६५ वटाको डिपिआर मात्रै तयार

|

काठमाडौं : सर्वसाधारणलाई स्वास्थ्यमा सहज पहुँच दिने उद्ददेश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गर्‍यो। 

‘युगान्तकारी कदम’ को उद्घोषसहित शिलान्यास भएका ती अस्पताल दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य थियो। तर‚ एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अस्पताल निर्माणले गति लिन सकेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार एकैपटक शिलान्यास गरिएकामध्ये २५९ वटा मात्रै सरकारसँग सम्पर्कमा रहेको छ। यीमध्ये ९५ वटा अस्पताल निर्माण प्रक्रियामा छन्। ६५ वटा अस्पतालको भर्खर डिपिआर गरिएको विवरण पेश गरिएको छ। सम्पर्कमा रहेकामध्ये ७५ वटा ‍अस्पतालले भवन निर्माणका लागि जग्गा फेला पार्न नसकेको बताएका छन्। बाँकी अस्पताल सम्पर्कमा नरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। एक वर्षमा ९८ स्थानीय तहसँग मात्रै भवन निर्माणको सम्झौतापत्र रहेको छ।

मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले कतिपय ठाउँमा अझै जग्गाको टुंगो नलागेको बताए। उनले भने‚ ‘अझै पनि ७५ भन्दा बढी स्थानीय तहमा अस्पताल निर्माणका लागि जग्गाको टुंगो लागेको रिपोर्ट आइपुगेको छैन।’​

सोही योजनाअन्तर्गत प्रदेश १ मा ८६,  मधेश प्रदेशमा ५३, बागमतीमा ५१, गण्डकीमा ५३, लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ वटा अस्पताल भवनको शिलान्यास गरिएको थियो। जसअनुसार पाँच शय्याका ५२, १० शय्याका १०९, १५ शय्याका २३५ वटा अस्पताल निर्माण हुने घोषणा भएको थियो।  सोहीअनुसार ३९६ स्थानीय तहमा भवन निर्माणका लागि गत वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा गरिएको थियो।

संघीय सरकारको सहयोगमा स्थानीय तहले व्यवस्थापन गर्ने गरी निर्माण प्रक्रिया थालिएको भनिए पनि स्थानीय तहले नै अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने भनिएको थियो। जग्गाबाहेक अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने सरकारको अनुमान छ। अस्पताल निर्माणमा दुई वर्षका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरिसकेको छ।

के छ स्वास्थ्यकर्मीको अवस्था?

मन्त्रालयले ३९६ आधारभूत अस्पताल सञ्चालन गर्न १ लाख १६ हजार ८२५ जना स्वास्थ्य क्षेत्रको जनशक्ति आवश्यक पर्ने जनाएको छ। जसमा पाँच शय्याका आधारभूत अस्पतालमा एक चिकित्सक, चार नर्ससहित १२ जना स्वास्थ्यकर्मी, पाँच शय्याका अस्पतालमा दुई चिकित्सक, २०८ जना नर्स र १० शय्याको अस्पतालमा २ जना चिकित्सक, ४ जना नर्स र १ जना मिडवाइफ रहने व्यवस्था छ।

१५ शय्याको अस्पतालका लागि ३ जना चिकित्सक, १ जना नर्सिङ अधिकृत, ५ जना नर्स, २ जना मिडवाइफसहित कुल २७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।अस्पताल निर्माण गरिसकेपछि सोहीअनुसार स्वास्थ्यकर्मीहरूको नियुक्ति गरी अस्पताल सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.