोरोनाको हटस्पट बनिरहेको छ। यस्तो अवस्थामा कार्यदलले सुझाव दिएपछि नेकपाको विवाद टुंगोमा पुगेको नेताहरुले जिकिर गरिरहेका छन्। 

तर, प्रधानमन्त्री ओलीको कार्यशैली नफेरिए नेकपाको विवाद फेरि चर्किने सहजै अनुमान लगाउन सक्ने अवस्थामा आएर रोकिएको छ। पार्टीभित्रको विवादको क्रममा ओलीको दुवै पदबाट अध्यक्ष दाहालसहितका नेताहरुले माग गरिरहेका थिए। तर, कार्यदलको सुझाव अनुसार ओलीलाई केही राहत र दाहाललाई कार्यकारी अधिकार पाउने भएका छन्। 

परिस्थितिमा निर्भर

त्यसो त कोरोनाको कहर फैलिरहेको छ। कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेपछि चौतर्फी आलोचना भइरहेको छ। यही अवस्था रहिरहे केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार चैत अन्तिममा महाधिवेशन गर्न सक्ने अवस्था छैन। दुई वर्ष बितिसक्दा समेत पार्टी एकताको काम नसकेको नेकपाको चैतमा महाधिवेशन हुनेमा शंका छ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले परिस्थिती अनुसार महाधिवेशन हुने नहुने भन्‍ने थाहा हुने स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन्।

‘अहिले कोरोनाको प्रकोप बढिरहेको छ। अहिले हामी सबैको मुख्य जिम्मेवारी कोरोना नियन्त्रण मै हुनुपर्छ’ उनले भने, ‘तर, चैतमा महाधिवेशन हुन्छ हुँदैन भन्नेबारे परिस्थितिमा भर पर्ने कुरा न भयो।’ 

महाधिवेशन हुनुभन्दा पहिलेसम्म पार्टीको सबैभन्दा ठूलो कमिटी केन्द्रीय कमिटी भएकाले केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्नैपर्ने केन्द्रीय कमिटी सदस्य ठाकुर गैरे बताउँछन्। 

‘पार्टीभित्रको विवाद समाधान गरेर सबै सहमति अघि बढिरहेको अवस्था छ। त्यसैले कोरोनाको कारणले चैतमा महाधिवेशन गर्न सकिन्‍न कि भन्‍ने शंका हुनु सामान्य हो’ उनले भने, ‘तर, पार्टीको सबैभन्दा ठुलो कमिटीको निर्णय भएकाले भरसक कार्यान्वयन गरेरै अघि बढ्नुपर्छ भन्ने लाग्छ।’

एकता सक्न एक महिना 

पार्टी एकता भएको दुई बर्ष बितिसकेको छ। तर, पार्टी एकताको बाँकी काम सकेको छैन। विवाद समाधान गर्न गठित कार्यदलले पनि पार्टीभित्रको विवाद समाधान गरे महाधिवेशनबाट छिनोफानो गर्न सुझाव दिइएको छ। 

प्रतिवेदनमा एकताका सम्पूर्ण काम सम्पन्न गर्ने सदस्यता नवीकरण गर्न र स्थानीय कमिटीका अधिवेशनहरू, राष्ट्रिय महाधिवेशन समेत सम्पन्न गर्नुपर्ने थियो। तर, अहिलेसम्म पनि एकता–एकीकरणका कतिपय महत्त्वपूर्ण कामहरू समेत सम्पन्‍न हुन नसकेको उल्लेख छ। कोरोना भाइरसको कारणले पार्टी काम प्रभावित हुन पुगेको समेत जनाएको छ। 

पार्टी एकताको बाँकी काम सकेर केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको सफल आयोजनाको तयारी गर्न समेत सुझाव दिइएको छ। एकताको बाँकी कामहरू एक महिनाभित्र सम्पन्‍न गरेर केन्द्रीय तहका कमिटीहरू, जनवर्गीय सङ्गठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति अभिलेखको समेत एकीकरण सम्पन्‍न गर्नुपर्ने सुझाव दिइएको छ। 

अन्तरविरोध र असमझदारीको कारणले गर्दा कतिपय जिल्ला र सो मातहतमा पार्टी कमिटीहरू गठनका लागि निश्चित समयभित्र विधान तथा नियमावलीका आधारमा अघि बढ्नुपर्ने सुझाउन समेत सुझाव दिइएको छ। 

एकताको राष्ट्रिय महाधिवेशन

केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार २०७७ चैत २५ देखि ३० गतेसम्म एकताको राष्ट्रिय महाधिवेशन सम्पन्‍न गर्न तयारीमा जुट्नसक्ने समेत सुझाव दिइएको छ। 

‘महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रियागत कुराहरू पार्टीको विधान बमोजिम गर्ने । महाधिवेशनबाट पार्टीका नीति, विधान, विधि, पद्धति एवम् नेतृत्वको सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउनुपर्छ’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘विचार, नीति र विधिसम्बन्धी विषयलाई महाधिवेशन तयारीको महत्त्वपूर्ण विषयका रूपमा ग्रहण गदै मस्यौदा दस्तावेजहरू तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा बहस, छलफल सञ्चालन गर्नुपर्छ।’ 

महाधिवेशनबाट मार्क्सवादी, लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरूप नेपाली कम्युनिष्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवम् सिर्जनात्मक सिद्धान्तहरूलाई संस्थागत गर्नुपर्नेमा समेत जोड दिइएको छ।

असोजमा केन्द्रीय कमिटी बैठक 

महाधिवेशनको तयारीका लागि कार्यदलले असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव दिएको छ।

‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक आयोजना गर्नुपर्छ’ प्रतिवेदनमा भनिएको छ, ‘बैठकमा सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजना तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्य तालिकालगायत समग्र कार्ययोजना प्रस्तुत हुनुपर्छ।’ 

केन्द्रीय कमिटीले सचिवालयबाट ल्याएको कार्ययोजना पारित गरेर जिल्ला कमिटीहरूले पार्टी सङ्गठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय सङ्गठन विभागमा पठाउने समेत जनाएको छ। मंसिर महिनाभित्र सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्न समेत सुझाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.