माओवादी केन्द्रका दोस्रो तहका नेतासँगको छलफल तीव्र

|

काठमाडौं: लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा जाने तयारीमा लागेका छन्। 

माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएसँगै संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मधेसी मोर्चा र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच संवाद तीव्र भएको छ। 

स्रोतका अनुसार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र वर्षमान पुनले छलफललाई तीव्र पारेका छन्। पछिल्लो समय उनीहरुले मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोसँगको छलफल तीव्र पारेका छन्। मधेसी मोर्चाले माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने संकेत दिएको छ। 

शुक्रबार केन्द्रका अध्यक्ष प्रचण्डले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाई सरकारमा ल्याउने प्रयास भइरहेको खुलाएका थिए। ‘सरकारमा सहभागी नभएसम्म माग सम्बोधन हुने अवस्था छैन, सरकारमा सहभागी भई एमालेको समेत समर्थनमा संविधान संशोधन गरी माग सम्बोधन गर्ने वातावरण मिलाउन मधेसी मोर्चा सरकारमा आउनुपर्छ भन्ने कुरा हामीले गरेका छौँ, छलफल भइरहेको छ’ प्रचण्डले भनेका थिए। 

पार्टीका दोस्रो तहका नेताहरुले मोर्चालाई सरकारमा सहभागी गराउने वातावरण मिलाएपछि मात्रै प्रचण्डले ‘फाइनल वार्ता’ गर्ने तयारी छ। प्रचण्ड सचिवालयले मोर्चासँग केही दिनमा छलफल हुने जानकारी दिएको छ। ‘अध्यक्षज्यूले हालसम्म कुनै छलफल गर्नुभएको छैन, अब छलफल गर्ने तयारीमा हुनुहुन्छ’ प्रचण्ड सचिवालयका जोखबहादुर महराले भने। 

मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने तत्काल सरकारमा जाने सम्भावना नभएको बताए। ‘हामी अविश्वासको पक्षमा मतदान गर्छौ तर, सरकारमा माग सम्बोधनपछि मात्र जाने हो’, उनले भने।

स्रोतका अनुसार मोर्चाको माग सम्बोधनका लागि संयन्त्र निर्माण गरी संसद्‍बाट त्यसलाई संवैधानिक हैसियत प्रदान गर्ने विषयमा माओवादी केन्द्रका नेता र मोर्चाका नेताबीच सहमत भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.