विप्लव हिंसामा उत्रिँदा अधिकांश दल चुपचाप

|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङका एक विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको तीन दिन बितिसकेको छ।

तर उक्त क्रुर हत्याकाण्डलाई लिएर देशका राजनीतिक दलहरूको मौनता आश्‍चर्य लाग्दो छ। शिक्षाको ज्योति फैलाउँदै हिँडिरहेका एकजना शिक्षकको घाँटी रेटेर हत्या भएको यतिका दिन बितिसक्दा पनि सरकारको नेतृत्व गरेको नेकपाले कुनै धारणा ल्याउन सकेको छैन।

अर्कातिर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई यो घटनाबारे मुख खोल्न तीन दिन लागेको छ। यता सरकारले विप्लव समूहलाई वार्तामा आउन आह्वान गर्दै शिक्षक श्रेष्ठको हत्या गरिएको क्षेत्रमा ‘सर्च अपरेशन’ चलाइरहेको छ। 

उक्त घटनालाई लिएर सत्ताधारी दल नेकपाले अहिलेसम्म पनि आफ्नो धारणा सार्वजनिक नगरेकोमा सर्वसाधारणले रोष प्रकट गरेका छन्। 

नेपाली कांग्रेसले यही २९ गते देशभर गर्ने विरोध प्रदर्शनको तयारी गरेको छ। बिहीबार बसेको पदाधिकारी बैठकबाट कांग्रेसले उक्त घटनामा संलग्नलाई हदैसम्मको कारबाही माग गरेको छ।

यता जनता समाजवादी पार्टी, राप्रपा लगायतका राजनीतिक दलले पनि उक्त घटनालाई लिएर आफ्नो पार्टीको धारणा अहिलेसम्म सार्वजनिक गरेका छैनन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा प्रतिबन्धित नेकपालाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ । 

सरकारविरुद्ध मंसिर २९ गतेका लागि निर्धारण गरिएको देशव्यापी विरोध प्रदर्शनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर शान्तिको बाटोमा आउन ग्रह गरेको हो।

‘शान्तिको बाटोमा आएर वार्ताको माध्यमबाट समस्या हल गर्न सकिन्छ,’ नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले, ‘मोरङमा शिक्षक हत्याको जिम्मा लिने विप्लव समूहलाई मारकाटको बाटो छोडेर शान्तिमा आउन कांग्रेसले आग्रह गरेको छ।’ 

विप्लव नेतृत्वको नेकपाले गत मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्र श्रेष्ठलाई घरैबाट अपहरण गरी जंगलमा पुर्‍याएर घाँटी रेटी हानी हत्या गरेको थियो।

शिक्षक संघ बोल्यो

नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघले भने हिजो एक विज्ञप्ती जारी गरेर उक्त घटनाप्रति निन्दा प्रकट गरेको छ। संघका अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरीले विज्ञप्ती निकालेर श्रेष्ठको हत्याले स्तब्ध र आक्रोशित बनाएको बताएका छन्।  

‘विगतमा भएको शिक्षकमाथिको आक्रमण र हत्याको श्रृंखलालाई स्मरण गराउने शैलीमा भएको इमानदारी र कर्तव्य परायण शिक्षकको बर्बर र आततायी ढंगबाट गरिएको यस कायरता पूर्ण हत्याको नेपाल शिक्षक संघ घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ। संघले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र शिक्षक श्रेष्ठलाई सहिद घोषणा गर्न पनि माग गरेको छ। त्यस्तै संघले सबै शिक्षकहरुको सुरक्षाको पूर्ण ग्यारेन्टीको अवस्था निर्माणका लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 

के भन्छ नेकपा?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजाल दलहरु आन्तरिक भद्रगोलमा भुलेकोले यो घटनाबारे नबोलेको आशंका गर्छन्।

‘मोरङको घटना अत्यन्तै निर्मम घटना हो। यस्तो घटनाको समर्थन त कसैले गर्नै सक्दैनन्,’ रिजालले भने,‘विभिन्न क्षेत्रमा नेताहरु बोल्न त बोलिरहेका नै छन् तर, संस्थागत हिसाबले विज्ञप्ती नै जारी भएको छैन। यसको कारण चाहिँ दलहरु आन्तरिक भद्रगोलमा अल्झिएर हो। यस्ता घटना गराउने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउनै पर्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.