|

काठमाडौं :  ‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ। कालीगण्डकी नदीको दोहन भइरहेको र अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेकाले त्यसको विरोधमा कविता लेखन आह्वान गरिएको हो।

नदीको सभ्यता नामेट पार्न खोजिएको विरोधमा लामो समयदेखि नदी बचाउ अभियान जारी छ। यसै सन्दर्भमा अभियानले कविहरूलाई ऐक्यवद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए।

'कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन। फगत कोरा शब्दहरूको सँगालो मात्रै पनि होइन। कविता आफैंमा जागरण पनि हो। कविता आफैंमा विद्रोह पनि हो‚' गिरीले भने, 'कविता आफैंमा नदी हो। निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न हामीले गरेका छौं।'

नदीमाथि खुलेआम धावा बोलिँदा कविले चुपचाप मौनता साँध्न नसक्ने गिरी बताउँछन्। 'कवि मन मुकदर्शक बस्न सक्दैन। त्यसैले कालीगण्डकी नदीको वैवध्य (धार्मिक, सांस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजीविका)लाई आम मानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको सङ्कट र पीडा/ विलाप र विद्रोहलाई कविता मार्फत मुखरित गर्न ‘कालीगण्डकी नदी सप्तक शृङ्खला’ (आन्दोलन कविता)का रुपमा आयोजना गर्ने जमर्को 'कालीगण्डकी बचाऔँ अभियान~ Save Kaligandaki'ले गरेको छ', उनले भने।

'नदी सप्तक' कविता शृङ्खलाका लागि आह्वान

कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र अस्था हो। मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहुँ आदि हुँदै बग्ने कालीगण्डकी नदी नेपालको पुराना सभ्यता मध्येको एक सभ्यता बोकेको नदी हो।

कालीगण्डकी हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, जीविका, सांस्कृतिक विस्तार, मनोरञ्जन, सुख दुःखको साझेदार नदी हो। दुर्लभ शालिग्राम पाइने विश्वकै एकमात्र यो नदीसँग हिन्दु धर्मावलम्बीका लागि अत्यन्तै ठूलो सांस्कृतिक महत्व रहेको छ। यो नदी क्षेत्र नित्य स्नानदेखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्ध गर्न अत्यन्तै पवित्र मानिन्छ।

किनारामा मुक्तिनाथदेखि देवघाटसम्मका दर्जनौं पवित्र धार्मिक स्थल छन्, जहाँको एक पटक दर्शन गर्न वा पूजापाठ गर्न हजारौं धर्मावलम्बी लालयित छन्। तिब्बतको सीमादेखि बग्दै आउने कालीगण्डकी केवल समुन्द्र छुनका लागि बग्दैन। आफू बग्दै गर्दा तल्लो तटीय क्षेत्रको पर्यावरणलाई सन्तुलित गर्ने, मध्यतराईलाई सुख्खा हुनबाट बचाउने, कालीगण्डकीमै आश्रय लिएर हजारौं वर्षदेखि बाँचिरहेका तटीय क्षेत्रका लाखौं जीवनलाई बाँच्न सहज बनाउने जिम्मेवारीसमेत बोकेर बग्दछ।

केही वर्षयता पर्यावरणीय सन्तुलन नै खलबलिने गरी नदीको तीव्र दोहन भइरहेको छ। सरकारले यसलाई नदेखे झैं त गरिरहेकै थियो, अब अझ नदीको पानी नै अर्कोतिर मोड्ने परियोजना अघि सारेको छ। सरकारलाई केवल सुरुङ खन्नु छ, पानीको प्राकृतिक बाटोलाई बिथोल्नु छ, पारिस्थितिक प्रणालीलाई बिगार्नु छ। कुनै वैज्ञानिक अध्ययन/अनुसन्धान बिना नै सुरु गरिएको प्रलयकारी कालीगण्डकी डाइभर्सन योजना र विगत केही दशकदेखि कालीगण्डकीको आँत र गर्भमा नै असर गर्ने गरी गरिएको गैरकानुनी दोहन यसैको परिणाम हो।

कालीगण्डकी डाइभर्सनद्वारा राखिएको सिचाइ एवं विद्युत उत्पादनको लक्ष्य स्थानीय पानीको श्रोतबाट समेत पूरा गर्न सकिने सुझाव विज्ञहरुले दिइरहँदा सरकारले डाइभर्सनकै ढिपी कस्नु कालीगण्डकीमाथिको कुदृष्टि बाहेक केही होइन। यो परियोजनाले कालीगण्डकीमा निर्भर जीवन, परियोजनास्थलभन्दा तल्लो क्षेत्रमा जमिनमुनिको पानीको भण्डारण रित्तिने, जैविक विविधतामा संकट ल्याउने र धार्मिक स्थलहरुलाई संकटमा पार्ने काम गर्छ। कालीगण्डकीको मर्म, आस्था र सभ्यतालाई जोगाउन, प्राकृतिक प्रणाली रक्षा गर्न र नदीलाई आफ्नै बाटोमा बग्न दिन अब कवि/लेखकले आफ्नो कलम मार्फत शासकलाई झक्झकाउनु पर्ने बेला आएको छ।

 यसकारण 'कालीगण्डकी संरक्षण अभियान'मा यहाँले कालीगण्डकीले ओगटेका विविध विषय शिर्षकमा आफ्नो छोटो कविता (१५ देखि २० लाइनको) मार्फत ऐक्यवद्धता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। प्राप्त कविता हाललाई डिजिटल कन्टेन(पोस्टर कविता)का रुपमा फेसबुकमा पोस्ट गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.