|

कञ्चनपुर : महाकाली नदीको भुजेला घाटमा बिहीवार व्रत बसेका तीनजना दलित समुदायका महिलाहरुको पूजापाठ गर्न पुजारीले अस्वीकार गरेका छन्।

गोत्र सोधेका पुजारीले उनीहरु दलित समुदायका भएको थाहा पाएपछि पूजापाठ गर्न नसकिने बताएका हुन्।

दलित भएको थाहा पाएर पूजापाठ गर्न नमानेपछि केही समय महिलाहरुसित विवाद पनि भएको थियाे। विवाद बढेपछि नजिकबाट अन्य व्रतालु पनि धमाधम आउन थालेपछि पुजारी पूजास्थल छाडेर भागेका छन्।

पुजारीले जातीय विभेद गरी पूजापाठ गर्न अस्वीकार गरेपछि उनीहरु प्रहरी बोलाउन नजिकको टेन्टसम्म पुगेका थिए। प्रहरी नआउँदै पूजारी त्यहाँबाट भागेका हुन्।

‘पहिला त्यहाँ एक जना आन्टीलाई ती पुजारीले म पूजा गरिदिन्छु सबैलाई बोलाएर ल्याउनु भन्यो, वहाँले आएर त्यहाँ खाली छ, म पूजा गरिदिन्छु, त्यहीँ जाउँ भनेपछि त्यहाँ गयौँ’ भीमदत्त नगरपालिका ५ वनगाउँकी सन्जु नेपालीले भनिन्, ‘त्यहाँ गइसकेपछि पुजारीले गोत्र सोधे, हामीले भन्यौँ दमाई हौँ भनेपछि म पूजा गर्दिन भनेर कराउन थाले।’

पुजारीले पूजा गर्न अस्वीकार गरेपछि नेपाली लगायतका महिलाहरुले किन नगर्ने भनेर पुजारीलाई सोधेका थिए। पुजारीले भगवानले नै जात छुट्याएकाले आफूले नगर्ने भन्ने जवाफ दिए। त्यसपछि पुजारी र महिलाहरुबीच विवाद भएको भिडियोसमेत बाहिर आएका छन्।

हरितालिका तीजको व्रत बसेका महिलाहरु ऋषि पञ्चमीमा नुहाउन र पूजापाठका लागि महाकाली नदी जाने गरेका छन्। ऋषि पञ्चमीका दिन महाकालीमा व्रतालु महिलाको भीड लाग्ने गरेको छ। यस पटक भाइरल रोड नजिक व्रतालु महिलाका लागि स्नान गर्न व्यवस्था गरिएको थियो।

पुजारीले पूजापाठ नगरी विभेद गरेपछि नेपालीलगायतले उनीविरुद्ध जातीय भेदभाव तथा छुवाछुत विरुद्धको (कसुर र सजाय) ऐन अनुसार कारबाही प्रक्रियामा जाने बताएका छन्।

‘सल्लाह गरेर भोलि प्रहरीमा जान्छौँ’, उनले भनिन्। उनका अनुसार विभेद गरिएका व्रतालु महिलाहरु वनगाउँ, ऐठपुर, भगतपुर लगायतका छन्। पूजापाठ नगरी पुजारी भागेपछि नजिकका अर्का पुजारीले भने पूजापाठ गरिदिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.