|

सुर्खेत : डोल्पाको जिल्ला अस्पताल अर्थात् दुर्गममा रहेको स्वास्थ्य संस्था अहिले विरामी अवस्थामा रहेको छ। अस्पतालमा आउने विरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्। अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेटर चलाउने बजेट अस्पतालसँग छैन। उता विद्युत् भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले अस्पतालमा आउने लाइन लोडसेडिङको सूचीमा राखेको छ।

अस्पतालमा भर्ना भएर उपचार गर्ने अधिकांश विरामी अक्सिजन लगायतका अन्य विद्युत्‌बाट हुने काम गर्दा हैरानी व्यहोर्ने गरेका छन्। १६ घण्टासम्म लोडसेडिङ हुँदा अस्पतालको काममा बाधा पुग्दै आएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए।

दैनिक आउने विरामीहरूलाई रात्रिकालीन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए। अस्पतालमा उपचार गराइरहेकी काली विकले भनिन्, 'रातभर अँध्यारोमा बसियो, डर पनि लाग्यो। यो कस्तो राज्य हो।'

अर्की उमाकुमारी शाहीको पीडा पनि कम छैन। उनको बच्चालाई अक्सिजन दिनुपर्ने थियो तर विद्युत् नहुँदा अक्सिजन दिन नपाएको बताइन्। स्थानीय जैसीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्ले ठूलिभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिकाभित्र समेत विद्युत् आपूर्ति हुँदै आएको छ। दुईवटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत् उत्पादन पूरै हुन नसकेको हो।

केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन। डोल्पामा विद्युत् पुर्‍याउनका लागि दुई वर्षअघि भएको ठेक्का समेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ। महिनैपिच्छे समस्या आउने यहाँको विद्युत्‌ले स्थानीय बासिन्दा हैरानीमा डुबेको गुनासो गर्छन् तर विद्युत् आपूर्तिको हकमा अस्पतालले मागेको समयमा विद्युत् उपलब्ध भइरहेको आयोजना कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.