|

पर्सा  :  सातौं संविधान दिवसको अवसरमा वीरगन्ज कारागारमा कैदी जीवन बिताइरहेका मध्ये २४ जनाकाे बाँकी कैद मिनाहा भएकाे छ।

कैद मिनाहा हुनेहरूमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका कैदी रहेका हुन्। २४ जनामध्ये ७ जना कर्तव्य ज्यान मुद्दाका रहेको वीरगन्ज कारागारका जेलर कृष्ण गैह्रेले बताए। आगामी दिनमा समाजमा सुध्रिएर जीवनयापन गर्ने खालका २४ कैदीबन्दीलाई संविधान दिवसको अवसरमा आम माफी दिइएको उनको भनाइ छ।

उनीहरूलाई कारागार व्यवस्थापन विभागको सिफारिसमा राष्ट्रपति कार्यालयले आइतबार आममाफी दिएको हाे। कर्तव्य ज्यान मुद्दाका ७ सहित सवारी ज्यान मुद्दाका ५, चोरीका ४, ज्यान मास्ने उद्योगका २, डाँकाजनीका २, नकबजनी चोरीका २, ज्यानका १ र बहुविवाहका एक जना छन्।

कैद मिनाहा पाउनेमा कर्तव्य ज्यान मुद्दाका लालबहादुर साह तेली, षेश इमामुदिन, विनोद विक चितैने, जमुना माझी, अमरुलाह मिया, रोकैया खातुन र मिश्रीलाल राउत अहिर रहेका छन्। पहुँचका भरमा आममाफी दिने सरकारकाे रवैयाले स्थानीय भने त्रसित छन्। 

२०७४ असोज १३ गते वीरगन्ज कारागारबाट आममाफी पाएका कर्तव्य ज्यान मुद्दाका फुलहसन अंसारी पुन: अपराध गरी पक्राउ परेका छन्। ५६ प्रतिशत कैद मिनाहा गरी आममाफी पाएका उनले वीरगन्ज कारागारभित्रै एक कैदीको छुरी हानी हत्या गरेको थिए। 

विगतमा ४० प्रतिशत सजाय भुक्तान गरिसकेकाहरूलाई आममाफी दिने प्रावधान रहे पनि पछिल्लो समय त्यसलाई बढाएर ५० प्रतिशत सजाय भुक्तान गरेको हुनु पर्ने प्रावधान रहेको छ।

अन्सारी वीरगन्जको आदर्शनगरका राजेश क्यालको हत्या घटनामा अदालतले सर्वश्वसहित जन्मकैद तोकेको थियो। उनी त्योसहित बम विष्फोट, फोनमा धम्की फिरौती सांगठनिक अपराधलगायत एक दर्जन बढी घटनामा संलग्न रहेको पर्सा प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भएकाे छ।

यो पटक पनि कर्तव्य ज्यान मुद्दा, ज्यान मुद्दा र सवारी ज्यान मुद्दाका नै धेरै कैदीले आममाफी पाएकोमा स्थानीय त्रसित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.