​विश्लेषक भन्छन् : प्रधानमन्त्रीले आफूलाई राजा ठाने, आफुले जे सोच्यो, त्यही हुनुपर्छ भन्‍ने ठाने

|

काठमाडौँ : भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख समन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेटवार्ता गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद झनै बढेको छ। विवादको पृष्ठभूमिमा रहेका अनेकानेक कारणमध्ये गोयलसँगको भेट पनि एक रहेको स्पष्ट भइसकेको छ।

रअ प्रमुख गोयलसँगको भेटवार्ता लगायत पार्टीभित्र आन्तरिक किचलोका कारण नेकपा विभाजनको दिशातर्फ धकेलिएको छ। प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग शिष्टाचार भेटवार्ता गरेको सार्वजनिक भएलगत्तै नेकपाका नेताहरू दुई धारमा देखिएका थिए। प्रधानमन्त्री ओली निकट नेताहरू उनको बचाउमा लागेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उनी निकटका नेताहरू असन्तुष्टि जनाइरहे। 

प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँगको भेटवार्ता लगायतका विषयमा असहमति जनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयलाई तत्काल सचिवालय बैठक राख्नका लागि लिखित रुपमा पत्र समेत दिएका थिए। प्रवक्ता श्रेष्ठसहित सचिवालयको बहुमत सदस्यहरू तत्काल बैठक राख्ने पक्षमा रहेपनि प्रधानमन्त्री ओली तत्काल त्यसो गर्ने पक्षमा छैनन्। 

पार्टीभित्र उब्जिएको विवादका क्रममा अध्यक्ष दाहाल नेतृत्वमा आफूविरुद्ध मोर्चाबन्दी भएको ठहर गर्दै प्रधानमन्त्री ओली बैठकबाट पन्छिने रणनीतिमा रहेको बुझिएको छ। ओलीले भारतीय गुप्तचर संस्था रअ प्रमुख गोयलसँग परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना कूटनीतिक आचारसंहिता विपरित भएको आरोप लागेको छ।

‘अध्यक्ष क. केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा भारतीय गुप्तचर संस्था ‘र’का प्रमुख सामन्त गोयलसँग परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना कूटनीतिक आचारसंहिता एवं मूल्यको उल्लंघन हुन्छ,’ प्रवक्ता श्रेष्ठले अध्यक्षद्वयलाई बुझाएको असहमति पत्रमा भनिएको छ, ‘उहाँको भेटवार्ता गलत भएको, त्यसले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा एवं कूटनीतिक ओजलाई गिराउने कार्य गरेको र पार्टी तथा सरकारको छविमा नकारात्मक असर पुर्‍याएकाले त्यसप्रति असहमति जनाउँदै विरोध गर्दछु।’

‘फूटको संघारमा पुगेको छैन’ 

पार्टीभित्र विवाद उत्पन्न भएको भएपनि फूटको संघारसम्म पुगिनसकेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बताउँछन्। ‘पार्टीभित्र नेतृत्वमा समस्या देखिएको छ। तर, अहिल्यै पार्टी फुटको संघारसम्म पुगिसकेको छैन’ उनले भने, ‘त्यो प्रचार गर्नु गलत हो।’

‘प्रधानमन्त्री र रअ प्रमुख गोयलबीचको भेटवार्ताको विषयमा पार्टीभित्र कुरा उठेको छ। शनिबार अध्यक्ष दाहालले त्यो विषयमा कुराकानी गर्नुभएको छ,’ उनले भने, ‘पार्टीभित्र पनि आवश्यक छलफल हुन्छ।’

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेटेको विषयमा पार्टीभित्र कुरा उठेपछि त्यसमाथि आवश्यक छलफल गर्नुपर्ने केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन्। 

‘प्रधानमन्त्रीले रअ प्रमुखसँग भेटवार्ता गरेको जानकारी प्राप्त भएको छ। तर, उहाँले के-के विषयमा कुराकानी गर्नुभयो। त्यो विषयमा पनि सबै खुलाउनुपर्छ,’ उनले भने, ‘रअ प्रमुखसँग भेटवार्ता भएकै कारणले पार्टी फुट्छ भन्ने चाहिँ होइन। पार्टीभित्र छलफल वहस हुन्छ, समाधान गर्नुपर्छ।’ 

'प्रधानमन्त्री नै समस्याको जड'

नेकपाभित्र देखिएको समस्याको प्रमुख जड नै प्रधानमन्त्री ओली भएको राजनीतिक विश्लेषक हरी रोक्का बताउँछन्।

‘प्रधानमन्त्री ओलीले पार्टीलाई पार्टीजस्तो ठानेनन्, पार्टीमा पद्धती कमिटी हुन्छ उनले त्यसमा चल्नुपर्छ भन्ने कहिल्यै सोचेको देखिएन’ उनले भने, ‘पार्टीलाई व्यवस्थित बनाएर लानुपर्छ भन्ने पनि कहिल्यै सोचेनन्। उनले आफूलाई राजा ठाने, आफुले जे गर्यो त्यही हुनुपर्छ भन्ने ठान्ने प्रवृत्ति उनीमा देखियो। त्यसैले पार्टीभित्र पटक-पटक समस्या बढ्दै गएको छ।’ 

‘निरङ्कुशतन्त्रभित्र त पार्टी रहँदैन भने अरु बेलामा रहने कुरै आउँदैन,’ उनले भने, ‘उनको ढाँचाबाट पार्टी सञ्चालन गर्न खोजियो भने पार्टी सफल हुँदैन। उनको कार्यशैली नबदलिएसम्म पार्टीभित्रको समस्या हल हुँदैन।’ बाह्य व्यक्तिसँगको भेटको कारणले समस्या देखियो भन्दापनि आफ्नो व्यक्तिलाई कसरी विवादरहित बनाउँने भन्नेबारेमा केन्द्रीत हुनुपर्ने उनको तर्क छ। 

‘रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटेर समस्या देखिएको होइन। अरु आएर आफ्नालाई भेटेर बिगारे भन्दा पनि आफ्नो समस्यालाई कसरी जोडिएर लिन सकिन्छ भन्ने हुन्छ,’ उनले थपे। 

ईश्वर पोखरेलको स्पष्टिकरण !

प्रधानमन्त्री ओली र रअ प्रमुख सँगको भेटवार्ताको बिषयलाई लिएर चौतर्फि आलोचना भएपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले ६ बूँदे स्पष्टिकरण सार्वजनिक गरेका थिए। उनले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल भारत सम्बन्ध, सीमा समस्या र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रीत रहेको बताएका थिए। 

‘प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँग नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो। र, समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो। वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो’ उनले भनेका थिए, ‘गोयलको तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो।’

नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ? तिनीहरूले किन विरोध गरिरहेका छन्? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिँदैछन्‌,’ उनले उल्टै प्रश्न गरेका थिए।

वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ मानसिकता बोकेर अहिले प्रधानमन्त्रीको विरोध भइरहेको उनले आरोप समेत लगाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.