|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ। उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको वागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो।

अव्यवस्थित  सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्धनका लागि मानव सेवा आश्रम सञ्चालनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका तर्फबाट मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन्।

सडकपेटी एवं सार्वजनिक स्थलमा विभिन्न कारणबाट घरबारविहीन भएकालाई उद्धार गर्ने गरी सडक मानवरहित सहर बनाउने उद्देश्यले आश्रम बनाउन लागिएको हो। 

सम्झौतापछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘काठमाडौं जिल्लाभित्र अव्यवस्थित रूपमा खुला आकाशमुनि सडकपेटीमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश, शारीरिक तथा मानसिक रूपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त सडक मानवको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलन गराउन आश्रम निर्माण गर्न लागेका हौँ।’ 

उनले भने‚ ‘कोही भोको रहँदैन, भोकै कोही मर्नु पर्दैन’ भन्ने अभियानअन्तर्गत यो काम गरिरहेका छौँ। सबैको सहयोग भयो भने यो मानवीय उद्धारको कार्य सकारात्मक निष्कर्षमा पुग्छ।’ सो कार्यक्रमलाई सम्बोधन गर्दै नागार्जुन नगरपालिकाका प्रमुख बस्नेतले आफ्नै नगरपालिकामा भवन बन्ने कुराले उत्साहित भएको  बताए। 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाले यो आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ६ करोड छुट्याएको जानकारी दिए। सम्झौताअनुसारको भवन निर्माण कार्य २०७८ मा प्रारम्भ गरी २०८० मा सम्पन्न गर्नुपर्नेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.