|

धनकुटा : धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने सीमान्तकृत अल्पसंख्यक समुदाय आठपहरिया जातिको संस्कृति जगेर्ना गर्न संग्रहालय बनाउन थालिएको छ।

आठपहरिया जातिको विशेष पूजा गरिने बिहीबारे हाटस्थलमा संग्रहालय बनाउन लागिएको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए।

धनकुटालाई चिनाउने फरक मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति, भेषभूषाको संरक्षणका लागि संग्रहालयको महत्व रहने उनको भनाइ छ। संग्रहालयका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। आदिवासी जनजातिमा सूचीकृत हुनुपर्ने अडान राख्दै आएका आठपहरिया जातिको धनकुटा नगरक्षेत्रमा करिब ६ हजार जनसंख्या छ।

नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ जाति हो। आठपहरीयाहरु धनकुटा नगरपालिकाको भूमि पूत्र भन्न रुचाउँछन। सीमान्कृत अवस्थामा रहेको यस जातिको वसोवास मख्यतः धनकुटा नगरपालिकामा मात्रै पाइन्छ।

२०५८ को जनगणनामा यिनीहरूको जाति आठपहरिया राई उल्लेख गरिएको थियो भने २०६८ को जनगणनामा यिनीहरूको जातिको नाम आठपहरिया मात्रै उल्लेख गरिएको छ। पुरुषले लगाउने र महिलाले लगाउने भेषभूषाहरुले पनि मौलिक विशेषता बोकेका छन्। खास गरेर महिलाहरुले लगाउने पहिरन र गहना विशेष प्रकारका छन् तर बढ्दो आधुनिकीकरणले यी मौलिक वेशभूषाहरु हराइसकेका छन्।

वेशभूषाहरु संकटमा परेको गुनासो आएपछि धनकुटा नगरपालिकाले आठपहरिया वेशभूषा सिलाइ प्रशिक्षण सुरु गरेको धनकुटा नगर प्रमुख चिन्तन तामाङले बताए। यिनीहरू आफ्नै प्रकारका चाडपर्वहरु मनाउँछन र आफ्नै देवी देवताको आरधना गर्छन्।

होमस्टे पनि सञ्चालन गरिने

धनकुटामा आठपहरिया जातिको मुख्य बसोबास रहेका स्थानमा होमस्टे (घरबास) समेत सञ्चालन गरिने तयारी गरिएको छ। धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत किराँत आठपहरीया समुदायले पहिलोपटक होमस्टे सञ्चालन गर्न लागेका हुन्।

होमस्टे सञ्चालन गर्नको तालिम लिएका सो समुदायले धनकुटा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। होमस्टे सञ्चालन गर्न नगरका १० वडाका ३० जना तालिम प्राप्त जनशक्ति रहेको स्थानीय दिनेश आठपहरियाले बताए। जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरि पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइ अनुसारको खानपान व्यवस्थापन गरिने भएको छ।

व्यावसायिक रुपमा रहेका होटल भन्दा भिन्न हुने होमस्टेसँगै आठपहरीया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आर्कषण केन्द्र बनाइने आठपहरीया समाज केन्द्रीय समिति अध्यक्ष सरमाया आठपहरीयाले बताइन। आठपहरीया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन ग्रिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको अध्यक्ष आठपहरीयाको भनाइ छ।

नेपालको पृथक जातिको रुपमा आठपहरीया होमस्टे आठपहरिया मौलिक सांस्कृति विश्वभरका पर्यटकलाई आकर्षणको केन्द्रको रुपमा रहने संस्थाको विश्वास रहेको छ। नेपालमा मनाइने प्राय सबै चाड मनाउने आठपहरीयाको छुट्टै तीन चाड वैशाखे, भदौरे र मंसिरे चाडमा पूजा हुने मार्गाथानीसँगै होमस्टे विशेष आकर्षण हुने आठपहरिया समाजका केन्द्रीय समितिका महासचिव आठपरीयाले बताए।

तत्काल धनकुटा नगरपालिकाको वडा नं. ५ सँगै वडा नं. ८ को स्वारिफा, टम्मुवा, पिग्मेरीमा होमस्टे संचालन गर्ने तयारी रहेको आठपहरीया होमस्टे संचालक समितिका संयोजक कोमल किम्दाङ आठपहरीयाले बताए। धनकुटा नगर क्षेत्रमा मात्र बसोबास रहेको आठपहरीया जातिको १४ सय घरधुरी र करिब ६ हजार जनसंख्या रहेको छ।

ऐतिहासिक मार्गाथान, ५२ चुलो, श्रीपञ्चमी, चुलीवनलगायत उक्त जातिको मुख्य बसोबास रहेका स्थानमा पाहुनालाई भ्रमण गराउने र मौलिक संस्कृतिले स्वागत गर्ने प्याकेज रहने होमस्टे सञ्चालक समितिका संयोजक किम्दाङले बताए। ‘संग्रहालय र होमस्टे सञ्चालन गर्न सकिए हाम्रो समुदायको संस्कृति आन्तरिक तथा बाह्य पर्यटकमा पुग्नेछ,’ उनले भने, ‘भेषभूषा, गरगहना तथा आवश्यक सामग्री संकलन कार्य थालिएको छ।’ होमस्टेका लागि ओक्लालुङ, पिग्मेरी, सान्ताङलगायतका क्षेत्रमा तयारी गरिएको छ।

आठपहरियाको ठूलो चाड वाडाङ्मी

आठपहरिया राईको आफ्नो प्रमुख चाड वाडाङ्मीलाई मान्छन्। आठपहरियाहरुको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रुपमा उकास्ने यो एक मात्र पर्व हो। यो चाडमा वर्षभरिमा मृत्यु हुनेहरुका परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराहक्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरेर बरखी फुकाउने अनौठो प्रचलन रहेको छ।

यो चाडमा बुबा वा आमाको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने र छोराछोरी मर्नेका बुबाआमा आएर पनि ती छोराछोरीको नाममा दसी बगाउने प्रचलन रहेको सुरेन्द्र आठपहरियाले बताए। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुला ठाउँमा बस्नुपर्छ। अरुले निर्माण गरेको पाटीपौवा तथा भवन प्रयोग गर्न नमिल्ने यो चाडमा बास बसेको ठाउँमा अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने गरिन्छ। बरखीको कार्यक्रम सम्पन्न गरी चौथो दिन घर फर्किएर नाचगान गरेर यो चाड मनाउने चलन रहेको छ।

यो चाडमा दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुभिन्डो र फिलुंगेको अचार, रक्सी र जाँड खाएर मनाइन्छ। कार्तिक पूर्णिमाबाट सुरु हुने यो चाड त्यसपछिको औँशीसम्म जारी रहन्छ।

अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचार प्रसार तथा संरक्षणमा सरकारले चासो नदेखाउँदा आठपहरिया जाति चिन्तित छन। यसको प्रचार प्रसार र संरक्षणमा सबै सरोकारवाला निकाय र सरकारी पक्षले चासो लिनुपर्नेमा अहिलेसम्म केही नगरेको आठपहरियाहरु दुखेसो गर्छन।

दशैँ, तिहार र छठपछि आउने यो पर्वमा राज्यले अन्य पर्वको जस्तो चासो नदिएको यस समुदायको गुनासो छ। तर, धनकुटा नगरपालिकाले भने धनकुटामा अल्पसंख्यकको रुपमा बसोबास गर्दै आएको यो जातिको कला, संस्कृतिको रक्षार्थ संग्रहालय र होमस्टेको योजना अघि सारेको बताउँदै आएको छ।

धनुषवाणले जितेर विवाह गर्ने चलन

आठपहरिया राईले बैशाख पूर्णिमामा रोटेपिङ, लिंगेपिङ खेलेर तथा कुल पितृको पूजा गरेर बैशाखी चाड मनाउँछन। यस चाडमा अविवाहित युवायुवतीले अनौठो प्रकारले विवाह गर्ने चलन रहेको छ। त्यहाँ राखिएको संकेतमा युवाले धनुषवाणले वाण हानेर लगाएमा बाजी जितेर बाजी हार्ने युवतीलाई विवाह गर्ने र पैसाको माला जित्ने परम्परा रहेको छ।

तीन दिनसम्म मनाइने यो चाडमा विशेषगरी महिलालाई राम्रो होस् भनेर घर तथा कोठेबारीमा पूजा गर्ने चलन रहेको हर्कबहादुर आठपहरियाले बताए।

यसैगरी असोजमा यो जातिले न्वागी चाड मनाउने गर्छन्। न्वागी चाडमा नयाँ बाली पितृ तथा कुललाई चढाउने चलन रहेको छ। यो चाड पनि तीन दिनसम्म मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.