रूखले पाइप थुनिँदा समस्या, जेसिभिको सहयोगले हटाइयो

|

सोलुखुम्बु : गार्मा र भित्ताखर्क जोड्ने सोलुखोलामा निर्माण गरिएको पुल (कलभर्ट) माथि पानी बगेको विषयमा सामाजिक सञ्जालमा दोहोरी चलेको छ। नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पासहितका टोलीले उक्त घटनामा बचाउ गरेका छन् भने कांग्रेस इतरले त्यसको व्यापक आलोचना गरेका छन्।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ गार्मा र भित्ताखर्क जोड्ने उक्त पुल (कलभर्ट) माथिबाट पानी बग्न थालेको फोटो सार्वजनिक भएपछि स्थानीयवासीले प्राविधिक डिजाइनमाथि पनि प्रश्न उठाएका छन्। बिहीबार उक्त पुलमाथिबाट सोलुखोलाको पानी बग्नथालेपछि सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै वीरउदार श्रेष्ठले निर्माण कम्पनी तथा स्थानीय सरकारको आलोचना गरेका छन्। उनीसँगै अन्य थुप्रैले सामाजिक सञ्जालमा आलोचना गरेका छन्।

बर्खायाममा पानीको सतह बढ्न सक्ने कुरालाई ध्यान नदिई डिजाइन गरिँदा पुलमाथि पानी बगेको स्थानीयवासीको आरोप छ।

आलोचकहरूलाई काउण्टर गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले वडा कार्यालय भवन डिभिजन ओखलढुंगाको लगानीमा निर्माण गरिएको पुलमा नगरपालिकाको ध्यानाकर्षण भएको समाजिक सञ्जालमा लेखेका छन्। उक्त पुल निर्माणको सम्पूर्ण डिजाइन तथा स्टिमेटसमेतको काम भवन डिभिजन कार्यालय ओखलढुंगाले गरेको भन्दै मेयर शेर्पा आलोचनाबाट पन्छिन खोजिएको स्थानीवासीको आरोप छ।

तर, भवन डिभिजन ओखलढुंगाले भने नगरपालिकाले नै डिजाइन तथा स्टिमेट गरेको भन्दै कार्यालयबाट जनश्रमदानसहित रु.५० लाख बजेट मात्रै व्यवस्था गरेको जनाएको छ।

कलभर्टमाथि पानी बग्नुको वास्तविकता

आफैँ पानीको सतह बढेर पुलमाथि पानी पुगेको अुनमान गरिए पनि यसको वास्ताविकता भने फरक रहेको छ। पक्ष विपक्षलाई दोहोरी खेल्ने आधार बनेको २४ घण्टा नबित्दै कल्भर्टमाथि बगेको पानीलाई निकास दिइएको छ। कल्भर्टमा प्रयोग गरिएको पाइपमा रूख अड्किँदा फ्लो नभएपछि उत्पन्न समस्या जेसिबीमर्फत समाधान गरिएको छ। 

कल्भर्ट निर्माणका लागि रु.१५ लाख बजेट विनियोजन गर्ने वडा नम्बर ७ का वडा अध्यक्ष लालमान श्रेष्ठले निर्माणाधीन हाइड्रोपावरले ठूला-ठूला रूख तथा काठहरु सोलु खोलामा फाल्दा खोला थुनिएको बताए। शुक्रबार जेसीबीले उक्त रूख हटाएपछि समस्या समाधान भएको उनको भनाइई छ।

यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले कल्भर्टमा प्रयोग गरिएका पेनस्टक पाइपका कारण रुख अड्किँदा डुबानमा परेको स्वीकार गरे। उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएर करिब ३ महिना अघि नगरपालिकाले जिम्मा लिएको कल्भर्टमा पुनः सोही समस्या दोहोरिए पेनस्टक पाइप निकाल्न सकिने विकल्प रहेको बताए।

सोलुदूधकुण्ड नगरपालिका-७ को १५ लाख र भवन डिभिजन कार्यालय ओखलढुंगाको ५० लाख लागतमा चार महिनाअघि उपभोक्ता समितिमार्फत उक्त मोटरेवल पुल (कल्भर्ट) निर्माण गरिएको नगरपालिकाले जनाएको छ । उक्त कल्भर्टको १४ मिटर लम्बाई र साढे ३ मिटर चौडाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.