नेताहरू मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित, महाधिवेशनबारे छलफल नै भएन

|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महाधिवेशन स्थगित हुनसक्ने नेताहरूले बताएका छन्‌।

​नेकपाले पार्टीभित्रको विवाद मत्थर पार्नका लागि केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेअनुसार २०७७ चैत २५ देखि ३० मा एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। 

​असोज ६ गते बसेको  सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' तथा महासचिव बिष्णु पौडेललाई साङ्गठानिक बाँकी काम सक्ने कार्ययोजना बनाउन जिम्मा दिएको थियो। तर, साङ्गठानिक एकताको बाँकी काम सक्ने कार्ययोजना बनाउने समयसीमा सकिएको भएपनि अध्यक्षद्वय र महासचिव पौडेलले साङ्गठानिक एकता कार्ययोजना बनाउन सकेका छैनन्‌।

कोरोना महामारीका कारण अहिले राजनीतिक दलका गतिविधिमा समेत प्रायः ठप्प छ। प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाटमा बन्द गरेका छन्। यस्तै, अध्यक्ष दाहालले पनि भेटवार्तालाई पातलो बनाएका छन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति र प्रदेश ५ को राजधानी तोक्नतर्फ केन्द्रित भएकाले साङ्गठानिक एकताको बाँकी काम टुंगिन नसकेको हो। सचिवालयको निर्णयपछि ओली र दाहालबीच पटक-पटक भेटवार्ता भएपनि कुनै विषय टुंगोमा पुर्‍याउन सकेका छैनन्‌। नेताहरू संगठनको नीतिगत काममा भन्दा पनि सरकारी नियुक्ति र भागबण्डाकै किचलो अधिकांश समय बिताउँदै आएका छन्।

प्रधानमन्त्रीले पछिल्लो समय गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव र राजदूत नियुक्त गरेपछि अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल लगायतका नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

यता, प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको सहमतिमा प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने सहमतिपछि प्रक्रिया अघि बढेपछि नेकपामा थप विवाद शुरु भएको छ। 

कोरोनाको कहर बढ्दै गएका कारण पार्टीको निर्णय कार्यान्वयनमा कठिनाई हुने देखिएको छ। नेकपाको पार्टी एकता भएको साढे दुई वर्ष बितिसक्दा समेत पार्टी एकताको काम सकेको छैन। तर, कोरोना संक्रमण बढ्दै गएपछि भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा कार्यान्वयनमा समस्या पुग्ने देखिन्छ। 

मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित

कोरोनाले पार्टीको काम प्रभावित बनेपछि पार्टीभित्रका निर्णय कार्यान्वयनमा समस्या हुनसक्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। ‘कोरोनाको कारणले पार्टीभित्रको गतिविधिलाई असर त पर्ने नै भयो। तर, अहिलेसम्म पार्टीमा महाधिवेशन नै सार्ने विषयमा पार्टीभित्र छलफल भएको छैन,' उनले भने, 'प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफलपछि निर्णय आउला। तर, अहिलेसम्म उहाँहरू मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित हुनुहुन्छ, उहाँहरू मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सहमति जुटाउने प्रयासमा हुनुहुन्छ, उहाँहरूको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन हुन्छ।’

निर्णयअनुसार छलफल नै छैन

स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको सङ्गठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखसमेत एकीकरण सम्पन्न गर्ने निर्णय गरेको थियो। 

‘अबको १० दिनभित्र उहाँहरूले साङ्गठानिक एकताका लागि ठोस प्रस्ताव प्रस्तुत गर्नुहुन्छ। उहाँहरूको कार्य योजनामाथि सचिवालय बैठकले छलफल गरेर निर्णय लिन्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भनेका थिए। 

तर, असोज महिना सकिन लाग्दासमेत यो विषयमा पार्टीभित्र छलफल भएको छैन। असोज ६ गते बसेको सचिवालय बैठकले अध्यक्षद्वय र महासचिवलाई १० दिनभित्र साङ्गठानिक एकताको बाँकी कामको गर्न कार्ययोजना बनाउने जिम्मा सचिवालयले जिम्मा दिएको थियो। पार्टीको जिम्मा पाएका अध्यक्ष प्रचण्डको समय समेत पार्टी काम भन्दा सरकारी नियुक्ति र भागबण्डाकै झोला-झमेला बोकेर हिँड्दैमा बितेको देखिन्छ।

एकतामै अड्को !

केन्द्रीय कमिटी सदस्य मनोनयन र पोलिटब्युरो गठनको काम अझै बाँकी छ। नेकपाले ३३ विभाग र २२ जनवर्गीय संगठनको नेतृत्व टुङ्‌ग्याएपनि विभाग र संगठनको सदस्य तोक्न सकेको छैन। ज्येष्ठ नागरिक कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको नेतृत्व पनि टुंगोमा पुर्‍याउन सकेको छैन।   

भूतपूर्व सैनिक तथा प्रहरी संगठन, अपाङ्गता संगठन नेपाल, खेलकुद महासंघ नेपाल, जनवर्गीय संगठनमा नेपाल उद्योगी व्यवसायी महासंघ, नेपाल दलित मुक्ति संगठन, नेपाल भूमिहीन सुकुम्बासी संगठन, पेशागत महासंघ नेपाल, अखिल नेपाल महिला संघको एकता टुंगोमा पुर्‍याउन बाँकी छ।

यस्तै, नेपाल बुद्धिजीवी संगठन, ट्रेड युनियन महासंघ नेपाल, प्रवासी नेपाली एकता मञ्च, प्रवासी नेपाली एकता मञ्च गठन, सम्पर्क मञ्चका जिल्ला र पालिका तहहरू गठन समेत अझै बाँकी छ। 

पार्टीको निर्णय लगत्तै संगठन विभागले समेत पार्टीको काममा तिव्रता दिएको थियो। संगठन विभागले मंसिर मसान्तसम्ममा पार्टी नवीकरणको काम समेत सक्ने निर्णय गरेको छ। नेकपामा हालसम्म संगठित सदस्यको समेत एकीन छैन। 

कोरोनाको कहर बढ्दै गर्दा महाधिवेशनको आवश्यक तयारीका लागि डाकेको तेस्रो केन्द्रीय कमिटीको बैठक समेत बस्न नसक्ने आंकलन गरिएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोनाको केन्द्र बन्दै गइरहेको छ। नेकपाले तेस्रो केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म बस्ने तय गरेको थियो।

'पार्टीभित्र निर्णय हुनुपर्छ'

कोरोनाको कारणले पार्टीको काम प्रभावित भएपछि निर्णय अनुसारको गतिविधि गर्न नसक्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। 

‘पार्टीले गरेको निर्णय कोरोनाका कारणले केही प्रभावित हुन सक्ला। तर, महाधिवेशन नै सानुपर्ने अवस्था आए-नआएको विषयमा अहिलेसम्म छलफल भएको छैन’ उनले भने, ‘त्यस विषयमा पार्टीले आवश्यक छलफल गर्छ। तर, अहिलेसम्म त्यस विषयमा पार्टीभित्र कुरा उठिसकेको छैन।’ 

‘कोरोनाको कारणले महाधिवेशन धकेलिने वा हुने भन्नेबारे पार्टीभित्र छलफल भएको छैन। अब कोरोनाको जोखिम बढिरहेको अवस्थामा पार्टीले परिस्थिति अनुसार निर्णय गर्छ,’ उनले भने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.