|

हेटौंडा : करिव २२ वर्षदेखि तुइन चढ्दै आएका मकवानपुरगढीबासी अहिले सपनाबाट ब्युँझिएजस्तै भएका छन्। 

६ वर्षदेखि देखेको सपना बाढीले पुल बगाएपछि उनीहरू निराश मात्र हाेइन, विरक्तिएका छन्। तर बाढीले बगाएको यो पुल बनिसकेको थिएन। 

बागमती प्रदेश राजधानी हेटौंडाबाट केही किलोमिटरको मात्रै दूरीमा मात्र छ मकवानपुरगढी गाउँपालिका। तर यहाँका बासिन्दा अझै पनि खोला वारपार गर्न तुइनमा झुण्डिनुपर्ने सकस हटेको छैन। 

गाउँपालिका–३ र ५ जोड्ने पुल नबन्दा यहाँ बासिन्दालाई खोला तर्न सकसपूर्ण तुइनको यात्रा गर्नुपर्ने बाध्यता छ। बन्दै गएको पुल पनि बाढीले लगेपछि उनीहरू झन् चिन्तित बनेका छन्।  

करिब २२ वर्षअघि खोला तर्न गाउँमा तुइन हालिएको थियो। ठूलै कठिनाईका साथ खोला तर्नुपर्ने बाध्यता केही हदसम्म तुइनले हट्दा खुसी भएका गढीका बासिन्दा गाउँमा पुल बन्ने सपनाले फुरुङ्ग थिए।

जोखिमपुर्ण तुइनको यात्रा छोडेर पुलमा चढ्न पाउने सपना सजाएका उनीहरूलाई बिहीबार रातिको बाढीले नमज्जाले झुक्यायो। बिहीबार राति परेको अविरल वर्षासँगै आएको बाढीले निर्माणाधीन पुल बगाएपछि उनीहरू फेरि तुइनकै भर पर्न विवश भएका हुन्। 

‘अब त गाउँमा पुल बन्ने भयो। यो डोरीलाई तानेर तुइन चढ्नु पर्दैन होला भनेको तर बाढीले पुल बगाइहाल्यो। यत्रो वर्षसम्म नबनेको पुन अब झन् कैले बनाउलान् र चढ्नु? ’५९ वर्षीय टंक बहादुर पौडेलले भने। डेरी जान दूधको क्यान बोकेर तुइनबाट झर्दै गरेका पौडेलले बुढेसकालमा तुइनको तार तान्न सकस पर्ने गरेको सुनाए।

'तुइनमा यात्रा गर्दा गाउँको धेरैले ज्यान जोखिममा पारेका छन्। तर यसको व्यवस्थापन हुन सकेन,' उनले दुःख सुनाए। वर्षौंको प्रतीक्षापछि बन्न लागेको पुल बगेपछि फेरि पुल नबन्ने भन्दै उनले आशा पनि मारे।

‘कति वर्षको पर्खाइपछि बल्ल बल्ल पुल बन्दै थियो। ब तुइनबाट लडेर कोही घाइते हुँदैनन् भनेर खुसी थियौं हामी। तर समयमा पुल नबन्दिदा खोलाले बगाएर लग्दियो,’ उनले दुःख बिसाए। 

गाउँपालिकाका वडा नम्बर-३ बासी खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, दूध बिक्री गर्न र उपचारका लागि ५ नम्बर वडा आउनुपर्ने बाध्यता छ। हिउँद होस् या बर्खा, बालबालिका हुन् या वृद्ध जोकोहीलाई तुइन नचढी हुँदैन।

करिब ३ वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित भने पनि अहिलेसम्म मकवानपुरगढीबासी यसैमा झुण्डिरहेका छन्। 

‘कि जानी जानी खोलामा हाम फाल्न जानुपर्‍यो कि डराएरै भए पनि जोखिमपुर्ण तुइनको यात्रा गर्नुपर्‍यो, अरु विकल्प छैन,’ गाउँपालिका–५ निवासी विष्णु दंगालले भने।

सरकारले तुइन विस्थापित भएको घोषणा गरेको समाचार तुइनमै चढेर सुनेको भन्दै दंगालले दुःखेसो पोखे। ‘हाम्रो दैनिकी तुइन नचढी बित्दैन। सबै काम गर्न अर्को वडा जानै पर्छ। खोला साने भएको बेलामा त खोला नै पनि तर्छौं तर बाढी आएको बेलामा भने तुइन नचढी सुख छैन,’ दंगालले थपे।

गाउँमा पुल नबन्दा सबैलाई सकस परेको भए पनि स्कुले बालबालिका र वृद्धहरूलाई धेरै समस्या हुने गरेको छ। उनीहरूले‍ तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तुइन तार्न कोही न कोही साथी आउनैपर्ने बाध्यता रहेको दंगाल बताउँछन्।

तुइनबाट लडेर गाउँका धेरै घाइते भएका र केही समयअघि मात्रै एक जनाको ढाँड भाँचिएको उनले सुनाए। तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुग्दा र आत्तिँदा धेरै जना तुइनबाट लड्ने गरेका दंगाल बताउँछन्। 

तुइन व्यवस्थापन गर्न ६ वर्षअघि गाउँमा एकैपटक दुई वटा पुलको योजना परेको उनी बताउँछन्। दंगालले भने, ‘हामीले कति प्रयास गर्दा पनि नपरेको पुलको योजना पाँच वर्षअघि एकै पटक दुई वटा पर्‍यो। एउटा झोलुंगे पुल अर्को पक्की पुल। हामीले झोलुंगे पुल पर्दैन पक्की बनाइएदिनू भनेर पक्की पुल रोज्यौं। तर अहिलेसम्म बनेन, बनेको केही अंश पनि खोलाले बगाएर लग्यो।’

समयमा पुल नबनाइदिँदा तुइनको यात्रा अझै लम्बिएको उनको गुनासो छ। सम्झौताअनुसार निर्माण भएको भए अहिले पुल बनिसक्ने र नबगाउने उनको भनाइ छ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले गाउँपालिकाबासी तुइनबाट कष्टकर यात्रा गर्न बाध्य रहेका सुनाए। उनले ६ वर्षअघि संघीय सरकारले निर्माण सुरु गरेको पक्की पुल समयमा नबन्दा गाउँपालिका बासीको तुइनको यात्रा अझै लम्बिएको दुखेसो गरे।

हुमागाईंका अनुसार संघीय सरकारले पाँच करोड ३७ लाखमा निर्माण सम्पन्न गर्नेगरी ६ वर्षअघि नागार्जुन निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। तर अनेक बहाना बनाउँदै उसले समयमा पुल बनाउन सकेन। त्यै पनि बाढीले लग्यो। 

स्थानीय तहले चाहेर पनि तुइन विस्थापनमा केही गर्न नसकेको हुमागाईंले गुनासो गरे। ‘खेतीपाती गर्न, दूध डेरी लैजान, विद्यालय जान, अस्पताल जान या भारी वारपार गर्न जेका लागि तुइन चढ्नुपर्ने बाध्यता छ', अध्यक्ष हुमागाईंले भने।

अब एक वर्षभित्र पुल निर्माण सक्न दबाब दिने उनले बताए। पुल निर्माण गर्न नसक्ने भए यसलाई खारेज गरेर नयाँ सम्झौता गर्नुपर्ने उनको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.