हत्यामा संलग्नलाई प्रहरीले भगाएको पीडितको आरोप

|

जनकपुरधाम : महोत्तरीको सुजिता हत्या प्रकरणमा प्रहरीले सार्वजनिक गरेको अडियोले हत्यामा सुजिताको बुवाको संग्लनता पुष्टि हुने आधार पर्याप्त नभएको पीडित परिवारले दाबी गरेका छन्।

पीडित परिवारले आज महोत्तरी सदरमुकाम जलेश्वरमा पत्रकार सम्मेलन गर्दै महोत्तरी प्रहरी कुनै प्रभावमा परेर अनुसन्धान गलत दिशामा मोड्न खोजेको आरोप लगाएका छन्।

सुनिताले क्षणिक आवेशमा सुजिताका बुवा कामेश्वरले ‘जा मारिदे’ भनेको कुरालाई प्रहरीले आधार बनाउनु सरासर गलत भएको जिकिर गरिन्। उनले कुनै प्रलोभनमा परेर छानबिन अन्यत्र मोड्न खोजेको आरोप प्रहरीमाथि लगाइन्।

उनले हत्याका वास्तविक अपराधी सुजिताको ससुरा पतिराम ठाकुर, देउरानी रोमी ठाकुर, सासु रामसखी ठाकुर र ट्रयाक्टरचालक भोगी महतोहरूलाई प्रहरीले भगाएको आरोप पनि लगाइन्।

'हामीहरूले पेस गरेको अडियोका आधारमा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको तर कामेश्वरलाई अडियोकै आधारमा प्रहरीले कसरी दोषी प्रमाणित गर्न मिल्छ?' सुजिताका भाइ शिवमले प्रश्न गरे।  प्रहरीले बुवालाई जबरजस्ती फसाउन खोजेको आरोप उनले लगाए।

 ‘हामीले दाजु जितेन्द्र र सुजिताका देवर रूपेश ठाकुरबीच फोनमा भएको वार्तालापको रेकर्ड सुनाउँदा प्रहरीले उल्टै हप्काएर यसका आधारमा जाहेरी दर्ता गर्न नमिल्ने बताएको थियो,' शिवमले भने, 'तर त्यही मोबाइलमा भएको र 'एडिट' गरिएको फोन रेकर्डलाई आधार बनाएर बुवालाई दोषी देखाउन मिल्छ?’ कामेश्वर निर्दोष रहेको र खुल्लमखुल्ला घुमिरहेका अपराधीलाई भने प्रहरीले पक्राउ नगरेको गुनासो उनले गरे।

पीडित परिवारले प्रहरीमाथि आफ्नो विश्वास उठिसकेको र प्रहरीले सुजिताको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यविरुद्ध अदालतमा मुद्दा दायर गर्नुका साथै सडक आन्दोलन गर्ने बताए।

उनीहरूले कामेश्वर पाण्डेको कल रेकर्ड आएकोमा सुजिताको ससुरा पतिरामको पनि कल रेकर्ड आउनुपर्ने र फरार पतिरामलगायत उनको परिवारका अन्य सदस्य पक्राउ गर्न पनि माग गरे।

प्रहरीले घटनालाई डाइभर्ट गर्न खोजेको र महोत्तरीका प्रहरी प्रमुख एसपी आचार्यले आफ्नी दिवंगत छोरी सुजिताको चरित्र हत्याको प्रयास गरी अपराधीलाई उन्मुक्ति दिन मुद्दा कमजोर बनाएको आरोप पनि सुनिताको थियो। 

ज्वाइँ सुस्त मनस्थितिको भएकाले कमाउन नसक्ने र छोरीले छोराछोरीको पालनपोषण गर्न पटक पटक अंश मागेको पनि सुनिताले बताइन्। अलिकति घडेरी सुजिताका देवरको ससुरालीको नाममा सारेको कुरालाई लिएर आवाज उठाउँदा परिवारले सुजितासँग विवाद गरेको पनि उनले खुलाइन्। यसैलाई बहाना बनाएर पतिरामको परिवारले डेढ वर्षअघि आँखा फुट्ने गरी सुजितालाई कुटपिट गरेर तकियाले थिचेर मार्ने प्रयास गरेको आरोप सुनिताले लगाइन्। 

सुनिताले सुजिताको देवर रुपेश र सुजिताको बुवा कामेश्वरको फोन कुराकानीको रेकर्ड मात्र प्रहरीले सुनाएको तर ससुरा पतिराम, देवरानी रोमी लगायतको कुराकानीको रेकर्ड किन सुनाइएन भन्ने प्रश्न गरिन्। ससुरा र देवरानीको कल रेकर्ड सार्वजनिक गरे थप कुरा बाहिर आउने उनले दाबी गरिन्।

सुनिताको भनाइ थियो, ‘हामीले घटनाको ३ दिनपछि नै जेठ २० गते छोरीलाई मारेको र जेठ २३ गते नै इलाका प्रहरी पिपरामा खोजतलासको लागि निवेदन दिएकोमा एसपीले त्यसलाई महत्व दिएनन् र असार ४ मा जाहेरी नलिई असार ६ गते फेरि खोजतलासकै निवेदन दिन लगाएर आफ्नो गल्ति र लापरवाही एसपीले लुकाउन खोजेका छन्।’

असार १३ गते पहिलो पटक भएको शव उत्खननका क्रममा एसपीले मिडियालाई ससुरा पतिराम र ड्राइभर भोगी महतो आफ्नो सम्पर्कमै रहेको बताएका थिए। 'तर आजसम्म उनीहरूलाई किन पक्राउ गरिएको छैन? किन प्रहरीले उनीहरूको संरक्षण गरिरहेको छरु अब छोरीलाई न्याय दिलाउन सडकमा उत्रिन बाध्य भएका छौं,' आमा सुनिताले आक्रोशित हुँदै भनिन्।

सुजिता हत्याको घटनामा सुरुदेखि न्यायका लागि दबाब दिइरहेकी अभियन्ता गुन्जा रायले पत्रकार सम्मेलनमा यसअघि पनि महोत्तरीमा भएका विभिन्न घटनाको चर्चा गर्दै प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्ने गरेको आरोप लगाइन्।

उनले पछिल्लो पटक भएका केही घटनाको चर्चा गर्दै प्रहरी प्रशासनमाथिको विश्वास कमजोर बन्दै गएको बताइन्। उनले उदाहरण दिएका महोत्तरीका केही घटना जसमा प्रहरी अनुसन्धान फितलो देखिएको थियो, यस्ता छन्।

२०७८ जेठ २६ गते लोहारपट्टी–७ भ्रमरपुरा बस्ने ममता साहको पति लक्ष्मण साह र जेठाजु रामचन्द्र साहबीच कुल देवताका विषयमा झैझगडा हुँदा लक्ष्मणको मृत्यु भएकोमा जिल्ला प्रहरी कार्यालयले पूरक जाहेरी लिन नमानेको र महानगरीय प्रहरी वृत्त महाराजगन्जमा समेत बयान फेरेको गुन्जाले बताइन्। उनले २ लाख रूपैयाँ धरौटीमा मुख्य अपराधी रामचन्द्र जिल्ला अदालतबाट छुटेकाले पीडितलाई कानुनमाथि विश्वास उठेको बताइन्।

यसैगरि २०७७ माघ १० गते आफ्नै घरबाट झा दम्पती बेपत्ता भएको घटनामा समेत प्रहरीले घटना लुकाउन खोजेको उनको भनाइ थियो। केन्द्रीय अनुसन्धान ब्युरोको संलग्नतामा मात्र घटनाका दोषी पक्राउ परेको उनले जानकारी दिइन्।

भंगहाबाट ७ बालिका हराएको घटनामा जिल्ला प्रहरी कार्यालयको अनुसन्धान फितलो भएको गुन्जाको भनाइ थियो। उनले उक्त घटनाको पनि अनुसन्धान गर्न माग गरिन्। उनले आपराधिक घटनाका पीडितले न्याय नपाउँदा पीडकको मनोबल र दण्डहीनता बढेको आरोप लगाइन्।

‘सुजिताको हत्या भएको आशंकाबारे माइती पक्षले बारम्बार जिल्ला प्रहरीलाई अवगत गराएका थिए तर प्रहरीले न जाहेरी दर्ता गर्‍यो, न अनुसन्धानमा चासो देखायो,' यस घटनामा सुरुदेखि पीडितलाई न्याय दिलाउन अभियान चलाएका अर्का अभियन्ता सरोज रायले सोधे, 'पछि सामाजिक दबाब बढेपछि तथा डिआइजी, प्रदेशका मन्त्री र मधेसी आयोगलगायतले चासो देखाएपछि मात्र अनुसन्धान अघि बढ्यो। प्रदेश प्रहरीका कारण शव भेटिएको थियो। शव फेला परेको दिन डिआइजी घटना स्थलमा पुगे तर जिल्लाका एसपी आएनन् किन? प्रदेश प्रहरीको अनुसन्धानले एउटा दिशा लिन थालेपछि उक्त टोलीलाई ब्याक गरियो, किन?’

सरोजले हत्यामा सुजिताको बुवाको कुनै संलग्नता भए उनले पनि सजाय पाउनुपर्ने तर अन्य कुनै पनि कारणले अनुसन्धान गलत दिशामा नजाओस् र एक जना पनि निर्दोष घटनामा फस्न नहुने बताए। घटनाको सत्य, तथ्य र फरारहरू अविलम्ब पक्राउ हुनुपर्ने नत्र पीडित परिवारको आन्दोलनमा आफूहरू पनि सामेल हुने उनले बताए।

यसरी पत्ता लाग्यो हत्याको रहस्य

जेठ २० गतेका दिनदेखि मेरी छोरी तथा महोत्तरी, लोहारपट्टी–७ भ्रमरपुरा गाउँ बस्ने मुकेश ठाकुरको श्रीमती २७ वर्षीया सुजितादेवी ठाकुर आफ्नै घरबाट बेपत्ता भएको हुँदा खोजतलास गरी पाऊँ भन्ने बेहोराको निवेदन सुजिताकी आमा पाण्डेले असार ६ गते निवेदन दिएकी थिइन्। तर प्रहरीले सुरुमा खासै चासो नदेखाएको पीडित परिवारको आरोप छ।

महोत्तरी भमरपुराकी सुजिता ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन्। माइती पक्षले लामो समयदेखि बेपत्ता सुजितालाई दाइजोकै निहुँमा परिवारले हत्या गरेर शव गायब गरेको आरोप लगाउँदै आएको थियो। यद्यपि सुजिताका सासुससुराहरूले उनी अर्कै केटासँग भागेको बताउँदै आएको थियो।

सुजिताका बुवा कामेश्वरले बेपत्ता छोरीको हत्या भएको आशंका गर्दै खोजिदिन उजुरी गर्न जाँदा जिल्ला प्रहरी कार्यालयले दर्ता गर्नै नमानेको बताए। उनले भने, ‘प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला सेलमा निवेदन दिएर आएँ।’ प्रहरीले चासो लिएर अनुसन्धान नगरेको गुनासो उनले गरे।

यसैबीच वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका सुजिताका भाइ जितेन्द्रले सामाजिक सञ्जालमार्फत सुजिताको पतिको परिवारले नै दिदीको हत्या गरी खेतमा गाडेको आरोप लगाए। सुजिताका पाँच वर्षका छोराको एउटा भिडियो पनि सार्वजनिक भयो। भिडियोमा सुजिताका छोराले आमाको हत्या काका र हजुरबुवाले गरेको बताएका छन्।

प्रहरीले सुजिताको खोजतलासमा कुनै चासो नदिएपछि साउदीबाट नै भाइ जितेन्द्रले जनकपुरका चर्चित सामाजिक अभियन्ता सरोज रायसँग सहयोगका लागि गुहारेका थिए।

सरोज यसअघि साउदीमा मृत्युदण्ड सजाय सुनाइएका धनुषाका उमेश यादवलाई ब्लडमनि व्यवस्थापन गरी स्वदेश फर्काउन सफल भएका थिए।

सरोज घटनाबारे थप बुझ्न असार ११ गते सुजिताको माइती गाउँ रतौली पुगेका थिए। उनले सुजिताका बुवा कामेश्वर, आमा सुनिता र दुई भाइहरू आकाश र शिवमलाई भेटेर घटनाबारे जानकारी लिएका थिए।

त्यसपछि असार १२ गते अभियन्ता सरोजले प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटेर घटनाबारे ध्यानाकर्षण गराए। उनले यस घटनाको छानबिन माग गरेपछि प्रहरी पनि खोजतलास गर्न बाध्य भएको थियो। असार १२ गते केही प्रहरी आएर सुजिताको माइतीले बताए अनुसार उनको शव गाडेको ठाउँको निरीक्षण गरेका थिए।

घटनाबारे सुजिताका बुवा कामेश्वरले दिएको जानकारी उनकै भाषामा जस्ताको त्यस्तैः

​घटना जेठ २० गतेको हो। बिहान करिब ८ बजे सुजिताले मलाई फोन गरेर कस्तो घरमा बिहे गराइदिएको भनेर रिस पोखेकी थिइन्। फोनमा कुरा भइरहँदा पछाडिबाट झगडाको आवाज पनि आइराखेको थियो। केहीबेरपछि सुजिताको देवर रूपेश ठाकुरले पनि फोन गरेर मलाई तुरुन्त भमरपुरा आउन भन्यो।

म जाने तरखरमै थिएँ कि फेरि रूपेशको फोन आयो र उनले आउनु पर्दैन झगडा शान्त भयो भन्यो। त्यस दिन सुजितासँग भेट्न हामी कोही पनि गएनौं। भोलिपल्ट सुजिताको मोबाइलमा पटक पटक फोन गर्दा स्विच अफ भनिरह्यो। पछि देवर रूपेशको मोबाइलमा फोन गर्दा उनले उठाएनन्। आधा घण्टापछि रूपेशले आफैं फोन गरेर सुजिताले कोठामा ताल्चा लगाई घर छाडेर भागेको जानकारी दियो।

तर रातिसम्म पनि छोरीसँग कुरा नभएपछि अर्को दिन बिहान ८ बजे हामी बूढाबूढी (सुजिताका बुवा र आमा) सुजिताको घर भमरपुरा पुग्यौं। रतौलीबाट भमरपुरा मोटरबाट नजिकै भएकोले १० मिनेटमै पुग्यौं। सुजिताको कोठामा लागेको ताल्चा फोड्न लगाएँ। सुजिताका कपडादेखि सबै सामान यथावत थिए। दराजमा गरगहना पनि यथावत देखें अनि मलाई मनमा शंका जन्मिन थाल्यो। तर घरपक्षले सुजिता घर छोडेर अर्कै केटासँग भागेको मात्र लगातार भनिराखे।
१० वर्ष पहिला सुजिताको बिहे पतिराम ठाकुरको जेठा छोरा मुकेशसँग भएको थियो। यस अगाडि करिब १४र१५ महिना पहिले सुजितालाई ससुरा, सासू, श्रीमान् र देवर सबैजना मिलेर कुटपिट गर्दा सुजिताको आँखामा चोट लागेको थियो। जलेश्वर अस्पतालमा उपचार गराएपछि प्रहरीमा उनले निवेदनसमेत दिएकी थिइन्। पछि प्रहरीले श्रीमान् र देवरलाई आइन्दा कुटपिट नगर्ने लिखित सर्त गराएर छोडेको थियो।

सुजिताका बुवा कामेश्वर पाण्डे थप्छन्

त्यसैबीच सुजिताको चिनजान कतारमा कार्यरत पिपरा गाउँपालिका अलिपट्टी निवासी विजय मुखियासँग सामाजिक सञ्जाल मार्फत भएको थियो। बीचबीचमा विजयसँग सुजिताको कुराकानी फोनबाट भइरहन्थ्यो। ४/५ महिना पहिले मात्र विजय कतारबाट फर्केका थिए। सुजिता आफ्नो माइती आउँदा विजयसँग एकपल्ट भेटघाट पनि भएको थियो।

घटनाको एक दिन अगाडि मात्र सुजिता आफ्नी आमासँग किनमेल गर्न जनकपुर गएकी थिइन् तर घरमा कुनै पनि विवादबारे चर्चा गरिनन्।

बारम्बार घर पक्षले विजयसँग भागेको आरोप लगाएपछि सुजिताको बुवाले नै प्रहरीमा निवेदन दिएर विजयलाई पक्राउ गर्न लगाए तर दिनभरिको सोधपुछपछि उनलाई ७ दिनसम्म गाउँ नछोड्ने सर्तमा रिहा गरिएको थियो। त्यसपछि सुजिताको हत्या भएको कुरामा माइती पक्षको शंका झन् गहिरो हुन थालेको थियो।

घटना भएकै दिन सुजिताका ९ वर्षीया छोरी आँचल र ५ वर्षीय छोरा रौनक दुवैलाई घर पक्षले जनकपुर बस्दै आएका फुपू अन्जु ठाकुरकोमा पठाइदिएका थिए। अर्को दिन फेरि फर्काएर ल्याएका थिए। घटनाको केही दिनपछि रौनक रतौली आएका थिए।

सुजिताकी आमा सुनिता र छोरा रौनकले आपसमा कुरा गरेको एउटा भिडियो भाइ जितेन्द्रले सार्वजनिक गरे। जसमा रौनकले आमालाई मारेको, जीउमा टेप बाँधेर घाँटी रेटेको, शवलाई फ्रिजमा राखेको पोल खोलेका छन्। यो भिडियो जितेन्द्रले फेसबुकमा राखेपछि ससुराली पक्षमा चिसो पस्न सुरु भयो।

त्यसैबीच कसैले फोनबाट सुजिताका बुवालाई एउटा जानकारी दिएका थिए। सुजिताको घरपक्षले आफ्नो खेतमा ७/८ फिट गहिरो खाल्डो खनेको थियो, जसलाई अहिले माटोले पुरेर धानको बिउ छरेर छोपिएको छ। पछि खोजतलास गर्दा सुजिताको शव त्यहीँ गाडिएको फेला परेको थियो।

यता सुजिताका भाइ जितेन्द्रले लगातार सामाजिक सञ्जालमा सबै कुरा पोस्ट गरिराखेका थिए। जसबाट सुजिताको घरपक्ष त्रसित भइसकेको थियो। त्यसपछि सुजिताका ससुरा पतिरामले कुरा मिलाउन कामेश्वरलाई बारम्बार दबाब दिन थालेका थियो। 'जाने गइसक्यो, अब नाति–नातिनीको जीवन बनाउनुस्' भनेर कामेश्वरलाई फकाउन पतिरामले पटकपटक प्रयास गरेको सुजिताका बुवा बताउँछन्।

​यसो भइरहँदा जितेन्द्र र रूपेशबीच फोनमा कुराकानी पनि भयो। जसमा जितेन्द्रले दिदीको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ। त्यसैले शवलाई गाडेको ठाउँबाट निकाल्न रूपेशसँग अनुरोध गरेपछि रूपेशले यस्तो अवस्थामा शवलाई निकाले झन् बबाल हुन्छ भन्दै गरेको रेकर्ड गरेको अडियोमा सुन्न सकिन्छ।

दिदीको हत्या नै भएका प्रमाण भेटिन थालेपछि जितेन्द्रले साउदीबाटै बुवालाई दिदीका ससुरा पतिरामको कुनै दबाबमा नआई प्रहरीमा मुद्दा दर्ता गर्न बारम्बार भनेका थिए।

असार ७ गते माइती पक्ष जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन गए। तर एसपीले दर्ता गर्न मानेनन्, त्यसपछि उनीहरू महिला सेलमा निवेदन दिएर फर्के। जबकि एसपीलाई सबै प्रमाणबारे जानकारी गराउँदा पनि चासो दिएर अनुसन्धान नगरेको आरोप पीडित पक्षको छ।

सुजिता ठाकुरको हत्याका विषयमा मधेसी आयोगले समेत चासो लियो। आयोगका अध्यक्ष डा। विजयकुमार दत्तले आयोगमा दर्ता भएको उजुरीमाथि आवश्यक कानुनी कारवाही अगाडि बढाउन निर्देशन दिए।

अध्यक्ष दत्तले घटनाका विषयमा महोत्तरीका प्रहरी प्रमुखलाई टेलिफोन सम्पर्क गरी सत्यतथ्य छानबिन गरी दोषीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरे।
घटनालाई मधेसी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सहकार्य गरी अगाडि बढे। यसरी विभिन्न ठाउँबाट प्रहरीमाथि दबाब परेपछि र सुजिताको हत्या नै भएको प्रमाणहरू बाहिर आउन थालेपछि मात्र प्रहरीले बाध्य भएर असार १३ गते सुजिताको शव गाडिएको ठाउँको उत्खनन गरे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश बिष्टको कमान्डको प्रहरी टोलीले सुजिताको ससुरा पतिरामको घरदेखि करिब १ किलोमिटर दक्षिणस्थित धानको बीउ उम्रिएको खेतको उत्तर–पूर्व कुनामा ५ फिट लामो र साढ ३ फिट गहिराइमा नूनजस्तो पदार्थ र माटो लागेको तन्ना तथा पर्दाका कपडा भेटिएको, खाल्डोभित्र कुनै अंग नरही महिलाको कपालजस्तो देखिने वस्तु फेला परेको थियो। 

सो संकलन गरी मुचुल्का बनाएर थप परीक्षण गर्न केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइयो। यसका साथै सुजिताको बुवा कामेश्वर र आमा सुनिताको डिएनएको नमुना पनि परीक्षण गर्न रगत संकलन गरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.