|

हेटौंडा : हेटौंडामा जारी निषेधाज्ञा छ। जसले गर्दा सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने परेका छन्।  

कोरोना नियन्त्रण गर्न प्रशासनले दुई सातादेखि लगाएको निषेधाज्ञा थप लम्बिँदै जाँदा दैनिक ज्यालादारी गर्ने वर्ग बिहान-बेलुका हातमुख जोड्नै समस्यामा छन्।

नेपालको तराई क्षेत्रको विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतको केही नागरिक लामो समयदेखि हेटौंडालाई कर्मथलो बनाउँदै आइरहेका छन्। उनीहरूलाई यतिबेला निकै गाह्रो छ। व्यवसाय गर्दै परिवार पालिरहेकालाई पनि निषेधाज्ञाले पिरोलेको छ। उनीहरूलाई यतिबेला रोगभन्दा भोकले सताएको छ।

हेटौंडा १० र ११ लाई जोड्ने राप्तिपुलमुनि त्रिपाल टाँगेर बस्दै आएका १७ परिवारका ७० जनालाई अहिले बिहान बेलुकाको छाक टार्नै मुस्किल छ। सो स्थानमा ५ वर्षदेखि त्रिपाललाई घरको छानो बनाई बस्दै आएकी ममिना खातुन ४ दिनदेखि आफूहरू चिउरा र पानीको भरमा बसिरहेको बताउँछिन्। जितपुर स्थायी घर भएकी खातुन ४ सन्तान र श्रीमानको साथमा हेटौंडामा बस्छिन्।

श्रीमानलाई प्यारलाइसिस भएपछि १५ र १७ वर्षको दुई छोराले गाडीमा स्टिकर टाँस्ने काम गर्दै उनीहरूको मुखमा गाँस भर्ने गरेका थिए। तर कोरोना नियन्त्रणको लागि भएको बन्दले आफ्नो रोजीरोटी नै खोसिएको उनले बताइन्।

उनले भनिन् 'अस्ति अस्तितिर त बिहान बाहिर हिँड्न मिल्थ्यो र हामी मागेर भए पनि खान्थ्यौं। हिजोबाट त पुलिसले हिँड्न पनि दिएको छैन, मागेर खाने बाटो पनि बन्द गरिदियो।’ उनले केही दिनअघि मागेर ल्याएको चिउराले ४ दिनदेखि भोक मेटाएको दुःखेसो सुनाइन्। 

खातुनजस्तै त्यहाँ अरु १६ परिवार छन्। सबैको परिवारमा ५ भन्दा धेरै छन्। ७ जनाको परिवार भएको राजकुमारको पीडा उस्तै छ। उनलाई आफ्नो ५ सन्तान र श्रीमतीलाई बिहान-बेलुका के खुवाउने भन्ने पिरलो छ। रातभरि निन्द्रा पर्दैन उनलाई

'काम गर्न जाऊँ भने काम छैन। माग्न जाऊँ भने यो महामारीमा कसको ढोका ढकढकाउनू? सबै परपर नै भाग्छन्,’ उनले भने, 'उनको २/२ वर्ष उमेर फरकका ५ सन्तान सन्तान छन्। जेठी छोरी १० वर्षकी भइन्। कान्छी भर्खर २ वर्षकी छिन्। 

राजकुमारलाई रित्तो भाँडा देख्दा छोराछारीको खुबै माया लाग्छ। हिजो एक जनाले २ किलो चामल टहरामै ल्याएर सहयोग गरेपछि उनीहरूले पेटभरि भात खाएका थिए। 

सो स्थानमा छुट्टाछुट्टै दुईतिर त्रिपाल टाँगेर टहराजस्तो बनाइएको छ। त्यसको एकापट्टि नेपालकै विभिन्न स्थानबाट आएका बसोबास गर्छन् भने एकापट्टि भारतबाट आएकाहरू बसोबास गर्छन्।

जहाँ भारतबाट आएका २२ वर्षीय महेन्द्र सिंहको ५ परिवारका २७ जना छन्। उनको ३ जना दाइको परिवार, दिदीको र उनको गरी ५ परिवार ५ वर्षदेखि त्रिपालमै छन्।

५ परिवारको २७ जना सदस्यमा ५ जनाले जडीबुटी औषधि बेच्ने काम गर्दै आएका थिए। जुन हाल भइरहेको निषेधाज्ञाले गर्दा बन्द छ। अहिले उनीहरूलाई बिहानबेलुका के खाने भन्ने समस्या नै ठूलो छ।

लामो समयदेखि हेटौंडालाई कर्मथलो बनाउँदै आएका उनीहरूले निषेधाज्ञाको केही दिनअघि भारत फर्किन नखोजेका पनि होइनन्, तर उनीहरूले जाने साधन पाएनन्। दिनभर जडीबुटी औषधि बेचेर आएको पैसाले बेलुका चामल किनेर ल्याउने उनीहरूलाई अहिले खाना खान निकै समस्या छ।

उनीहरूलाई जस्तै हेटौंडा ४ कर्राकी मैरुन खातुनलाई पनि आज खाए भोलि के खाने भन्ने समस्या नै पिरोलिरहेको छ। उनलाई बस्न छ त त छ तर खान चामल छैन।

होटलको लुगा धोएर आफ्नो दैनिकी टार्दै आएकी उनलाई निषेधाज्ञा अघिदेखि नै होटलहरू बन्द भएपछि समस्या भएको छ। घरमा २ छोराछोरी छन्, कमाउने उनी मात्रै हुन्। बन्दले काम रोकिएपछि उनले छरछिमेक र आफन्तसँग मागेर १० हजार ऋण बोकिसकिन्।

होटलको एउटा तन्दा धोएबापत २० रुपैयाँका दरले मासिक ५ देखि ७ हजार कमाउने उनले पछिल्लो २ महिनामै १० हजार ऋण बोकिसकिन्। 'अब त माग्ने र सापटी माग्ने ठाउँ पनि छैन। कोसँग मागेर छोराछोरीलाई खुवाउनू? उनले प्रश्न गरिन्।

गत वर्षको लकडाउनमा राहतस्वरुप खाद्यान्न सहयोग गरेको स्थानीय सरकारले यस वर्ष पनि सहयोग गरे केही समयलाई छोराछोरीलाई पेटभरि खान दिन पाइने उनी बताउँछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.