|

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले कांग्रेस जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलन कार्यक्रममा साउदले पार्टीको सातौँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं परशुराम नगरपालिकाका नगरप्रमुख साउदले कांग्रेसको १४औँ महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

डडेल्धुरामा पछिल्लो समय नेपाली कांग्रेस तीन समूहमा विभाजन भएको छ। जिल्लामा रहेको पार्टीको गुटलाई एकताका लागि सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।

यसअघि जिल्ला सभापतिमा देउवा पक्षबाट मेयर साउदसहित पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल आकांक्षी रहेका थिए। तर, देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा परशुरामका नगरप्रमुख साउदको पक्षमा उभिएका थिए।

बूढानीलकण्ठमा भएको छलफलमा देउवा र जिल्लाका करिब एक दर्जन नेता कार्यकर्ताका बीचमा परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको थियो। बूढानीलकण्ठ छलफलमा सहभागी भट्ट र बोहोरालेसमेत साउदलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका थिए।

पूर्वसभापति भट्ट, कांग्रेस सचेतक बोहरा, जिल्ला कार्यसमिति सचिवद्वय लक्ष्मी अवस्थी र हेमराज चटौतलगायका अन्य जिल्लास्तरीय नेता कार्यकर्तामाझ साउदले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘अग्रज नेताहरूको साथ सहयोग र समर्थनमा मैले उम्मेदवारी दिएको छु। पार्टीको गुटलाई एकताका लागि पहल गर्छु। हामी मिलेर जान्छौँ,’ साउदले भने, ‘कांग्रेसलाई एक ढिक्का बनाउने प्रयासमा हामी सबै लागेका छौँ। सबैको सहमतिमा सभापति चयन गरिने छ। यदी सहमति नहुने अवस्था आए स्वच्छ प्रतिस्पर्धाबाट चुनाव हुनेछ।’

उम्मेदवारी घोषणासँगै नेता साउदलगायत नेता कार्यकर्ता अमरगढी नगरपालिका-११ वटै वडामा कार्यकर्ता भेटघाटमा जुटेका छन्। जिल्लामा देउवाबाहेक कांग्रेसको रामचन्द्र पौडेलको गुट भने छैन। देउवा गुटमै दुई उपगुट छन्।

जसमा एउटा गुटलाई आरजु देउवा राणाको समर्थन छ। जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्टका अलग उपगुट हुन्। रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजुको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्छन्। डडेल्धुरामा पार्टी सभापतिको लागि होडबाजी चलेको छ।

सभापति देउवाको गृहजिल्ला भएकोले पनि डडेल्धुरामा बेग्लै रौनक छाएको छ। डडेल्धुरामा देउवा र अर्को वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्लबीच प्रतिस्पर्धा हुने गरेको छ। देउवा र मल्लले महाधिवेशनको समयमा आफ्नो शक्ति प्रदर्शन गर्दै आएका छन्।

तर, पछिल्लो समयमा भने मल्ल हाबी भएको देखिन्छ। मल्लले देउवालाई रोक्दै दुई कार्यकाल जिल्ला सभापतिको नेतृत्व सम्हाली सकेका छन्। अब भने उनलाई जिल्ला सभापति बन्नका लागि पार्टी विधानले रोकेको छ।

मल्ल आउट भएसँगै डडेल्धुरामा अब नयाँ नेतृत्व आउने पक्का छ। देउवा पक्षबाट साउदले आधिकारीक उम्मेदवारी दिएपनि मल्ल पक्षबाट भने आधिकारीक रूपमा कसैले पनि उम्मेदवारी दिएका छैनन्। तर, मल्ल पक्षबाट वर्तमान उपसभापति करुणाकर भट्ट आकांक्षी रहेका छन्।

यस्तै गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, अमरगढी नगरपालिका घर भएका तारक बुढाऐर, नेपाल दलित संघको संस्थापक भरत नेपाली र अमरगढी नगरपालिकाका पूर्वमेयर मोहनराज पाठक पनि सभापतिको दौडमा रहेका छन्।

डडेल्धुरामा जन्मिएको तेस्रो धारको नेतृत्व तहमा रहेका हरि भट्ट पनि सभापतिको दौडमा छन्। उनी पेशाले अधिवक्ता हुन्। पूर्वसभापति रघुवर भट्टको गुट रहेको डडेल्धुरामा एकताको अभ्यास जारी रहेको बताएको छ। तर, दुबै समूह छुट्टाछुट्टै आ–आफ्नो पक्षधरका नेता कार्यकर्ता भेटघाट व्यस्त छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.