'पार्टी फुट्दैन, सहमतिमा अघि बढाउन जोड गर्नुपर्छ'

|
फाइल फोटो

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह बढेर फुटको संघारमै पुगेपछि पार्टी जोगाउन दोस्रा र तेस्रा तहका नेताहरूले सक्रियता देखाएका छन्‌। यसअघि पनि विवादले चरम रूप लिँदा यी नेताहरूको अडानका कारण विभाजन टर्ने गरेको थियो। 

तर, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको आन्तरिक किचलो निकै पेचिलो बनिसकेको छ। मनमुटाव हुँदा वार्ता गर्न बोलाउने र कुरा नमिलेपछि 'पार्टी विभाजन गरे हुन्छ' या 'आफ्नो बाटो लागे हुन्छ' जस्ता एकताविरोधी अभिव्यक्ति दिने गरेको प्रचण्डपक्षको आरोप छ। शनिबार पनि ओलीले सँगै जान नसक्ने भएपछि अलग भएर लागौं भन्ने प्रस्ताव राखेका थिए।

शीर्ष नेताहरू बीचको आन्तरिक विवादको कारणले पार्टी फुटको दिशातर्फ उन्मुख हुँदा पार्टी एकता जोगाउनका  लागि दोस्रो र तेस्रो तहका नेताहरू सक्रिय भएर लागेका हुन्। 

ओलीले यस्तो प्रस्ताव गरेपछि आइतबार दाहालले आफू निकटका नेताहरूसँग यसबारे ब्रिफ्रिङ गरेका थिए। त्यसयता नेकपाभित्रको विवाद लगातार उत्कर्षतर्फ लागेको छ। पार्टीका जिम्मेवार नेताहरूले नै फेसबुकबाट एकता जोगाउन आग्रह गरिरहेका छन्‌ भने कार्यकर्ताहरूबीच रस्साकस्सी चलिरहेको छ।

यद्यपी, ओलीले अलग भएर लागौँ भन्ने प्रस्ताव गरेको खबर प्रचण्डनिवास खुमलटारबाट बाहिरिएपनि बालुवाटारमा ओलीनिकट रहेका नेताहरूले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्। 

पार्टी महासचिव विष्णु पौडेलले आइतबार पार्टी संकटमा रहेको भन्दै एकता जोगाउनका लागि नेता कार्यकर्तालाई एकजुट हुनुपर्ने आफ्नो धारणा सार्वजनिक गरे। 

पार्टी गम्भीर संकटमा रहेको सार्वजनिक गरेपछि महासचिव पौडेल पार्टी एकता जोगाउनका लागि सक्रिय भएर लागेका छन्। महासचिव पौडेलले सोमबार अध्यक्ष दाहाललाई खुमलटारमा पुगेर भेटवार्ता गरेको उनी निकट स्रोतले बतायो। 

यसअघि भएको विवादमा पनि पार्टी एकता जोगाउन महासचिव पौडेलले पुलको काम गरेका थिए। पार्टीभित्र दोस्रो र तेस्रो तहका नेता तथा कार्यकर्ताको जोडबल रहेपछि विवाद समाधान गर्न नेतृत्व लचक हुने गरेको छ।

यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकताको पक्षमा उभिएर दृढतापूर्वमा एकताको निम्ति सक्रिय भएर लाग्न सार्वजनिक रुपमा नै आह्वान गरिरहेका छन्। पार्टीको बैठक बसेर सबै पक्षको बारेमा खुला छलफल गरेर पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने उनले तर्क गरेका छन्। भदौ २६ को स्थायी कमिटीको निर्णय कार्यान्वयनमा नआएका कारण पार्टीभित्र विवाद बल्झिएको श्रेष्ठले बताए।

नेकपाभित्र राजदूत नियुक्ति, संघीय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको किचलो, पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु र भारतीय जासूसी संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्ता लगायतका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच मतभेदको स्थिती सिर्जना भइरहेको छ। 

शीर्ष तहका नेतृत्वबाट पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिको कारणले पार्टीभित्र समस्या बढेको स्थायी कमिटी सदस्य गोकर्ण बिष्ट बताउँछन्। देश र जनताभन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने उनले तर्क गरेका छन्। 

पार्टीभित्रको विवादले शीर्ष नेताहरूबीच विमति देखिएको भएपनि पार्टी एकतालाई जोगाइ राख्नुपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। ‘पार्टीभित्रको विवाद उत्कर्षमा नै पुगिसकेको छ, नेताहरू आपसी छलफलमा व्यस्त हुनुहुन्छ,’ उनले भने, ‘सहमतिबाट पार्टीभित्रको विवाद समाधान गरे एकता जोगाउनुपर्ने हाम्रो माग हो।’

पार्टीलाई विधि, पद्धती र पार्टीको निर्णयलाई कार्यान्वयन गरेर अघि बढेन सकेको भए पार्टीभित्रको विवाद नै नआउने उनको भनाई छ। ‘पार्टीले गरेको निर्णयलाई कार्यान्वयनको दिशामा लैजान सकेको भए यस्तो परिस्थिती आउँदैनथ्यो। समस्या समाधान गरेर विधि र पद्धतिमा जोड दिनुपर्छ,’ उनले भने, ‘स्थायी कमिटीको निर्णय अनुसार एकता महाधिवेशनमा पुगेपछि सबै समस्या हल हुन्छ।’ 

पार्टीभित्र आन्तरिक छलफल गरेपछि पार्टीभित्रको विवाद समाधान हुने उनको तर्क छ। ‘पार्टीभित्रको विवाद समाधान हुन्छ। आन्तरिक विवाद सिर्जना हुनासाथ पार्टी फुटिहाल्छ भन्ने होइन’ उनले भने।

पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफूहरू निरन्तर रुपमा लागिरहेका केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्। 'पार्टीको निर्णयलाई कार्यान्वयनमा नलैजाँदा पार्टीभित्र समस्या देखिएको छ। त्यसैले हामी एकताको पक्षमा उभिन्छौ' उनले भने, 'पार्टी फुट्न कुनै पनि हालतमा दिदैनौँ।'

यस्तै, नेकपाको केन्द्रीय सदस्य रामकुमारी झाँक्री पनि पार्टी किन र कसका लागि फुटाउने भन्ने प्रश्न गर्छिन्। पार्टी नेतृत्वले अहिलेसम्म सबै कुरा पाइरहेको अवस्थामा पार्टी फुट्ने र फुटाउने कुराले पार्टी सदस्य र समर्थनलाई धोका दिने काम हुन आँटेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.