भदौ ३० र ३१ गते राष्ट्रिय भेला

|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजन भएको छ। संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भाद्र ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिइएको छ। संयोजक कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई सशक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशील बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको स्पष्ट पारे।

पञ्चा सिंह नेतृत्वले विधानअनुरूपको कमिटी गठन गर्न नसकेको उनको आरोप छ। पार्टी निर्णयको आधारमा अध्यक्षलाई मात्र घोषणा गर्न परेको बाध्यता त्यति वेला आफूहरूले केही गर्न नसकेको उनले सुनाए। अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ।

उनले राष्ट्रिय सम्मेलनमा आफूहरूले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरूमाथि आक्रमण भएको पनि गुनासो पोखे। उनले संगठनको इतिहासमा पहिलोपटक प्रहरी प्रशासनको उपस्थितिमा बैठक सञ्चालन गरिएको पनि आरोप लगाए। उनले सिंहको कमिटी सबै अवैधानिक हुन् भनेर धेरै पटक भन्दै आएको पनि उल्लेख गरे। संगठनलाई पुनर्जीवित तुल्याउन विद्रोह गर्नुपरेको उनको कथन छ।

असार १८ गते काठमाडौंमा सम्पन्न घोषणा सभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको थियो। घोषणा सभाले २२औं राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाइएको छ।

त्यस्तै घोषणा सभाले नेपालको राष्ट्रिय अस्मिताको रक्षा, जनजीविकाको समस्या समाधान, शैक्षिक बेथितिको अन्त्यका निम्ति सशक्त विद्यार्थी आन्दोलन गर्ने,सबै विश्वविद्यालयमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, २ महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको कार्कीले जनाए।

उनले भने, ‘हामी त सबैले पाएका पद त्याग्न तयार भएर संगठनलाई वास्तविक क्रान्तिकारी बनाउन र विद्यार्थीलाई संगठनको नेतृत्व सुम्पने वाचासमेत गरेका छौं।’ उनले ती साना विद्यार्थीहरू सक्षम नहुँदासम्म मात्र आफूहरूले नेतृत्व लिने पनि जानकारी दिए। उनले आफूले पद प्राप्तिको लागि विद्रोह नगरेको पनि जिकिर गरे। उनले भने, ‘कतिपयले नेताहरूको उक्साहटमा लागेर विद्रोह गरेको भनेर हामीमाथि आरोप लगाएका छन्। ती आरोपमा कुनै सत्यता छैन। हामीले कोही नेताको उक्साहटमा लागेर विद्रोह गरेको होइन।’

उनले आफूहरू त संगठनको साधारण सदस्य भएर काम गर्न तयार रहेको सुनाए। उनले विद्यार्थी नेता भएर शैक्षिक क्षेत्रमा व्यापार गर्न नपाउने पनि धारणा राखे।

सबैले सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने भन्दै उनले सबै नेताका छोराछोरी पनि सार्वजनिक स्कुलमा पढाउनुपर्नेमा जोड दिए।

त्यस्तै संगठन सुदृढ गर्न सातवटै प्रदेशमा संयोजक पनि खटाएको छ। भेलाले २८ वटा विभाग गठन गरेको छ।

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न पनि उक्त समूहको माग छ। असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ। उक्त समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो।

उनीहरूले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटीका सदस्यहरूसँग छलफल गरिसकेको र माग पूरा गर्न आग्रह गरेको जनाएका छन्।

कार्कीले विद्यार्थी आन्दोलनले आजसम्म अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितका लागि काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखेका छन्।
 





 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.