|
प्रतिकात्मक तस्वीर

काठमाडौं :  गोकर्णेश्वर नगरपालिका-५ का ओङ्छु शेर्पाले आफ्नै श्रीमतीबाट ज्यान जोखिममा भएको भन्दै शान्ति सुरक्षाको लागि महानगरीय प्रहरी वृत बौद्धमा उजुरी हालेका छन्। श्रीमतीले विभिन्‍न मान्छे ल्याएर घर  तोडफोडसमेत गरेकाले शेर्पाले उजुरी दिएको प्रहरी वृत बौद्धका डिएसपी रमेशबहादुर सिंहले बताएका छन्।

डिएसपी सिंहका अनुसार पहिलैदेखि श्रीमान,श्रीमतीबीच आन्तरिक विवाद थियो। उनका श्रीमतीले समेत श्रीमानविरुद्ध पटक–पटक मुद्दा दायर गरेका छन्। ‘मुख्य त श्रीमतीले अंश पाउनुपर्ने माग राख्दै आएका रहेछन्,’उनले भने,‘श्रीमतीले गत असोज २६ गते विभिन्न संगठनका शेर्पा महिलाहरूलाई बोलाएर श्रीमानको घरको सिसा इँटा र ढुंगाले हानेर फुटाएछन्। त्यसैले शान्ति सुरक्षा र संरचना तोडफोड भएकोले आवश्यक कारबाही माग गरेर मुद्‍दा हालेका छन्।’

काठमाडौं जिल्ला अदालतमा मुद्‍दा परेकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि फैसलालाई नै पर्खनुपर्ने उनले बताए। शेर्पा महिला संघको अध्यक्ष निमी शेर्पाको नेतृत्वमा आएका २१/२२ जनाले घर तोडफोड गरेको उजुरीकर्ता शेर्पाको दाबी छ।

उनले भने,‘अंशको विषयमा मुद्दा अदालतमा विचाराधीन छ। यही बेला महिलाहरूलाई ल्याएर मेरो घर तोडफोड गर्नु त भएन नि। मलाई जसरी भए पनि न्याय चाहिन्छ।’ उनका अनुसार श्रीमान् श्रीमती पहिलेदेखि नै छुट्टाछुट्टै बस्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.