|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपालाई साथ लिएर नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले देउवालाई बहुमत जुटाउन सबै प्रयत्न गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहयोगमा सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस आन्तरिक छलफलमा केन्द्रित भएको हो।

बैठकपछि कांग्रेस सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले जसपाले पनि एकढिक्का भएर सहयोग गर्ने विश्वास रहेको बताए। 'कांग्रेसको नेतृत्वमा सरकार बनाउने कुरामा माओवादी केन्द्र स्पष्ट छ', उनले भने, 'पर्सिसम्म जसपाले पनि एकमत भएर साथ दिन्छ भन्नेमा हामी विश्वस्त छौं। उहाँहरुलाई ल्याउन सबै प्रयत्न गर्छाैं। 

उनले नेकपा एमालेभित्र पनि असन्तुष्टि रहेको भन्दै सरकार निर्माणका क्रममा माधव नेपाल पक्षको पनि सहयोग लिइने बताए। 'हिजो उहाँहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिन आउनुभएन, उहाँहरुमा पनि असन्तुष्टि छ', महतले भने, 'उहाँहरुको सहयोग पनि जुटाउने प्रयास गर्छाैं।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.