|

वीरगञ्ज : आगामी आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको छ। ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारा सहित वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको हो।

शुक्रबार वीरगञ्जको नगर सभागृहमा भएको महानगरको ११ औं नगरसभामा वीरगञ्ज महानगरका उपप्रमुख इम्तयिाज आलमले बजेट प्रस्तुत गरे। उनले सो क्रममा प्रस्तुत गरेको बजेटको चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पुँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार विनियोजन गर्ने उल्लेख छ। प्रतिशतका आधारमा यो चालूतर्फ ६२.०४ प्रतशित र पुँजीगततर्फ ३७.९६ प्रतिशत हुन्छ। 

प्रस्तुत बजेटमा आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारको ( वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक, सशर्त र विशेष अनुदान समेत) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेश प्रदेश सरकारबाट (वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक, सशर्त र विशेष अनुदान समेत) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने प्रस्तुत बजेटमा उल्लेख छ।

त्यसैगरी क्षेत्रीय शहरी विकास आयोजनाका लागि दातृ निकाय एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, यूनिसेफबाट २५ लाख र सडक बोर्ड नेपालबाट २ करोड आउने अनुमान सहितको बजेट पनि प्रस्तुत गरिएको छ। अपुग हुने ४४ करोड १९ लाख ५९ हजार बजेटमा भने चालू आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिति कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले बताए।

वीरगञ्ज महानगरपालिकाले शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार र स्वास्थ्यतर्फ १ करोड २० लाख ३० हजार विनियोजन गर्ने पनि प्रस्तुत बजेटमा जनाएको छ। कृषितर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधारतर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकासतर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ पनि विनियोजन गरिने प्रस्तुत बजेटमा उल्लेख छ।

यता सूचना प्रविधि र सञ्चारतर्फ १ करोड ५ लाख ९५ हजार, सेवा प्रवाह संगठन सुदृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लख विनियोजन हुने पनि बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले बताए। त्यसैगरी वन तथा वातावरण र विपद् व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार प्रस्तुत बजेटमा विनियोजन गरेको छ।

महिला, बालबालकिा तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति, संस्थागत विकास लगायतका विकासमा पनि थोरथोरै बजेट विनियोजन गरेको प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।

महानगरप्रमुख राजेशमान सिंहले भने सकारात्मक रूपमा नीति तथा कार्यक्रम ल्याइएकाले यसलाई राम्रो तरिकाले कार्यान्वयन गरेर जाने जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.