प्रक्रियाविपरीत सदस्यता वितरण भइरहेको भन्दै नेताहरूको असन्तुष्टि

|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता वितरणको विषय बल्झिएको छ। सभापतिले मनोमानी ढंगले सदस्यता वितरण गरेको भन्दै एक पक्षले विरोध जनाएको हो। 

पार्टी जिल्ला सभापति कर्णबहादुर मल्लले आफूखुसी सदस्यता वितरण गरिरहेको भन्दै पूर्व सभापति रघुवीर भट्टलगायत नेताहरुले असन्तुष्टि जनाएका छन्। विधि प्रक्रियाविपरीत आफूखुसी चुनाव जित्न सभापति मल्लले सदस्यता बाँडिरहेका पूर्वसभापति भट्टको आरोप छ। 

शुक्रबार पत्रकार सम्मेलन गर्दै विधि प्रक्रियाविपरीत सदस्यता वितरण भइरहेको भन्दै उनले आफूहरुलाई यो तौरतरिका मान्य नहुने बताए। 

नेपाली कांग्रेस डडेल्धुराको गएको चैत १० गते बसेको बैठकले क्रियाशील सदस्यता वितरणका लागि २३ र २४ गते छलफल गरी टुंगो लगाउने सहमति भएको नेता भट्टले बताए। नयाँ सदस्यता वितरणका लागि छानबिन गर्ने निर्णय भएको उनले सुनाए। तर, छानबिन नै नगरी सदस्यता वितरण गरिएको उनको गुनासो छ। 

कांग्रेस केन्द्रीय सभापति देउवाको गृहजिल्लामा क्रियाशील सदस्यताको टुंगो लागेको यसअघि पार्टीले जनाएको थियो। सबैभन्दा बढी विवाद रहेको डडेल्धुरामा गत चैत १० गते क्रियाशील सदस्यताको टुंगो लागेको पार्टीले जनाएको थियो। 

भित्र विवाद सुल्झाउन भनि केन्द्रीय समितिको निर्देशनअनुसार सदस्यताको टुंगो लागेको जिल्ला कार्य समिति सभापति कर्णबहादुर मल्लले बताएका थिए। डडेल्धुरामा ५६ सय ९९ सदस्यता दिइएको छ। २५ सय ९४ नवीकरण गरिएका हुन्। ३१ सय पाँच नयाँ सदस्यता वितरण गर्ने गरी सहमति भएको सभापति मल्लले बताएका थिए।

नयाँ सदस्यता दिँदा आफूनिकटलाई मनोमानी ढंगले दिइएको भट्टसहित नेता गोविन्दराज बोहरा, दिल्लीराज जोशी, गणेश भट्ट, लक्ष्मी अवस्थी, सन्तोष जैरु, सरस्वती खड्कालगायत नेताको आरोप छ। पार्टीभित्रका आन्तरिक समस्यालाई मिलाउन खोजे पनि समस्याको निर्क्याैल नहुँदा मिडियामा आउनु परेको नेता भट्टले बताए।  

मनोमानी ढंगबाट आफूखुसी वितरण गरिएका क्रियाशील सदस्यता छानबिन गरी विधान, विधि, पद्धतिसम्मत वितरण गरिनुपर्ने नेता बोहराले बताए। सभापति मल्लले आफूलाई पायक पर्ने गरी निर्णय गर्दै आएका जिल्ला कार्य समिति सचिव अवस्थीको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.