अर्थमन्त्री खतिवडाको अवधि भदौ २० मा सकिँदै

|

काठमाडौं : सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको एकतर्फी विवाद केही दिनयता साम्य भएको छ। तर, राष्ट्रियसभामा कसलाई लैजाने भन्‍ने बिषयले नेकपाभित्र अर्को जटिलता देखिने अवस्था आएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको शक्ति संघर्षको लडाईं मिलि नसक्दै अर्को विवाद थपिने संकेत देखिएको हो। राष्ट्रिय सभामा पार्टी सचिवालयको निर्णय अनुसार उपाध्यक्ष वामदेव गौतमले जान तयार भएको बताएपछि नेकपाभित्रको विवाद बल्झने सम्भावना बढेर गएको हो। 

यसअघिको विवाद समाधान गर्नका लागि ६ बुँदे मध्यमार्गी विकल्प ल्याएर समाधानमा जुटाएका थिए। अध्यक्षद्वयले पार्टीभित्रको विवाद समाधान कार्यदल निर्माण गरे का थिए। कार्यदलले पनि उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताव वरिपरि रहेर प्रतिवेदन ल्याएको प्रधानमन्त्री ओलीले पनि स्वीकार गरिसकेका छन्।  

राष्ट्रियसभामा रिक्त एक पदमा प्रधानमन्त्री ओलीले अर्थ तथा सञ्चार मन्त्रालय सम्हालिरहेका डा. युवराज खतिवडालाई निरन्तरता दिने संकेत गरिरहेको बेलामा उपाध्यक्ष गौतमले आफैं जाने बताएका छन्। यसले ओलीको योजनामा धक्का लागेको छ।

राष्टियसभामा मनोनित भएर आएका मन्त्री खतिवडाको यही २० गते कार्य अवधि सकिँदैछ। त्यसो त यसअघि फागुनमै उनको कार्यावधि सकिए थियो। गोला प्रथामा दुई वर्षे अवधि टिपेपछि उनी विदा हुने पक्का थियो। तर संवैधानिक व्याख्याको फाइदा उठाउँदै अतिरिक्त ६ महिना मन्त्रालय सम्हालिरहेका छन्।

तर, उपाध्यक्ष गौतमले आफैं राष्ट्रियसभामा जाने बताएपछि अहिले दुईमा एकबारे बहस सुरु भएको छ। त्यसो त यसअघि पनि फागुन १४ गते सचिवालयको बैठकले राष्टियसभामा उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो। तर त्यसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए। ओलीले उपाध्यक्ष गौतमलाई लैजान इन्कार गरेपछि राष्ट्रपतिद्वारा गरिने राष्ट्रियसभाको मनोनित सदस्य पद अझै रिक्त छ। 

'वैशाख २० गतेपछि वामदेव राष्ट्रियसभामा जाने विषय बन्द भइसकेको छ। उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय भएपछि राष्ट्रियसभामा जाने कुरा उनको समाप्त भयो'

त्यसअघि मंसिरमा पनि बसेको सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, उनले राष्ट्रियसभाबाट प्रधानमन्त्री बनाउने संवैधानिक व्यवस्थासहितको शर्तमा मात्रै जाने अडान लिएका थिए। त्यही समयमा गोरखामा डा. बाबुराम भट्टराईसँग पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ संसद प्रवेश गरेका थिए। 

राष्ट्रियसभामा गौतमको च्याप्टर क्लोज!

प्रधानमन्त्री ओलीले शनिबार एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा राष्ट्रियसभामा उपाध्यक्ष गौतमको च्याप्टर क्लोज भइसकेको बताएका छन्। ‘वैशाख २० गतेपछि वामदेवजी राष्ट्रियसभामा जाने विषय बन्द भइसकेको छ। उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने भनेर त्यो निर्णय भएपछि राष्ट्रियसभामा जाने कुरा उनको समाप्त भइसक्यो’, प्रधानमन्त्रीले भनेका छन्। 

राष्ट्रियसभामा उपाध्यक्ष गौतमको बाटो बन्द भइसकेको बताउदै प्रधानमन्त्री ओलीले मन्त्री खतिवडालाई फेरि ल्याउने संकेत गरेका थिए। ‘डा. युवराज खतिवडाको अवधि भदौ २० मा सकिँदैछ। अझै दुई-चार दिन हेरौं न। भदौ २० गते आउन पनि केही दिन बाँकी नै छ', उनले भनेका थिए, 'खतिवडाको कामबाट म सन्तुष्ट छु। कार्यशैली त सबैको कसलाई पो मन पर्छ र? तर, अर्थमन्त्रीबाट सन्तुष्ट छु।'

वैशाख २० गतेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई कुनै निर्वाचन क्षेत्र खाली गराएर प्रतिनिधिसभाको उपनिर्वाचन लडाउने निर्णय गरेको थियो। त्यही अनुसार फागुन १४ को निर्णयको कुनै अर्थ नभएको प्रधानमन्त्री ओली बताउँछन्।

‘चुनावको अवस्था छैन, राष्ट्रियसभामै जान्छु’

कोरोनाको महामारी फैलिरहेको बेलामा एकजनाका लागि निर्वाचन गराउनु सम्भव नहुने भन्दै उपाध्यक्ष गौतमले राष्ट्रियसभामा जान तयार भएको बताएका छन्। 

‘फागुनमा १४ मा गरेको पार्टीको सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्छ भनेर राष्ट्रियसभामा जान लाग्नुभएको हो। अहिल्यै वैशाखको सचिवालयको निर्णयानुसार एकजनाका लागि प्रतिनिधिसभाको निर्वाचन गराउने अवस्था पनि छैन। त्यसैले राष्ट्रियसभामा जाने कुरा राख्नुभएको हो’, उपाध्यक्ष गौतमको भनाईलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्‍वमणि सुवेदीले भने। 

त्यसो त उपाध्यक्ष गौतमले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री ओली र खुमलटारमा अध्यक्ष दाहालसँग फागुनकै सचिवालयको निर्णय कार्यान्वयन हुनुपर्ने बताएको स्रोतको दाबी छ। 

ओली दाहालबीच कुरा मिलेन 

राष्ट्रियसभामा उपाध्यक्ष गौतम या मन्त्री खतिवडालाई लैजाने भन्ने बिषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मत बाझिएको छ। स्रोतका अनुसार अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालका नेताहरु उपाध्यक्ष गौतमलाई लैजाने पक्षमा छन्। 

अध्यक्ष दाहालसहितको छलफलमा उपाध्यक्ष गौतम पनि सहभागि थिए। उनले  सचिवालयका फागुनको निर्णय कार्यान्वयन गराएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

‘तर, यसअघि पार्टी सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई नै लैजाने निर्णय गरिसकेको थियो। फेरि बैशाखमा अर्को निर्णय भएको छ। त्यसैले सहमतीमा सचिवालय निर्णय कार्यान्वयन त हुनुपर्छ भन्ने हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा मन्त्री खतिवडालाई दोहोर्‍याउने संकेत गरे पनि १८ गते बोलाइएको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने एक नेताले बताए। ‘पार्टी सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभामा जानुहुन्छ। सम्भवतः १८ गतेको बैठकले नै उहाँको पक्षमा निर्णय आउन सक्छ’, ती नेताले भने। 

सचिवालयको सहमति आवश्यक 

राष्ट्रियसभामा उपाध्यक्ष गौतम वा मन्त्री खतिवडालाई लैजाने भन्‍ने बिषयमा सचिवालयमै सहमति हुनुपर्ने नेकपा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। 

‘राष्ट्रियसभामा कसलाई लैजाने भन्‍नेबारे सचिवालयले छलफल गर्छ। सचिवालयको निर्णय अनुसार हुनुपर्छ,’ उनले भने, ‘तर, यसअघि पार्टी सचिवालयको बैठकले उपाध्यक्ष गौतमलाई नै लैजाने निर्णय गरिसकेको थियो। फेरि बैशाखमा अर्को निर्णय भएको छ। त्यसैले सहमतीमा सचिवालय निर्णय कार्यान्वयन त हुनुपर्छ भन्‍ने हो।’

‘प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई बन्द भइसकेको कसरी भन्‍नुभयो। त्यो मलाई जानकारी हुने कुरा भए। तर, निर्णय भएर मात्रै हुँदैन कार्यान्वय पनि हुनैपर्छ भन्‍ने मेरो धारणा हो,’ उनले भने।

यता, प्रधानमन्त्री ओलीनिकट संसदीय दलका उपनेता सुवास नेम्वाङ राष्ट्रियसभामा कसलाई लैजाने भन्‍ने बिषयमा बाहिर हल्ला भएजस्तो पार्टीभित्र छलफल नभएको बताउँछन्। ‘बाहिर धेरै चर्चा भइरहेको छ। तर, बाहिर जस्तो यो बिषयमा पार्टीभित्र छलफल भएको छैन,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.