|

काठमाडौं : सम्भवत जारी युरो २०२० मा दुःख र खुसीका आँसु डेनमार्कले भोगेको छ।

नसोचेको दुर्घटना (एरिक्सन हार्टअट्याक) बाट उठेपछि डेनमार्क अहिले युरो २०२० को मैदानमा उनकै आदर्शमा दौडिरहेको छ। साँचिक्कै अद्वितीय यात्रामा रहेको डेनमार्क १९९२ पछि पुनः अर्को 'फेरी टेल' निरन्तर रचिरहेको छ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नवप्रवेशी फिन्ल्यान्डलाई सहजै हराउने अनुमान थियो। तर कथा त्यस्तो रहेन। फिनल्यान्डविरुद्ध डेनमार्क प्रतियोगितामा घरेलु दर्शकमाझ खेलिरहेको थियो। ४१ औ मिनेटमात्र के पूरा भयो एरिक्सन मैदानमै ढले। त्यसपछिका करिब दुई घन्टा विश्व फुटबल समर्थकका लागि संशयपूर्ण रह्यो।

हर्टअट्याकका कारण मैदानमा ढलेका एरिक्सनलाई अक्सिजनको सहायतामा अस्पताल पुर्‍याइयो। त्यो बीचमा डेनिस खेलाडी र मैदानमा उपस्थित दर्शकका आँखामा आँसु थामिएनन्।

करिब २ घन्टापछि एरिक्सन होसमा आएसँगै डेनमार्कले फिनल्यान्डविरुद्ध बाँकी खेल खेल्ने निर्णय गर्‍यो। तर उसले स्टार एरिक्सनलाई मैदानबाट गुमायो। यता खेलपनि १-० ले गुमायो। दोस्रो खेलमा पनि बेल्जियमसँग पराजित भएपछि उसको अघिल्लो चरण सम्भावना निकै कमजोर भयो। हुन पनि यसअघि सुरुआती दुई खेल गुमाएर दोस्रो चरण पुगेको टिम सायदै थिए। तर डेनमार्कले त्यस्तो समीकरणबाट अघिल्लो यात्रा तय गर्‍यो जुन असम्भव जस्तै लाग्छ।

रुसलाई फराकिलो अन्तरले(४-१) हराएसँगै टिम नकआउट चरण पुगेको थियो। उसले समूह चरणमा मात्र ३ अंक जोड्यो। फराकिल‍ो गोलअन्तर र अन्य टिमको हारले डेनमार्क अन्तिम १६ मा तानिकएको थियो। भाग्यले मीठो साथ दियो। त्यसयता उसले नकआउट हुँदै सेमिफाइनल सम्मको यात्रा तय गरेको छ। अन्तिम १६ मा त उसले गारेथ बेलको टिम वेल्समा ४-० को लज्जास्पद हार चखाउन सफल भयो। डेनमार्कले हरेक खेलमा एरिक्सनलाई सम्झिएको छ। अहिले डेनमार्कको जितलाई प्रिय एरिक्सनको आदर्शका रुपमा अर्थ्याउन थालिएको छ।

प्रशिक्षक कास्पर हिजुलमन्ड भन्छन्, ‘हामी प्रत्येकपल्ट एरिक्सनका लागि खेलिरहेका छौं । उनको सासमा दौडिरहेका छौं। अझै अगाडिको यात्रा हाम्रा लागि थप विशेष हुनेछन्।'

चेक गणतन्त्रलाई हराएर डेनमार्कले सेमिफाइनल यात्रा तय गर्‍यो। पहिलो खेलमै हृदयघातका कारण प्रमुख खेलाडी एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसयताका खेलमा आफूलाई अझ बलियो साबित गरेको छ। 

अन्तिम १६ मा प्रभावशाली मानिएको वेल्सलाई पन्छाएर आत्माविश्वासी बनेको डेनमार्क चेकको चुनौती पन्छाएसँगै अब इंग्लिस भूमिमा इंग्लिस टिमसँग अर्को इतिहासका लागि प्रतिस्पर्धामा हुनेछ।

बुधबार वेम्बलीमा इंग्ल्यान्डविरुद्ध उत्रँदै गर्दा पुनः एक पटक संसारलाई आफ्नो छवि देखाउने उसको लक्ष्य हुने छ। उक्त खेलको नतिजा कस्तो होला त्यो भन्न सकिन्न। तर यो भन्न सकिन्छ कि डेनमार्कले जसरी यहाँसम्मको यात्रा तय गरेको छ, त्यो चानचुने होइन। त्यसैले फेरि एकपटक डेनमार्क 'फेरी टेल' बनेमा नौलो मान्नु पर्नै छैन।

डेनमार्कको इतिहास पनि यस्तै असम्भवबीच सम्भव भएका कथाले भरिएको छ। युरो १९९२ मा त्यस्तै सनसनीपूर्ण प्रवेससँगै उपाधि जितेको थियो। डेनमार्क प्रतियोगिताको अन्तिम चरण अर्थात् युरोका लागि छनोट भएको थिएन, तर युगोस्लाभियालाई प्रतियोगिताबाट हटाइएपछि डेनमार्कले खेल्न अवसर पाएको थियो।

त्यो समयमा डेनमार्कले अवसर मात्र पाएन आफ्नो बलियो 'भाग्य' का कारण उपाधिनै उचालेको थियो। त्यसैले यो पटक पनि डेनमार्क मरेर बाँचेका एरिक्सनका लागि युरो ट्रफी गिफ्ट दिन चाहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.