|

पर्वत : पर्वतको मोदी गाउँपालिकास्थित बाजुङ घर भई पर्वत सदरमुकाम कुश्मा बजारमा बस्दै आएकी शान्ता कुमारी थापाको गत वर्ष असार २६ गते उपचारको क्रममा छाउनी अस्पताल काठमाडाैंमा मृत्यु भयो।

उच्च रक्तचापको पीडा भोग्दै आएकी उनको मिर्गौलासमेत फेल भएपछि करिब एक वर्षसम्म श्रीमान् रामबहादुर थापाले पोखरा र काठमाडाैंका विभिन्न अस्पतालमा डुलाए।

जति नै प्रयास गरे पनि परिवारले उनलाई बचाउन सकेन। ५१ वर्षको उमेरमा मिर्गौला फेल भएर श्रीमतीको मृत्यु हुँदा श्रीमान् थापा विक्षिप्त थिए। काठमाडाैंमा शान्ताको डायलासिस चलिरहेका बेलामा उनले गृह जिल्ला पर्वतको पर्वत अस्पतालमा मिर्गौलाको डायलासिस सुरु गर्न लागिएको कुरा समाचारबाट थाहा पाए।

अब जिल्लाकै अस्पतालमा डायलासिस गराउन पाइनेभयो भन्ने रामबहादुरलाई लागेको थियो। 

२०७७ साउन २५ मा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत अस्पतालमा निःशुल्क डायलासिस सेवाको उद्घाटन गरे। श्रीमतीलाई जिल्लाकै अस्पतालमा ल्याएर उपचार गराउने रामबहादुरको सपना भने पूरा हुन पाएन। डायलासिसका उपकरण जडान र सेवामा रहने स्वास्थ्यकर्मीलाई तयार पारिसक्दा साउन महिना गुज्रनै लागेको थियो। जबकि शान्ताको मृत्यु असारमा नै भयो।

रामबहादुरलाई लाग्यो, आफ्नी श्रीमतीको डायलासिस जिल्लामा नै गराउन नपाए पनि जिल्लाका अरू बिरामीले भने जिल्लामा नै सेवा पाउन सकून्। डायलासिसकै लागि पोखरा र काठमाडाैं जान बाध्य भएका पर्वतेहरू सुलभ दरमा गृहजिल्लामै सेवा पाउनेमा उनलाई सहकार्य गर्न मन लाग्यो। 

बुधबार (आज) शान्ताको मृत्यु भएको वार्षिकी तिथि परेको छ। त्यही सन्दर्भमा श्रीमान्, छोराबुहारीहरू सन्तोष र पूर्णिमा तथा छोरीहरू सरिता र जेनिसाको सल्लाहमा शान्ताको दिवंगत आत्मालाई शान्ति दिने उपायको रूपमा पर्वत अस्पतालमा रहेको डायलासिस सेवालाई थोरै भए पनि आर्थिक सहयोग गर्ने निर्णय भयो।

बुधबार रामबहादुरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई २१ हजार एक सय ११ रुपैयाँ शान्ताको नाममा हस्तान्तरण गरे। अस्पताललाई सहयोग गर्दा उनी भावुक देखिन्थे।

उनले आफूलाई नेपाली सेनाको निवृत्तभरणको रूपमा आउने एक महिनाको रकम हस्तान्तरण गरेका हुन्।

‘जति उपचार गर्दा पनि शान्तालाई कम भएन, काठमाडाैंमा प्राण गयो। सामान्य आर्थिक अवस्थाको मान्छेलाई डायलासिसका लागि बाहिर लाँदा घरबासै हिँड्ने अवस्था छ। तर जिल्लाको अस्पतालले निःशुल्क डायलासिस गराइरहेको छ। यो हामी सबैका लागि कति खुसीको कुरा हो’, रामबहादुरले भने, ‘श्रीमती मिर्गौलाकै कारण गुमाउनुपरेपछि उनकै सम्झनामा थोरै भए पनि रकम सहयोग गरेको हुँ। यहाँका बिरामीले डायलासिस पाउँदा स्वर्गमा उनको मन हलुंगो होस्।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडीका अनुसार जिल्लामा एक वर्षको अवधिमा करिब ३० जना सेवाग्राहीले डायलासिसको सेवा निरन्तर रूपमा लिँदै आएका छन्।

पछिल्लो समय विभिन्न उत्सव तथा वर्षगाँठमा रमाइलो र भोजका लागि खर्च गर्नुभन्दा अस्पतालमा सहयोग गरे धेरैको ज्यान बाँच्न सक्ने र गरिब तथा असहायले पनि सेवा पाउने भन्दै दान गर्नेहरूको सङ्ख्या बढ्दै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.