स्लोभाकिया र पोल्याण्ड तथा स्कटल्याण्ड र चेक पनि भिड्दै

|

काठमाडाैं : १६ औं संस्करणको युरो कप फुटबलमा अर्को दाबेदार स्पेनले आज स्वीडेनको सामना गर्दैछ।

खेल स्पेनको सेभिल्लास्थित स्टेडियो डिले कार्टुजा मैदानमा मध्यराति पौने १ बजे सुरु हुने छ। युरोकपको इतिहासमा सर्वाधिक सफल मानिएको स्पेन स्वीडेनमाथि पुरानै दबाब कायम राख्ने धुनमा छ।

अल्भारो मोरार्टा , जोर्डी अल्बा र सर्जियो ब्यासक्बेट, कोके, थियागो, फरान टोरेसलगायत खेलाडीले भरिएको स्पेन फर्ममा छ। फिलिप ह्यालेण्डर, केन सेमा, एलेकजेन्डर इसकलगायत खेलाडी रहेको स्वीडेनलाई पनि कम आँक्न मिल्दैन।

फिफा वरीयतामा छैटौँ स्थानमा रहेको स्पेनले ३ पटक युरोकप जितिसक्दा १ पटक विश्वकपको पनि ताज पहिरिसकेको छ। स्वीडेन र स्पेनबीच अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले ६ खेलमा बाजी मार्दा ३ खेल स्वीडेनको पक्षमा छ। ५ खेल बराबरीमा सकिएको छ।

युरोकपअन्तर्गतका प्रतिस्पर्धामा मात्र ५ पटक यी दुई टोली एक आपसमा भिडेका छन्। जसमा ३ पटक स्पेनले जित्दा १ पटक स्वीडेनले जित हासिल गरेको छ भने एक खेल बराबरी भएको छ।

समूह 'ई'मा स्पेन र स्वीडेनसँगै स्लोभाकिया र पोल्याण्ड पनि रहेका छन्। यी दुई टोलीबीच पनि आजै राति पौने १० बजे खेल हुनेछ। यो खेल रसियाको क्रेष्टोभिस्काई रंगशालामा हुनेछ।

यी दुई टोलीबीच ८ पटक प्रतिस्पर्धा हुँदा स्लोभाकियाले ४ खेलमा जित निकालेको छ। ३ खेल पोल्याण्डले जित्दा एक खेल बराबरी भएको छ। विश्व वरीयतामा पोल्याण्ड २१ औं  र स्लोभाकिया  ३६ औँ स्थानमा छन्।

यसअघि आजै हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। समूह ’डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ पौने ७ बजे स्कटल्याण्डको ग्लासगोस्थित हामडेन पार्कमा हुनेछ।

घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै विजयी सुरुवात गर्न चाहन्छ। तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन। चेक रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ।

चेक ४० औँ स्थानमा रहदा स्कटल्याण्ड ४४ औँ स्थानमा छ। स्कटल्याण्ड २५ वर्षपछि पहिलो पटक युरोकपमा छनोट भएको छ। उसले सन् १९९६ मा युरोकप खेलेको थियो।

चेक र स्कटल्याण्डबीच ९ प्रतिस्पर्धा भएकोमा दुबैले ४–४ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ। यो समूह 'डी'मा इंग्ल्याण्डले  क्रोयसियालाई १-० ले हराएर समूहमा ३ अंक बटुलिसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.