|

काठमाडौं : कोरोना भाइरसको संक्रमण घटे भएसँगै यसअघि कोरोना संक्रमितको उपचार गर्दै आएका ठूला अस्पतालले कोभिडबाहेकका उपचार सेवा दिन शुरु गरेका छन्।

संक्रमण घट्दै गएपछि अस्पतालमा अहिले अन्य रोगका बिरामीको चाप बढ्न जान थालेको छ।

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले कोरोना संक्रमण कम हुँदै गएपछि नन्-कोभिड सेवा विस्तार गरेको छ। यसअघि कोरोनाको उपचारको लागि छुट्याइएको वीर अस्पतालको नयाँ सर्जिकल भवनबाट नन्-कोभिड सेवा दिन थालिएको छ।

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी भूपेन्द्रकुमार बस्नेतका अनुसार संक्रमण घटेपछि अस्पतालमा कोभिड उपचार अलि घटाएर नन-कोभिड सेवा विस्तार गरिएको बताए। 'पछिल्लो समय अस्पतालमा नन-कोभिड सेवा लिन आउने बिरामीको चाप एकदमै धेरै छ। दैनिक २ हजारभन्दा बढी बिरामी ओपिडी सेवा लिन आइरहेका छन् भने दैनिक ४५ जनाभन्दा बढी बिरामी भर्ना भएका छन्। यसले गर्दा यसअघि हामीले कोभिड उपचार गरिरहेको ठाउँ केही घटाएर अहिले नन-कोभिड सेवा दिएका छौं,' उनले भने।

कोभिड संक्रमितको उपचार गरिँदै नयाँ सर्जिकल भवनमा हाल सर्जरी रेडियोलजी सेवा दिन शुरु गरेको समेत उनले बताए। ‘कोभिडको सबै सेवा कटौती त गरेका छैनौँ, अहिले पनि ५/६ जना संक्रमित उपचारमा हुनुहुन्छ तर हामीले अहिले अन्य सेवालाई प्राथमिकता दिएका छौं,' उनले भने।

लामो समयसम्म कोरोना महामारीले गर्दा अन्य रोगका सेवा लिन नपाएका र सर्जरी गर्नुपर्ने बिरामीहरू अस्पतालमा उपचार गर्न आउने धेरै रहेको डा बस्नेतले बताए। हाल अस्पतालले उपचारमा आउने अन्य बिरामीलाई अनिवार्य पिसिआर टेस्ट गर्नुपर्ने व्यवस्था हटाएको समेत उनले बताए।

यता टेकुस्थित नेपालकै एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि पछिल्लो समय नन-कोभिड बिरामी बढ्न थालेपछि अस्पतालले सोहीअनुसार सेवा दिन थालेको अस्पतालले जनाएको छ।

अस्पतालका इमर्जेन्सी प्रमुख लीलानाथ भण्डारीका अनुसार गत फागुन १० गतेदेखि अस्पतालको इमर्जेन्सीमा कोभिड बिरामी नआएको तर पछिल्लो समय झाडापखाला, ज्वरो र डेंगुका बिरामी बढ्न थालेको बताए। ‘झाडापखाला, ज्वरो र डेंगुका बिरामी बढ्न थालेका छन्,' उनले भने। यसअघि कोभिडको बिरामी भर्ना गरेर उपचार गरिने अस्पतालका बेडमा अहिले धेरै ज्वरो र झाडापखालाका बिरामी भर्ना गरेर उपचार गरिएको समेत उनले बताए।

हाल अस्पतालमा दुईजना मात्र कोरोना संक्रमितको आइसियूमा उपचार भइरहेको समेत उनले बताए। 'विस्तारै अस्पतालमा मौसमी रोगका बिरामी बढ्न थालेका छन् जसले गर्दा हामीले अब डेंगुलगायत रोगको उपचारमा फोकस हुने गरि सेवा विस्तार गरेका छौं,' भण्डारीले भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार पछिल्लो समय कोरोना संक्रमण कम भएसँगै मौसमी संक्रमणको जोखिमसमेत बढ्दै गएको बताए। ‘कोरोना संक्रमण कम भएको छ, अब डेंगु लगायतको संक्रमण बढ्ने हाम्रो अनुमान छ। हामीले सोहीअनुसार तयारी गरिरहेका छौं,' उनले भने।

मन्त्रालयकै सह-प्रवक्ता डा समिर अधिकारीका अनुसार यो साताको देशभरिको कोरोना संक्रमणदर शून्य दशमलव ९ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.