झापा : प्रदेश १ सरकारको स्वामित्वमा रहेको झापाको एक मात्र ठूलो मेची अस्पताल लामो समयदेखि एम्बुलेन्सविहीन छ। कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र गतिमा फैलिरहेको बेला भद्रपुरस्थित अस्पतालको स्वामित्व एउटा पनि एम्बुलेन्स छैन।
करिब ९ महिनाअघि बिग्रिएको एम्बुलेन्स अस्पताल परिसरमा थन्काइएको छ। भारतीय राजदूतावासले सन् २००८ मा मेची अस्पताललाई मे १ झ ९१ नम्बरको (ग) वर्गको एम्बुलेन्स दिएको थियो। त्यसअघि संयुक्त राष्ट्र संघीय शरणार्थी निकाय (युएनएचसिआर)ले मे १ झ ६८ नम्बरको एम्बुलेन्स दिएको थियो।
युएनएचसिआरले दिएको एम्बुलेन्स काम नलाग्ने भएपछि भारतीय राजदूतावासले नयाँ एम्बुलेन्स दिएको थियो। ती दुवै एम्बुलेन्स बिग्रिएपछि एकै ठाउँमा थन्काइएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए। उनले नयाँ एम्बुलेन्स मागका लागि प्रदेश १ सरकारलाई पत्राचार गरिसकेको बताए।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार ५० शय्या भन्दामाथि वा प्रादेशिक अस्पतालले कम्तीमा (क) वर्गको एउटा र (ख) वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ। तर, मेचीमा (क) र (ख) वर्गको त परै जाओस्, कुनै वर्गको एम्बुलेन्स छैन। जसका कारण असहाय, गरिब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरू निःशुल्क सेवाबाट बञ्चित भएका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले नयाँ एम्बुलेन्स ल्याउने पहल भइरहेको बताए। अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले एम्बुलेन्स पुरानो भएपछि यसअघि कयौँ पटक अस्पताल प्रशासनले प्रदेश तथा संघीय सरकारलाई नयाँ एम्बुलेन्स पठाइदिन भनी पत्राचार गरिसकेको बताए। तर, त्यसतर्फ दुवै सरकारको ध्यान नगएको उनको भनाइ छ।
‘एम्बुलेन्स खरिद सामान्य खर्चको कुरा हो, तर अस्पतालको आन्तरिक स्रोतबाट नयाँ एम्बुलेन्स खरिद गर्न सक्ने अवस्था छैन,’ पोर्तेलले भने‚ ‘दातृ निकाय र अन्य सङ्घसंस्थालाई पनि आग्रह गरिरहेका छौँ।’
अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीहरू निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन्। एम्बुलेन्स नहुँदा अस्पतालमा कार्यरत एम्बुलेन्स चालक जयविन्द्र सिंह र डिल्ली खरेललाई प्रशासनले अन्य कामका लागि काजमा खटाएको छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।