|
फाइल फोटो ।

जुम्ला : कार्यकाल सकिन पाँच महिना बाँकी रहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित रुपमा डीन नियुक्त गरेको भन्दै चर्को विरोध हुन थालेको छ।

यसअघि प्रतिष्ठानमा नर्सिङ डीनका रुपमा सरस्वती गौतम भट्टराई र मेडिसिन डीनका रुपमा रेशमराज राना नियुक्त भइसकेका छन्। सोमबार मात्रै जनस्वास्थ्य संकायको डीन भन्दै मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि चर्को विरोध भएको हो। 

अनियमित ढंगबाट काठमाडौं सम्पर्क कार्यालयबाटै डीन नियुक्त गरेकाले पछिल्ला नियुक्ति तत्काल खारेज गर्न प्रतिष्ठानभित्रको कर्मचारी कल्याणकारी समाजले माग गरेको छ। नियुक्ति तत्काल खारेज गर्न माग गर्दै उपकुलपतिलाई प्रतिष्ठानप्रति संवेदनशील बन्न समेत आग्रह गरिएको छ।

'अहिले काठमाडौंँमा बसेर उपकुलपतिले प्रतिष्ठानप्रति अहित हुने खाले काम गरिरहेका छन्,' कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले भने, ‘जागिर कर्णालीको खाने, काम काठमाडौंँमा गर्ने, यो ठीक भएन। तत्काल केन्द्रीय कार्यालयमा आएर उपकुलपति वाग्लेले काम गर्नुपर्छ। ’ २४ घण्टाभित्र अनियमित रुपमा गरिएको डीन नियुक्त सच्याउन आग्रह गरे।

२४ घण्टाभित्र प्रतिष्ठानप्रति उपकुलपति जिम्मेवार नभएको खण्डमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र उपकुलपतिहरूको सामुहिक मागिने उनले बताएका छन्। 

प्रतिष्ठानका दुई डीन कामकाज नपाएर थन्किएका छन्। उनले भने, ‘कोरोना संक्रमणको अवस्थामा आर्थिक भार बढाउने काम मात्रै भएको छ, मनपरी रुपमा डीन नियुक्त गर्नु राम्रो होइन, उपकुलपतिले डीन नियुक्ति फिर्ता लिनुपर्छ।’

ठुल्ठूला प्रतिष्ठानमा पनि एउटै डीनले काम गरिरहेको, तर कर्णाली प्रतिष्ठानमा तीनवटा डीन हुँदा आर्थिक भार मात्र बढिरहेको कर्मचारीहरूले बताएका छन्‌। नियुक्त भएका डीनलाई प्रतिष्ठानको काममा प्रभावकारी रुपमा खटाउन र नयाँ नियुक्त गरिएका डीनलाई फिर्ता गर्न उनीहरूको माग छ।

आफ्नो कार्यकारी सकिन लाग्दा उपकुलपति वाग्लेले मनपरी नियुक्ति गरेर प्रतिष्ठानलाई आर्थिक भार लाद्न खोजेको आरोप कर्मचारीको छ। ऐनले उपकुलपतिलाई डीन नियुक्त गर्ने अधिकार दिएको छ। तर एउटा प्रतिष्ठानमा तीन जना डीन आवश्यक नभएको उनीहरू बताउँछन्‌।

​पहिले नै अख्तियार, शिक्षा र स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय हटाउन निर्देशन दिएपनि उपकुलपतिले काठमाडौंमै सम्पर्क कार्यालय खोलेको भन्दै कर्मचारीले आक्रोश पोखेका छन्। सम्पर्क कार्यालयबाटै उपकुलपतिले अनैतिक क्रियाकलाप गरिरहेको आरोप प्रतिष्ठानका कर्मचारीहरूले लगाएका छन्‌। 

आफ्नो कार्यकालमा अधिकांश समय काठमाडौंँ बसेका उपकुलपति वाग्ले जुम्लामा कहिलेकाही मात्र आउने गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.