|

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन्।

नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाइ छ।

आज (सोमबार) रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो। संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो। अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन्, बरु बढ्छ।’ उनले माधव नेपाललाई गिरिजा प्रसाद कोइरालासँग तुलना गरे। उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले माधव नेपाल समूहपनि ढिलो/चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए।

भने,‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ। अब धेरै ढिलो हुँदैन्। प्रधानमन्त्रीज्यू गठबन्धनमा आवद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ। यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो। त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहनुहुन्छ। राष्ट्रिय सरकार नै बनाउन चाहनुहुन्छ।’ मन्त्रिपरिषद् विस्तारबारे अहिले गृहकार्य भइरहेको उनको भनाइ छ। उनले भने, ‘कांग्रेस अरू दललाई बिच्काउन चाहँदैन। उहाँहरूलाई पूरै सन्तुष्ट गरेर नै अघि बढ्छौं। बरु, कांग्रेसले एक/दुई वटा मन्त्रालय नै कम लिन्छ।’

कांग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको सुनाए। उनले यो हप्ताभित्रै विवाद समाधान हुने दाबी गरे। महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर/पुषसम्म सम्पन्न गरिसक्ने पनि सुनाए।

उनले प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको पछिल्लो समय हाइट बढेको र बिपीको स्थानमा पुग्नसक्ने पनि सुनाए। उनले भने, ‘अहिले प्रधानमन्त्रीज्यूप्रति जनताको सम्मान बढेको छ। उहाँको हाइट धेरै बढेको छ। उहाँ सबैले भरोसा गर्न योग्य व्यक्ति हो।’

प्रधानमन्त्री देउवा बन्नेबित्तिकै गच्छदारलाई उन्मुक्ति दिइएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि उनले स्पष्ट पारे। भने, ‘अदालतप्रति हामीले विश्वास गर्नुपर्छ।’ उनले पार्टी सभापति देउवाले कहिल्यै पनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे। भने, ‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नु हुँदैन। हामीले अदालतलाई विश्वास गर्नुपर्छ।’

उनले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुभवी र खारिएका नेता भएको पनि सुनाए। आफूहरूलाई नेतृत्वमाथि पूर्ण विश्वास र भरोसा रहेको पनि उनको भनाइ थियो। पार्टी सभापति देउवामा समन्वयकारी क्षमता भएको भन्दै उनले प्रशंसा गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.