|

काठमाडौं : सरकारले ताप्लेजुङको  सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। 

विघटित प्रतिनिधि सभामा ताप्लेजुङबाट सांसद बनेका भट्टराईले नाम नलिई आपत्ति जनाएका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ। यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले बजेट वक्तब्य सार्वजनिक भएलगत्तै सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा आपत्ति जनाएका थिए।  

‘ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम पो परिवर्तन गरेर रवीन्द्र अधिकारी विमानस्थल राखिएछ। कसरी, कहाँबाट कसलाई, के खाँदा आउँछ हौ यस्तो करोडौंको ठट्टा गर्ने (कु)बुद्धि ! मेरो आदर्श मेरो आस्था मेरो विश्वास मध्येको एक स्व रवीन्द्र अधिकारी प्रति सम्मान होइन अपमान हो,’ गुरागाईंले लेखेका छन्। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने घोषणा गरेका थिए। 

२०७५ साल फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकोप्टर दुर्घटनाग्रस्त भई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.