|
फाइल तस्वीर

काठमाडौं : सरकारले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक भोलि पारित गर्ने तयारी गरेको छ।

प्रतिनिधिसभाले भोलि बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरेको छ। सम्भावित कार्यसूचीअनुसार मन्त्री खाँणले भोलिकै बैठकमा नागरिकता विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। विधेयकमा बोल्न सांसद्हरूलाई ३ मिनेट समय दिइनेछ।

राष्ट्रपतिको सन्देश र सांसद्हरूले राखेका माग सरकारले सम्बोधन गरेर विधेयक पारित गर्न प्रस्ताव गर्न सक्नेछ। सरकारलाई यसअघिकै विधेयकमा भएका व्यवस्थामा संशोधन गर्नुपर्ने नलागेमा जस्ताको त्यस्तै पनि पारित गर्न प्रस्ताव गर्नेछ।

सत्ता गठबन्धन दलको हिजो बसेको बैठकले विधेयकमा पुनर्विचार नगरी जस्ताको तस्तै पारित गर्ने सहमति भएकाले बहुमतका आधारमा विधेयक भोलि नै पारित गराउने तयारी सरकारले गरेको हो।

विधेयकमाथिको छलफलमा भाग लिने सांसद् धेरै भएमा र भोलि नै छलफल नसकिए पारित गर्ने प्रस्ताव अर्को दिनलाई सर्न पनि सक्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक बस्नुअगाडि सभामुख अग्नि सापकोटाले भोलि बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रतिनिधिसभामा सन्देशसहित प्राप्त विधेयक पुनर्विचार नगरी पारित गरेर राष्ट्रियसभामा पठाउने तयारी सरकारले गरेको छ। विधेयकमा संशोधनका सबै प्रक्रिया पूरा भएकाले पुनः संशोधन राख्न सांसद्हरूले ७२ घण्टे समय पाउने छैनन्।

सांसद्हरूले संसद्‌मा बोलेर राख्ने माग सरकारलाई आवश्यक लागेमा समावेश गर्न सक्छ। गठबन्धन दलको सरकारले बहुमतका आधारमा नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिबाट फिर्ता आएपछि फेरि संसदीय प्रक्रिया पूरा गरेर जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि पठाउने तयारी गरेको हो।

प्रतिनिधिसभाले पारित गर्ने विधेयक राष्ट्रियसभाले त्यसैगरी पारित गरेर प्रतिनिधिसभामा पठाउनु पर्नेछ। राष्ट्रियसभाबाट सन्देशसहित आएको विधेयक सभामुखले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनु पर्नेछ।

राष्ट्रपतिको दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ आएको विधेयक फेरि फिर्ता पठाउन मिल्दैन। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.