'चुनावले खोप आयात र कोरोना नियन्त्रणमा प्रभाव पर्छ'

|

काठमाडौं : मुलुक यतिखेर कोरोना (कोभिड-१९) महामारीको चपेटामा छ। संक्रमितको संख्या अढाई लाख नाघिसकेको छ। तर, नियन्त्रणमा सरकारी कदम र राजनीतिक गतिविधि हेर्दा अहिले मुलुकमा कोरोना संक्रमण शून्यजस्तै आभास भइरहेको छ।

मानिसहरूको चहलपहल बढेसँगै सार्वजनिक यातायात पनि खुलिसकेको छ। अधिकांश क्षेत्र सरकारले खुला गरिसकेको छ। फिल्म हल, विद्यालय तथा विश्वविद्यालयबाहेक अन्य क्षेत्र खुलिसकेका छन्।  

विश्वका अन्य मुलुक खोप आयातदेखि निर्माण गर्ने कार्यमा तीव्र रूपमा लागेका छन्। नेपाल सरकार भने कूटनीतिक पहलको र कोभ्याक्सबाट २० प्रतिशत खोप आउने आशामा बसेको छ। सरकार यतिखेर कोभिड विरुद्धको खोप आयात गर्न लाग्नुपर्नेमा राजनीतिक झमेलामा फसेको छ।

प्रधानमन्त्री केपी शर्माले ५ गते संसद विघटन गरेसँगै नेपाली राजनीति एकाएक तातेको छ। महामारीकै बीच चुनावमा जाँदा खोप आयातमा केही असर त पर्ने होइन भन्ने आशंका बढ्न थालेको छ। कोभिड महामारीबाट आजित नागरिकले खोप खोजेका छन्‌, तर सरकार निर्वाचन खोज्दैछ।

कोरोना नियन्त्रण तथा खोप आयातमा पछिल्लो घटनाक्रमले असर गर्ने स्वास्थ्य विज्ञहरूले बताउन थालेका छन्।

विभागीय मन्त्री पार्टीको काममा व्यस्त

खोप आयात तथा कोरोना नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहम्‌ भूमिका हुन्छ। विभागीय मन्त्री भानुभक्त ढकाल मन्त्रालयको काम भन्दा पार्टी र सरकारका अन्य गतिविधिमा बढी सक्रिय हुने गरेका छन्‌।

मुलुकलाई संकट परेको समयमा सम्बन्धित मन्त्रालयका मन्त्रीको अहम भूमिका हुनुपर्ने जनस्वास्थ्य विज्ञ डा.किरण राज पाण्डे बताउँछन्। उनी भन्छन्‌, 'मुलुकको राजनीतिक अवस्था फरक ढंगले चल्न थालेकोले मन्त्री अहिले पार्टीको काममा व्यस्त रहन जाँदा महामारी नियन्त्रण र खोप उपलब्धतामा निश्चय नै प्रभाव पर्छ।'

खोप आयात गर्न यसअघि सरकारले विभिन्न पहल गरेको थियो। अहिले अन्तिम चरणमा यस्तो राजनीतिक गतिविधि हुँदा महामारीविरुद्ध लड्न ठूलो असर परेको पाण्डेले बताए। कोभिड खोप आयात गर्न कूटनीतिक पहल र कोभ्याक्स खोपको लागि पहल भइसकेकोले यस्तो अवस्थामा मन्त्रीले समय नदिएमा कर्मचारीले भूमिका बढाउनु आवश्यक रहेको उनको भनाइ छ।

'महामारीको समयमा खोप ल्याउनका लागि मेहनत गरेको भए हुन्थ्यो,' उनले भने, 'मुलुकलाई चुनावभन्दा पनि खोप आवश्यक छ। यतिखेर चुनाव होइन, खोप खोज्नुपर्छ।'

सरकार कोभ्याक्सको खोपमा मात्र निर्भर हुन नहुने तथा खोप कसरी आयात गर्न सकिन्छ, त्यस विषयमा गम्भीर छलफल गर्नुपर्ने पाण्डे बताउँछन्‌।। सरकारले खोप आयात गर्न सक्दैन भने निजी क्षेत्रलाई छलफलमा बोलाउनु पर्ने उनले बताए।​

'महामारी संकटमा राजनीतिक दल र सरकार एक हुनुपर्थ्यो'

केही मुलुकले विभिन्न कम्पनीको खोप प्रयोगमा ल्याइसकेका छन्‌। पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा चाँडै खोप आयात गर्न गृहकार्य थालेको मन्त्रालयका वैतनिक सल्लाहकार डा.सुरेश तिवारी बताउँछन्।

तीन दिन यताका राजनीतिक गतिविधिले खोप आयात र कोरोना नियन्त्रणमा केही प्रभाव पार्ने उनको बुझाई छ। खोप आयात गर्न ठोस कदम चाल्न भन्दा पनि सरकारका मन्त्री पार्टीको काममा व्यस्त हुने भएकोले केही असर पर्ने उनी बताउँछन्‌।

​सरकारले खोप किन्न खोजिरहेकाले मन्त्रालयको स्तरबाट काम हुनुपर्ने उनले बताए। 'राजनीतिक दलको गतिविधिले आन्दोलन कोरोना संक्रमणको जोखिम बढने सम्भावना छ,' डा.तिवारीले भने, 'महामारीको संकटबाट नागरिकलाई बचाउन सरकार र राजनीतिक दल एक ढिक्का भएर काम गर्नुपर्थ्यो, तर त्यस्तो भएन। पछिल्लो घटनाक्रमले केही मात्रामा असर गर्छ।'

जस्तासुकै राजनीतिक घटनाक्रम भएपनि खोप खरिद प्रक्रियालाई असर नगर्ने र मन्त्रालय जिम्मेवार भए खोप ल्याउन सकिने उनी बताउँछन्।

'खोप आयातमा समस्या हुन्न'

राजनीतिक घटनाक्रमले अस्थिरताको सरगर्मी बढाएपनि खोप आयात गर्न कुनै कसर बाँकी नराखिने मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा बताउँछन्। खोप उपलब्ध गराउन सरकारका मन्त्रीभन्दा पनि कर्मचारीको अहम भूमिका हुने उनले बताए। सबै नागरिकमा खोपको उपलब्धता हुनेगरी काम भइरहेको उनले जानकारी दिए।

'केही मुलुकमा खोपले मान्यता पाए पनि बजारमा उपलब्ध भएको छैन,' शर्माले भने, 'बजारमा खोपले मान्यता पाउनुपर्छ, टेन्डरको लागि आह्वान हुनुपर्छ, अहिले केही आशा पलाएको छ, तर खोप आयातका लागि पूर्वाधारदेखि अन्य तयारी गरिरहेका छौं।'

उनका अनुसार कोभ्याक्स खोपको लागि सरकारले पहल गरिसकेको छ। अहिले खोप निर्माण गरिरहेको कम्पनीहरूसँग पनि सरकारले वार्ता प्रयास गरिरहेको छ। नेपालका निजी कम्पनीसँग पनि खोप खरिद गर्न छलफल प्रकृया अघि बढाइसकेको छ।

'खोप खरिद गर्न आर्थिक रूपमा समस्या हुँदैन,' उनले भने, '४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकिएको छ।' भारतमा सिरमले बनाउँदै गरेको खोप ल्याउन कुटनीतिक पहल भइरहेको उनको भनाइ छ।

नेपालमा बालबालिकालाई लगाइने खोप सिरम कम्पनीकै ल्याइने हुनाले नेपालले सहजै पाउनसक्ने उनी अनुमान गर्छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.