|

कपिलवस्तु : सेटिङ मिलाएर कार्यकर्तालाई दिएको जिम्मेवारी खोसिएपछि कपिलवस्तुको यशोधरा गाउँपालिकामा कर्मचारी र अध्यक्षबीच बुधबारदेखि विवाद सुरु भएको छ। गाउँपालिका अध्यक्ष ग्रिजेस पाण्डेले प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहलाई छलफल गर्न कार्य कक्षमा बोलाएलगत्तै सिंहको कार्यकक्षमा बुधबार दिउँसो ताला लगाइएको थियो।

सिंह हालसालै सरुवा भएर गाउँपालिकाको जिम्मेवारी सम्हालेका थिए। २०७७ साल वैशाखमा सरुवा भएर यशोधरा आएका छैटौँ तहका अधिकृत कृष्ण पाण्डेले पहिलो पटक जिम्मेवारी पाएपछि अध्यक्ष ग्रिजेस पाण्डे सिंहप्रति रुष्ट थिए।

अध्यक्ष पाण्डेले सेटिङ मिलाएर नियुक्ति गरिएका नेपाली कांग्रेस क्षेत्रीय सचिव देवेन्द्र पाण्डे (राजु)ले सामाजिक विकास शाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए। अर्का अधिकृत रेश्मीराज शर्मालाई सामाजिक विकास शाखामा जिम्मेवारी तोकिएपछि कांग्रेसनिकट जन प्रतिनिधिले विरोध गरेका थिए।

ज्यालादारीमा काम गर्दै आएका देवेन्द्रलाई अध्यक्ष पाण्डेले यसै वर्ष सेटिङ मिलाएर करारमा सहायक कम्प्युटर अपरेटरको पद सिर्जना गरी जागिर खुवाएका थिए।

कम्प्युटरको सामान्य ज्ञान मात्र भएका देवेन्द्रलार्ई अध्यक्ष र पूर्व-प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालको मिलेमतोमा नियुक्ति गरेका थिए। ज्यालादारीमा रहँदा देखी देवेन्द्रले शाखाको नेतृत्व सम्हाल्दै आएका थिए।

ताला लगाउनु सामान्य कुरा : अध्यक्ष पाण्डे

करारमा नियुक्त भएपछि जिम्मेवारी नपाउँदै आफू खुसी शाखा चलाउँदै आएका थिए। सामाजिक विकास शाखामा धेरै बजेट चलाउने भएको हुँदा आर्थिक लाभका लागि अध्यक्ष पाण्डेले कार्यकर्ता पाण्डेलाई जिम्मेवारी दिएका स्रोतले बताउँछ।

‘कार्यपालिकाको निर्णयभन्दा बाहिर जिम्मेवारी तोकिएको छ। कुन कर्मचारीलाई जिम्मेवारी दिने भन्ने कार्यपालिकाको जिम्मेवारी हो। प्रमुखज्यूले सल्लाह नगरी हेरफेर गर्नुभयो।’ अध्यक्ष पाण्डेले फोनमार्फत भने। ताला लगाउने खुलाउने सामान्य कुरा हो। जिम्मेवारी प्रक्रिया नियमले मिल्ने नमिल्ने विषयमा पछि कुरा गरौँला भन्दै अध्यक्ष पाण्डेले थप कुरा गर्न चाहे

सात महिनापछि जिम्मेवारी

प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी फेरबदल गरेपछि अधिकृत पाण्डेले हाजिर भएको ७ महिनापछि जिम्मेवारी पाएका छन्। निजामती सेवा ऐनको दफा १८ मा कार्यालयमा हाजिर भएको २ महिना भित्रमा जिम्मेवारी दिनुपर्ने भए पनि अध्यक्ष र पूर्व-प्रमुख प्रशासकीय अधिकृतले ७ महिनासम्म अल्झाएका थिए। प्रमुख जिल्ला अधिकारीले पटक-पटक आदेश दिए पनि गाउँपालिकाले आदेश कायम गरेको थिएन। नयाँ प्रमुखले काम सम्हालेको एक महिनामै अधिकृत पाण्डेले जिम्मेवारी पाएका छन्।

फर्जी बिलको भुक्तानी रोकिँदा लेखामा ३ साताको तालाबन्दी

यशोधरा गाउँपालिकामा गत वर्ष अध्यक्ष पाण्डेको निर्देशनमा तालाबन्दी गरिएको थियो। वडा अध्यक्षले आफूखुसी बिल ल्याई भुक्तानीको लागि दबाब दिएपछि कर्मचारीले भुक्तानी रोकेका थिए।

लेखा शाखाले फाइल रोक्दा तिन साता तालाबन्दी गरिएको थियो। लाखौँ रकमका फर्जी बिल भुक्तानीका लागि अध्यक्ष पाण्डेले दबाब दिएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.