|
सन् १९९९ को साफ फुटबलमा श्रीलंकालाई पराजित गरेको नेपाली टोली। फाइल तस्वीर

इलाम : जसले नेपालका लागि ३ वर्षमा ९ क्याप जिते र ६ गोल गरे। उनी थिए–नरेश जोशी। उनको अर्को परिचय साफको एक मात्र ह्याट्रिक गर्ने नेपाली खेलाडी। उनको त्यो ह्याट्रिक श्रीलंकाविरुद्ध थियो। र २२ वर्षसम्म पनि उनको त्यो रेकर्डलाई कुनै पनि नेपाली खेलाडीले तोड्न सकेका छैनन्। खेल नेपालले ३–० ले जितेको थियो।

त्यति मात्र नभएर त्यो जित श्रीलंकाविरुद्ध नेपालको पहिलो जितसमेत थियो। त्यसअघिका १० भेटमा श्रीलंकाले ५ जित र ५ बराबरीको नतिजा निकाल्न सफल भएको थियो।

सन् १९९९ को साफ अगाडि २४ वर्षे नरेशलाई नेपालबाहिर सायदै कसैले चिन्थे। तर, श्रीलंकाविरुद्धको प्रर्दशनले उनी एकाएक स्टार बने। सोही प्रदर्शनका आधारमा नेपाली फुटबलले सधैं उनलाई सम्झिरहन्छ। आज आफ्नो फेसबुक अकाउन्टमा नेपाली टोलीको तस्वीर राख्दै उनी त्यही पुरानो नोस्टाल्जियामा फर्किए।

श्रीलंका विरुद्धको त्यो ह्याट्रिक नेपालका लागि साफ च्याम्पियनसिपमा एक्लो ह्याट्रिक हो। चौथो मिनेटमा पहिलो गोल गरेका नरेशले ४१ र ८१ औं मिनेटमा नेपाली टोलीका लागि गोल गर्दै पहिलो ह्याट्रिककर्ताको छवि बनाए।

सन् १९९७ को काठमाडौंमा भएको साफमा डेब्यू गर्दा खेलको १२ मिनेटमै प्रशिक्षकले उनलाई मैदान बाहिर पठाएका थिए। गोवा साफको दौरान नरेश निकै लयमा देखिन्थे। परिपक्क खेलाडी जस्ता।

हिरोको जस्तो रुपरंग, डिफेन्स तोड्ने बेजोड क्षमता, सटिक पास र गोलका लागि सशक्त प्रहार उनका विशेषता थिए। सेमिफाइनलमा बंगलादेशसँग २–० ले पराजित भएपनि नरेशले श्रीलंकाविरुद्ध गरेको ह्याट्रिक नेपालका लागि सम्झन लायक रह्यो।

उनले भारतीय कप्तान भाइचुङ भुटिया, बंगलादेशी मिजानुर रहमान र माल्दिभ्सका मोहम्मद हुइलधनसँगै सर्वाधिक गोलकर्ताको रुपमा प्रतियोगिताको अन्त्य गरेका थिए।

‘खास केही भएन मैले ह्याट्रिक गरेको थिएँ तर, हामी सेमिफाइनलमा हार्‍यौं र स्वदेश फर्कियौं, भोटेबहालको लजमा बस्यौं र भोलिपल्ट घर फर्कियौं,’ नरेशले केही समयअघि सञ्चारमाध्यममा आफ्नो अनुभव सुनाएका थिए।

राष्ट्रिय टोलीमा ३ वर्षमात्र बिताएका नरेशले सन् २००० मा कुवेतमा भएको एसियन कपको छनोटपछि फुटबल छाडेर पलायन भए। एन्फा नेतृत्वसँगको असमझदारीका कारण ह्याट्रिक ब्वाई नरेशले फुटबल छाडेर पलायन भएको चर्चा चल्ने गर्छ।

अहिले जापानमा रहेका उनले नेपालको फुटबल हेर्न भने छाडेका छैनन्। उनी नेपाली फुटबल हेर्छन् र नेपाली टिमले गरेको प्रदर्शनमा सन्तोष मान्छन्। नरेशले छोरा केनलाई समेत फुटबलर बनाउने लक्ष्य राखेका छन्।

नेपालले साफ गेममा श्रीलंकाविरुद्ध जित निकालेको त्यो नै अन्तिम पटक थियो। त्यसपछि २०१५ को साफ गेममा समूह चरणको पहिलो खेलमा नै नेपाल हारेको थियो।

२२ वर्षपछि नेपाललाई जित निकाल्ने अवसर छ। श्रीलंका साग गेममा सहभागी सबैभन्दा कमजोर टोली मात्र नभएर वर्तमान फिफा वरीयताको अन्तिम स्थानमा रहेको टोली भएका कारण नेपाललाई जित निकाल्न केही सहज हुने अपेक्षा छ।

तर, ‘ह्याट्रिक ब्वाई’ नरेश श्रीलंकालाई कमजोर नआँक्न नेपाली खेलाडीलाई सुझाव दिन्छन्। ‘उनीहरूको खेल शैली राम्रो छ। ड्रिब्लिङ पनि राम्रै छ। त्यसमा पनि स्पिड खेल्छन्। त्यसैले सावधान भएर खेल्नु राम्रो हुनेछ,’ उनी भन्छन्।

यसअघिको पहिलो खेलमा बंगलादेशसँग साघुरो अन्तरले मात्र पराजय भोगेको श्रीलंकाले कडा टक्कर दिनसक्ने देखिन्छ।

श्रीलंका वरीयतामा निकै पछि रहे पनि त्यसले खेलमा फरक नपर्ने प्रशिक्षक अल–मुताइरीले बताएका छन्। उनले श्रीलंकाविरुद्ध खेल नेपालको लागि पहिलो खेल जस्तो हुने बताए।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंका विरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्वपूर्ण हुने बताए। प्रशिक्षक अल–मुताइरीको भनाइलाई साथ दिँदै किरणले पछिल्ला खेलको नतिजा बिर्सेर अघि बढ्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.