|

काठमाडौं : ‘मैले त निवेदन नै दिएको थिएन। काठमाडौंबाट तपाईको चोरी भएको बाइक भेटियो। लिन आउनुस् भनेपछि म त अचम्ममा परें’  प्र ३,०२०० १ प २८८७ नम्बर बाइकका धनी राम गोपाल डंगोलले बाइक पाएपछि थाहाखबरलाई सुनाए। 

चार दिनअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो जानकारी दिएको शब्दले रामको खुशीको सीमा नै रहेन। २०७६ साल कात्तिक १९ गते जनकपुरको मालपोत कार्यालयबाट उनको बाइक चोरी भएको थियो। चोरी भएपछि पाउने आशा नै उनले त्यागेका थिए।

तर, हराएको एक वर्षपछि काठमाडौंमा उनको बाइक महाशाखाले फेला पार्‍याे। त्यसपछि महाशाखाले सोमबार सवारीधनीलाई महाशाखामै बोलाएर बाइक हस्तान्तरण गर्‍याे। 

महाशाखाले ३० वटा चोरी भएको सवारी साधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ। त्यसमध्येबाट पहिलो नम्बरमा रामलाई महाशाखाले बाइक हस्तान्तरण गर्‍याे। बाइक पाइसकेपछि खुशी हुँदै रामले भने, ‘मैले त सोचेको पनि थिइनँ, उता हराएको बाइक यहाँ पाउँछ भनेर। आज मेरो बाइक पाउँदा असाध्यै खुसी लागेको छ।’

उनका अनुसार जनकपुरमा उनले प्रहरी कार्यालयमा निवेदन हालेका थिए। तर,काठमाडौंमा फेला पर्छ भन्ने उनमा लागेको थिएन। त्यसैले उनले काठमाडौंको ट्राफिक प्रहरी महाशाखामा निवेदन दिएका थिएनन्।

‘पहिलाको नम्बर हटाएर बा८३प ६५८० को नयाँ नम्बर पो हालिएछ,’ उनले भने, ‘बाइक थोरै कुच्चिएछ। अब आज बनाएर भोलि घर जनकपुर फर्किन्छु।’
उनले बाइक पाएपछि आफ्नो सवारीसाधनलाई सुरक्षित ठाउँमा मात्रै राख्न अरुलाई आग्रह गरे।

आर्थिक वर्षमा २८६ चोरी बाइक फेला

ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले आर्थिक वर्षमा दुई सय ८६ चोरी भएको बाइक, स्कुटी फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको बताए। उनका अनुसार ४५ जना चोरीमा संलग्न अभियुक्तविरुद्ध मुद्दा चलाई कारागारमा सजाए भोगिरहेका छन्। 

किन चोरिन्छन् सवारीसाधन ?

महाशाखाका एसएसपी भट्टराईका अनुसार सवारीसाधन चालकले सुरक्षित ढंगले नराखेकै कारण सवारीसाधन चोरी हुने गरेको छ। उनी भन्छन्, ‘सवारीसाधन चोरी हुन नदिन सुरक्षित ठाउँमा राख्नुपर्छ। जहाँ पायो त्यही ठाउँमा राख्नु भएन। मज्जाले हेन्डल लक गर्नुपर्छ।’  

उनले सवारीसाधन धनीहरुलाई सवारीसाधन संरक्षणमा आफू पनि जिम्मेवारी हुनुपर्ने बताए। उनले भने, ‘चोरी भएका सवारीसाधन खोज अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो। तर, यसमा सवारीधनीको पनि जिम्मेवारी हुन्छ। कसरी साधन सुरक्षित पार्न सकिन्छ भन्ने त्यो सवारी धनीमा हुनुपर्छ। यो चेतना सबैमा हुनुपर्‍याे।’

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले चोरी सवारीसाधन पाउन सफल भइरहेको बताए। ट्राफिक व्यवस्थापन गर्नु पनि ट्राफिक प्रहरीको प्राथमिकतामा रहेको अधिकारीले बताए।

‘सवारी जामलाई व्यवस्थित पारी पैदल यात्रुलाई सुरक्षित रुपले बाटो वारपार गराउन लागि आजैबाट हामीले कलेजका विद्यार्थी र राष्ट्रिय सेवा दलकालाई ट्राफिक स्वायंसेवकमा खटाएका छौँ,’ उनले भने।

उनले प्राविधिक रुपमा ट्राफिक बत्ती बाल्ने गरेको बताए। 

तस्बिर : शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.