धादिङ : धादिङको गजुरी गाउँपालिका आफ्नो सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुका साथै घरमा शून्य प्रसूति, विद्यालय स्वास्थ्य कार्यक्रम, एम्बुलेन्स सेवा सञ्चालन र पूर्व प्रसूति प्रतीक्षा घर जस्ता कार्यक्रममार्फत समुदायलाई स्वास्थ्य सेवामा सहयोग पुर्याएर जिल्लामै अब्बल बन्दै गएको छ।
गाउँपालिकाले गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउन आवश्यक जग्गा व्यवस्थापन समिति गठन गरेर प्रकृया अघि बढाइसकेको छ। गाउँपालिकाको मातहतमा आएपछि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले तोकेको सेवाभन्दा थप सेवा विस्तार गरिएको पालिकाको दाबी छ। सेवा विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे मेसिन, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर, १५ वर्षमुनिका बालबालिकालाई लगाउने १२ वटा खोप र गर्भवती महिलाहरुलाई लगाइने खोप चिस्यान आवश्यक पर्ने डिफ्रिज सेवा पालिकाले व्यवस्थापन गरिदिएको छ।
नागरिकलाई आवश्यक पर्ने आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालको रूपमा प्राथमिक स्वास्थ्य केन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरू विस्तार गर्दै लैजाने योजनाअनुसार साबिकका गाविसमा रहेका स्वास्थ्य चौकीहरूलाई स्तरोन्नतिसँगै एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए।
अध्यक्ष बस्नेतका अनुसार पालिकाभित्र रहेको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई वटा स्वास्थ्य केन्द्र र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्रबाट नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन्। पृथ्वीराजमार्गको मलेखु फुर्केखोलादेखि बेल्खुसम्मको भाग गजुरी गाउँपालिकामा पर्ने भएकाले राजमार्ग दुर्घटनामा परी घाइते भएकाहरूको उपचारमा पनि स्वास्थ्य केन्द्रले सेवा दिनुपर्ने बाध्यता छ। पालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीलाई उपचारमा कमी हुन नदिन पालिका संवेदनशील रहेको स्वास्थ्य शाखा प्रमुख डाक्टर रामहरी रेग्मी बताउँछन्।
पालिकाले पाँच वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याई ती स्वास्थ्य संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भइरहेको डाक्टर रेग्मीले जानकारी दिए।
घरमा शून्य प्रसूति गराउन पूर्व-प्रसूति प्रतीक्षा घर सञ्चालन र आर्थिक अवस्था कमजोर परिवारलाई नि:शुल्क एम्बुलेन्स सेवा दिएर नवजात शिशु तथा आमाको स्वास्थ्यमा विशेष ध्यान दिएको र गर्भवतीहरूको नियमित खोपका अलवा ग्रामीण अल्टासाउण्ड गराउने व्यवस्था गरेको पालिका उपाध्यक्ष सीता ढुंगाना बताउँछिन्।
बागमती प्रदेश सरकारअन्तर्गत रहेको स्वास्थ्य कार्यालय धादिङको आर्थिक सहयोगमा एक्स–रे मेसिन, हेमाटोलोजी एनालाइजर र खोप चिस्याउन डिफ्रिज खरिद गरेको स्वास्थ्य संयोजक डाक्टर रेग्मीले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम सेवा, मर्चिङ फ्रिज, सेवा थप गरिएको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले बताए। प्राथमिक स्वास्थ्य केन्द्र राजमार्ग क्षेत्रमा रहेकाले सडक दुर्घटनाका घाइतेहरुको जुनसुकै बेला उपचार गर्नुपर्ने हुन्छ। त्यसका लागि रगत परिक्षण र एक्स–रे सेवा अति आवश्यक हुन्छ। अब आवश्यकता पूरा भएको छ। एक जना स्टाफलाई तालिम गराएर काम गर्ने जिम्मेवारी तोकिएको र एक्स–रे मेसिन चलाउने प्राविधिक जनशक्तिको दरवन्दी भए काममा अझ सरलता हुने डाक्टर श्रेष्ठको भनाइ छ।
केन्द्रबाट सेवा लिनेहरूमध्ये ४० प्रतिशत मानिसहरु गाउँपालिका बाहिरका रहेका छन्। गाउँपालिकाले १५ बेडको अस्पताल सञ्चालन गर्न पाउने व्यवस्थाअनुसार अस्पताल बनाउन जग्गा खोज्ने काम भइरहेको गजुरी १ का वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले बताए।
गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिक र अप्राविधिक गरी ४५ जना कर्मचारी रहेका छन्। गाउँपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक र सिनियर अनमी कार्यरत छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा तीन मेडिकल अधिकृतसहति १४ जना स्वास्थ्यकर्मी र तीन सहयोगी कर्मचारी छन्।
यसैगरी, किराञ्चोक स्वास्थ्य चौकीमा अहेवको नेतृत्वमा चार र सिअहेवको नेतृत्वमा ६ जना स्वास्थ्यकर्मीहरु छन् भने एक/एक जना सहयोगी कर्मचारी छन्। पाँचवटा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा अहेवको नेतृत्वमा अनमी र कार्यलय सहयोगी कर्मचारीसहित तीन/तीन जना रहेका छन्।
डोलभन्ञ्याङ माध्यमिक विद्यालयमा एक जना नर्सले सेवारत दिइरहेकी छिन्। गाउँपालिकाले २२ जना करार सेवामा स्वास्थ्य कर्मी र सहयोगी कर्मचारी राखेको छ भने संघीय सरकारले दुई जना मेडिकल अधिकृत करारमा पठाएको छ। वागमति प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमबाट एक जना नर्स करारमा पठाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।