|

गोरखा : भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले नेपाल र भारतको मैत्री सम्बन्ध अमर रहने बताएका छन्। भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको तीनवटा विद्यालय भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन आइपुगेका उनले यस्तो बताएका हुन्।

‘हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ, पुनर्निर्माणमा सघाईरहेक छ। यसकारण मलाई नेपाल भारतको मैत्री सम्बन्ध अमर रहने  विश्वास छ।’

केही समयअघि मात्रै भारतले गुँजरात भूकम्पबाट ठूलो क्षति ब्यहोर्नुपरेको बताउँदै त्यहाँबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताएका छन्।

‘भूकम्पले तहसनहस भएको गुजरात अहिले भारतको प्रमुख आर्थिक केन्द्र बनेको छ’, उनले भने, ‘भूकम्प प्रभावित नेपालले पनि छिट्टै त्यस्तै अवस्था हासिल गरोस्।’

विदेश सचिव हर्षवर्द्धनले विश्वभर बहादुर भनेर चिनिने गोर्खालीहरुको जिल्ला आउन पाएकोमा आफूलाई निकै खुसी लागेको बताए।

विदेश सचिव हर्षवर्द्धन भारतीय सरकारको सहयोगमा पुनर्निर्माण सम्पन्न भएका गोरखाको गोरखा नगरपालिका ९ को महालक्ष्मी मावि, सोही नगरपालिका ८ को रत्नलक्ष्मी मावि र वडा नं. १० मा पुनर्निर्माण सम्पन्न भएको तारा माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी हुन गोरखा आएका हुन्।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको  थियो। सो रकमले गोरखामा २६ हजार ९१२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण हुँदैछन्।

सन् २०१८ को मार्च महिनादेखि लागु भएको भारत सरकारबट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भइसकेका छन्।

भूकम्प प्रभावित विभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै, १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.