|

अर्घाखाँची : साविक सत्तारूढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मै विभाजित भएपछि लुम्बिनी प्रदेशमा पनि नयाँ सत्ता समीकरणको गृहकार्य हुन थालेको छ। जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ।

८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ। प्रदेश सभामा नेकपा (एमाले) को ४१ सिट छ। यस अनुसार मुख्यमन्त्री शंकर पौडेललाई यही सरकार टिकाउन थप ३ सिट आवश्यकता पर्छ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९ र जनता समाजवादी पार्टी (जसपा) का ६ सदस्य छन्। एमाले इतरको समीकरण बनेमा लुम्बिनी प्रदेशको सरकार परिवर्तन हुने देखिएको छ। यदी प्रदेश सरकारले विश्वासको मत हासिल गर्नुपर्ने भएमा जसपाको साथ लिनुपर्छ।

माओवादी केन्द्रले समर्थनको मत फिर्ता लिए वा मुख्यमन्त्रीले माओवादीका मन्त्री हटाएमा सरकारमा सहभागी हुनेबारे एमाले र जसपाबीच पटक-पटक वार्ता भैरहेको छ। संघीय संसद्‌मा पनि निर्णायक रहेको जसपाले आवश्यकता अनुसार सरकारमा सामेल हुने बताइरहेको छ।

के भन्छ जसपा ?

आफ्ना मागलाई लिएर सौदाबाजी गरिरहेको जसपाले भने माओवादी र नेपाली कांग्रेससँगै जान आवश्यक नभएको बताइरहेको छ। तर, अर्कातर्फ चुनावमा जानुको साटो यही सरकारमा सहभागी हुनुपर्ने विरोधाभाषमय कुरा पनि गरिरहेको छ। 

जसपाका लुम्बिनी प्रदेशका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले भने, 'निर्वाचनमा हुने खर्चलाई बचाएर भौतिक विकास, पर्यटन, शिक्षा,सडक र स्वास्थ्य क्षेत्रमा लगाउन पनि हाम्रो पार्टी जसपा यही सरकारलाई समर्थन गरेर सरकारमा जानेछ।'

अहिले भौतिक पूर्वाधार, सामाजिक विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको दाबीसहित सरकारमा जाने गरी पार्टीले मनस्थिति बनाएको उनले बताए।

अहिलेकै सरकारलाई निरन्तरता :माओवादी केन्द्र

एमाले र जसपाको गठबन्धन भएमा माओवादी केन्द्रका सामाजिक विकास तथा आन्तरिक मामिला तथा कानुन मन्त्री बिदा हुनेछन्। तर, माओवादी केन्द्रले जनादेश भएको बाम गठबन्धनलाई निरन्तरता दिनुपर्ने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।

मन्त्री बरालले भने, 'लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउनेबारे अनौपचारिक रूपमा अंक गणित जोड घटाउको रूपमा छलफल त भैरहेका छन्, तर औपचारिक रूपमा हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको छैन, त्यसकारण एमालेका सभा सदस्यहरूले पनि हाम्रो विकल्प बाहेक अरू कसैसँग नयाँ सरकार बनाउन औपचारिक रूपमा छलफल गरेका छैनौं।'

यदी सरकार छोड्नुपर्ने अवस्था आएमा माओवादी केन्द्रले कांग्रेस र जसपा समेतको समर्थनमा सरकार बनाउन पहल गर्ने अर्को धार देखिएको छ।

एमालेमा किचलो बढे सरकार परिवर्तन हुनसक्ने

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम्‌ भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले जसपालाई सरकारमा ल्याउनुपर्ने बताए।

मन्त्री चौधरीले एमालेभित्रको खिचलो अझै बढ्दै गए भने लुम्बिनी प्रदेश सरकार मात्र होइन, अन्य प्रदेशका सरकार पनि परिवर्तन हुनसक्ने सम्भावना रहेको बताए।

प्रदेशको नामाकरण र स्थायी राजधानी घोषणा गरेर गएको असोज २० गते प्रदेशको अधिवेशन अन्त्य भएको थियो। हिउँदे अधिवेशन कहिलेदेखि सुरू हुने भन्ने मिति भने तय भएको छैन।

यद्यपी; सत्ता समीकरणका लागि दलहरू चनाखो भएका छन् भने निर्णायक तहमा रहेको जसपा तानातानमा रहेको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.