|

रौतहट : डिभिजन वन कार्यालय रौतहटले बिहीबार छापा मारेर काँचो सालको काठसहित एक जनालाई पक्राउ गरेको छ।

वनबाट काँचो सालको गोलिया काटेर लगेको सूचना पाएपछि चन्द्रपुर वडा नं–७ नयाँबस्तीका खखनु मुखियाको घरमा सव डिभिजन वन कार्यालय रंगपुरले छापा मारेर करिब ३० क्युफिट काँचो सालको गोलियासहित एक जनालाई पक्राउ गरेको सहायक वन अधिकृत राम केवल रायले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर वडा नं–७ नयाँबस्तीका पचु दास हुन्। दास काठको समाग्री बनाउने मिस्त्री रहेका र बिहीबार बिहान खखनुको घरमा झ्याल बनाउन गएको बेला उनलाई छापा मार्न गएका वन टोलीले पक्राउ गरेर ल्याएको स्थानीय विनोद दासको भनाइ रहेको छ।

पक्राउ परेका दास ज्यालामा करिब दुई दिनदेखि खखनुको घरमा काम गर्दै आएको स्थानीयले बताएका छन्।

वनले आफ्नो घरमा छापा मार्न आउन लागेको खबर पाएपछि खखनु भागेको र काम गर्न गएका मजदुरलाई पक्राउ गरेर लगेकाे भन्दै स्थानीयले विराेध गरेका छन्।

पक्राउ परेका दास र बरामद भएको काठ डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर अवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएकाे सहायक वन अधिकृत रायको भनाइ छ।

रंगपुर साझेदारी वन क्षेत्रमा साझेदारी वनकै हेरालुको मिलेमतोमा काँचा सालका रुख काटेर विभिन्न स्थानमा रहेका चिरान मिलमा लगेर बिक्री वितरण हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन्।

तर, याे घटनामा वनले तस्करलाई उन्मुक्ति दिँदै निर्दोष फसाउने काम गरेको स्थानीयको आराेप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.