ज्योतिलाई पाउन परिवारभित्रै कृष्णको संघर्ष

|

जनकपुरधाम : सप्तरीकी ज्योति पासवान आत्महत्या प्रकरणमा उनका प्रेमी २५ वर्षीय कृष्ण मिश्रविरुद्ध आज साउन २७ गते किटानी जाहेरी दर्ता गरिएको छ।

सप्तरी सुरुंगा नगरपालिका-७ पोखरियाकी ज्योतिका प्रेमी स्थानीय अखिलेश मिश्रका छोरा कृष्णविरुद्ध ज्योतिका बुवा प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा मंगलबार आत्महत्या दुरुत्साहन ज्यानसम्बन्धी शीर्षकमा जाहेरी दिएका हुन्।

उनको जाहेरी दर्ता भएको सप्तरी प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

ज्योतिका बुबा प्रमोदले दिएको जाहेरीमा कृष्णले ललाइफकाई छोरीलाई घरबाट लिएर गई यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ।

​जाहेरीमा कृष्णलाई मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बरबमोजिम दण्ड सजाय गरी क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ।

ज्योतिलाई गएको फागुन १० गते कृष्णले जनकपुरको एक मन्दिरमा लगी विवाह गरेका थिए। कृष्ण चार महिनासँगै बसेर जेठ ३० गते लहानको पुष्पाञ्जली लजमा ज्योतिलाई छाडी फरार थिए। 

पतिले छाडेपछि आमाबुबासँगै बस्दै आएकी ज्योतिले वियोगको पीडा सहन नसकी साउन २३ गते कृष्णको घरको भान्साकोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन्।

कथित उच्च जातका कृष्णले प्रेमजालमा पारेर चार महिना यौन शोषण गरी भागेका र त्यही पीडामा ज्योतिले आत्महत्या गरेकी परिवारजन तथा दलित अगुवाहरूको आरोप छ। 

यसरी भएको थियो घटना

सुरुंगा-७ पोखरियाका प्रमोद पासवानले कान्छी छोरी ज्योतिको विवाहका लागि विराटनगरका एक परिवारसँग कुरा चलाएका थिए।

विराटनगरबाट ८ फागुन २०७६ मा केटा पक्षहरू ज्योतिलाई हेर्न आए। छोरीलाई हेर्न आएकालाई पासवान परिवारले विभिन्न परिकारले स्वागत पनि गरे। ज्योतिलाई केटा पक्षले मन पनि पराए। अर्को पटक दुवै परिवार भेटेर विवाहको मिति टुंगो लगाउने सहमति गरेर पाहुनाहरू विराटनगर फर्किए।

तर त्यही दिन साँझतिर कृष्ण पासवानको घर आएर ज्योतिसँग आफूले विवाह गरिसकेको भन्दै दाबी गरे। ज्योतिका बुवा प्रमोदका अनुसार कृष्णले 'ज्योति मेरी श्रीमती हुन्' भने बबाल खडा गरेका थिए।

अनि ज्योतिका बाबुआमाले ज्योतिसँग यसबारे बुझेका पनि थिए। ज्योतिले पनि जनकपुरमा कृष्णसँग विवाह गरेको पनि स्विकारिन्। ‘अनि हामीले पनि ठिकै छ भनेर विवाह गरिदिने भयौं,’ प्रमोदले भने।

ब्राह्मण समुदायका कृष्ण आयल निगममा जागिरे हुन्। बुटवलमा कार्यरत उनले ज्योतिसँग विवाह गर्दा दाइजोको नाममा केही नलिने भनी कागज नै गरेका थिए। प्रमोदले भने, ‘उसले हाम्री छोरीलाई साँच्चै प्रेम गर्छ भन्ने लागेको थियो।’

तराई मधेसका जातीय व्यवस्थाअनुसार पासवान अर्थात् 'दुसाध' दलित समुदायभित्र पर्छन्। पछि कृष्णका परिवारले भने दलित केटीलाई कुनै हालतमा नस्विकार्ने बताए। 

परिवारले दलित युवतीसँग विवाह गर्न नदिएपछि फागुन १० गते 'ज्योति मेरी श्रीमती हो' भन्दै कृष्णले घर लिएर गए।  ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पत्ति नदिने भन्दै कागज गराउँदासमेत उनले हाँसी–हाँसी औंठाछाप लगाएका यस घटनालाई नजिकबाट नियाल्नेहरू बताउँछन्।

परिवारले नमानेपछि ज्योतिलाई लिएर कृष्णले गाउँ छाडे। सिन्दुर-मंगलसूत्र पहिरिएकी ज्योतिसँग खिचेका फोटोहरू कृष्णले फेसबुकमा पोष्ट पनि गरिरहे। प्रमोदले भने, ‘हामीले सोचेजस्तो विवाह गरिदिन नपाए पनि छोरीको दाम्पत्य जीवन सुखपूर्वक बितिरहेको देखेर खुसी नै भएका थियाैं।'

यसरी संकटमा परिन्, ज्योति

तर ज्योतिलाई छोडेर करिब पाँच महिनापछि कृष्ण एकाएक बेपत्ता भए। ज्योतिकी आमा इनरदेवीले भनिन्, ‘छोरी भनेअनुसार बस्नलाई अर्को कोठा खोजेर आउँछु भनेर ज्योतिलाई छाडेर हिँडेका थिए। तर एक सातासम्म कृष्ण नफर्केपछि ज्योतिले मलाई फोन गरेर आफू संकटमा परेको बताइन्। आफूलाई लहानको पुष्पाञ्जलि लजमा राखेको र लजवालाले पैसा मागेर हैरान पारिरहेको कुरा सुनाइन्।’

छोरीको फोन आइसकेपछि लगत्तै गाउँका केही व्यक्तिलाई लिएर प्रमोद लहान पुगे। प्रमोदले छोरीलाई होटलबाट इलाका प्रहरी कार्यालय पुर्‍याएर कानुनी सहायता मागे।

लहान प्रहरीले कृष्णविरुद्ध जबर्जस्ती करणी र शरीर बन्धक मुद्दा चलाउन सकिने सुझाव प्रमोदलाई दियो। प्रमोदले भने, ‘त्यही बेला मुद्दा दर्ता गर्न त प्रहरी तयार थियो, तर कृष्ण आउँछन् भन्दै छोरीले नै मुद्दा चलाउन मानिन।’ 

त्यसपछि प्रहरीले ज्योतिलाई बुवाकै जिम्मा लगाएर घर फर्काइदियो। त्यति बेला ज्योतिको  उमेर २० वर्ष पुग्न केही दिन बाँकी थियो।

डिप्रेसनकै कारण ज्योतिले ज्यान गुमाइन् !

कृष्ण आज आउने भोलि आउने प्रतीक्षामा दिन गन्दै आमाबुवासँगै बसेकी थिइन् ज्योति। आमा इनरदेवी भन्छिन्, 'कृष्ण अहिले आउलान्, भरे आउलान् भन्दै छट्पटाउने र रुने गरिरहन्थी। म सम्झाइरहन्थें, तर ऊ जति बेला पनि रुँदै बसेकी हुन्थी, रुन छाड्दैनथी।’

ज्योतिका आमाबुवाले घर नजिकै सानो होटेल खोलेर जीविकोपार्जन गर्दै आएकोमा साउन २३ गते सामान लिन बजार गएका थिए। पसलमा उनीहरूका जेठी छोरी आरती थिइन्। खाना पकाउन ज्योतिलाई जिम्मा दिइएको थियो। आरती खाना खान पसल बन्द गरेर घर जाँदा ज्योतिले सलको पासोमा झुण्डिएकी फेला परेको थियो। 

प्रमोदले भक्कानिँदै भने, ‘कृष्णले धोका दिएर भागेको चिन्तामा हाम्री छोरी ज्योतिले वियोग सहन नसकी प्राण त्यागिन्, हामीलाई न्याय चाहिएको छ।’

कृष्णविरुद्ध मंगलबार प्रहरीमा जाहेरी दिएको प्रमोदले बताए। ‘छोरीको मृत्युपछि के गर्ने, कसो गर्ने सोच्नै सकिनँ। न्यायका लागि आज प्रहरी कार्यालयमा उजुरी दिएका हौंं,' उनले भने, 'हेरौं न्याय पाउने आश छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.